Comments Add Comment

धादिङमा पहिरोः दुई परिवारका ५ जनाको मृत्यु

सांकेतिक तस्वीर

१४ असार, काठमाडौं । धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए । उनीहरुको छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको एसपी विकले जानकारी दिए ।

दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।

गएराति करिब साढे १२ बजेतिर झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । लगातारको वर्षाको कारण सो क्षेत्रमा १६ घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली पठाइसकिएको एसपी विकले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षातका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment