+
+
Shares

एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान

नयाँ विमानको नाम ‘अन्नपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते ९:४८

१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ ।

अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानकाे लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

विमानका विशेषता

नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।

यो विमान लिन  नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइपुर्‍याइदिएका हुन् ।

फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

नयाँ गन्तव्य

यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।

निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् । ती न्यारोबडी हुन् । वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्द्रित गरेपछि ए ३२० लाई भारतको बैंगलोर, दिल्ली, थाइल्यान्डको बैंकक लगायतका शहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ । ‘अहिले हाम्रो ए-३२० ले उडान गरिरहेका मुख्य गन्तब्यमा फ्रिक्वेन्सी थप्छौं,’ कंशाकारले भने,’पछि अन्य गन्तब्यहरुमा पनि उडान थप्छौं ।’

बिजनेश बढ्ने अपेक्षा

वाइडबडी उडाउने जिम्मेवारी नेपाल एयरलाइन्समा कार्यरत बरिष्ठ पाइलटहरुलाई दिने कंशाकारले बताए ।

नेपाल एयरलाइन्स गत वर्ष सन् २०१७ मा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।

नयाँ विमान आएपछि फेरि निगमले आफ्नो बिजनेश बढाउने अपेक्षा गरिएको छ ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?