Comments Add Comment

मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो : गृहमन्त्री

'गोविन्द केसी नागरिकको प्रतिनिधि, यो सरकार पनि नागरिककै प्रतिनिधि'

१४ असार, काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।

विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’

डा. केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने- ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो ! हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ (मण्डला) मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

डा. गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिकार हनन हुने जिकिर गरे । मन्त्री थापाले भने- ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’

डा. गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने- ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’

केही ऐतिहासिक धरोहर रहेका स्थानहरुलाई निशेधित क्षेत्र घोषणा गर्दैमा अधिनायकवाद नआउने गृहमन्त्री थापाले दाबी गरे । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने- ‘लोकतन्त्रमा र जनताले आवाज उठाउन पाउने अधिकारको रक्षा त हामीले गरिराखेकै छौं । त्यसैले निशेधित क्षेत्रले अधिनायकवाद ल्याउँदैन । विरोध त अन्त पनि गर्न पाइन्छ । ती ठाउँहरु हामीले तोकिदिएका छौं ।’

गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने- ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् । त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । र, अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् । केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निशेधित गरेको हो ।’

माओवादीले जनयुद्ध र जनआन्दोलनका बेलामा पार्टीहरुले निशेधित क्षेत्र तोक्नुहुँदैन भनेका थिए नि भन्ने पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री बादलले भने- ‘त्योबेलाको सत्ता बेग्लै सत्ता थियो, अहिलेको सत्ता बेग्लै हो ।’

मन्त्री थापाले थप व्याख्या गर्दै अगाडि भने- ‘त्यसबेला हामीले त्यसो गर्नु जायज थियो । त्योबेलाको विद्रोह थियो त्यो । अहिले विद्रोहबाट जनताको सरकार बनेको छ । जनताको व्यवस्था आएको छ । त्यसकारणले अब लोकतन्त्रको परिभाषा र मान्यता अनुसार विधिको शासन हुन्छ । विधि अनुसार चल्नुपर्‍यो । अहिले सरकारले विधिहरु निश्चित गरेको छ । व्यवस्थापिकाले विधि विधानहरु निश्चित गरेको छ । त्यो अनुसार चल्नुपर्‍यो ।’

खुृल्लामञ्चमा बसपार्क कहिलेसम्म ?

माइतीघरमा पनि प्रदर्शन गर्न नदिने अनि खुल्ला मञ्चलाई पनि बसपार्क बनाउने ? पत्रकारको प्रश्नमा मन्त्री थापाले भने- ‘त्यसका बारेमा सोचिँदैछ । विकल्प नहँुदाखेरि त्यो अवस्था सिर्जना भएको हो ।’

पञ्चायतकालमा समेत व्यवस्थित रुपमा सजाएर राखिएको खुल्लामञ्चलाई अहिले बसपार्क बनाइएको छ । त्यहाँ वीर अस्पतालले पनि पार्किङ राखेको छ । पुरानो बसपार्क बन्द अवस्थामा छ । त्यसको पुनर्निर्माणमा ठेकेदारले काम गरेका छैनन् । यो अवस्थामा गृहमन्त्रीले भनेको अर्को विकल्प कहिले तयार हुन्छ भन्ने निश्चित छैन ।

सवारी आवागमन अवरुद्ध हुन नदिन निशेधित क्षेत्र तोकिएको जवाफ दिएका गृहमन्त्रीलाई पत्रकारले सोधे- ठूला पार्टीले टुँडिखेलमा मान्छे उतार्दा राजधानीमा नाकादेखि नै यातायात अवरुद्ध हुने गर्थ्यो, अब त्यस्ता कार्यक्रमलाई पनि निशेध गर्ने हो कि ?

मन्त्री थापाले यसको जवाफ गोलमटोल रुपमा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment