Comments Add Comment

जर्मनीले के ले डुबायो : खेलाडी छनोट, घमण्ड कि भाग्य ?

१४ असार,  काठमाडौं । जर्मनीमा ठूला प्रतियोगितामा राष्ट्रिय टिमले कसरी प्रदर्शन गर्छ भनेर चिन्ता व्यक्त गरियो भने एक शब्दमा जवाफ पाइन्छः टर्नियरम्यानसाफ्ट ।

यसको अर्थ ‘प्रतियोगिताको टिम’ भन्ने हुन्छ र जब मुख्य प्रतियोगिता आउँछ, तब जर्मनी आफैँ विस्तारै प्रगति गर्दै अगाडि बढ्छ भन्ने विश्वास गरिन्छ ।

तर, बुधबार दक्षिण कोरियासँग २-० को लज्जास्पद हारपछि ड्रेसिङ रुममा सन्नाटा छाएको थियो । प्रशिक्षक जोचिम लोले भने, ‘रुसमा उनीहरुले सकेनन् ।’

सन् १९३८ (त्यसबेला सबै खेल नकआउट थियो) पछि जर्मनी विश्वकपको पहिलो चरणमै बाहिरिएको थिएन तर, त्यो गौरवपूर्ण इतिहास काजानमा धुलिसात् थियो ।

जर्मनी किन बाहिरियो ?

तपाईले भन्न सक्नुहुन्छ, जर्मनीले म्यान्चेस्टर सिटीका स्ट्राइकर लेरोय सानेलाई टिममा राख्नुपर्थ्यो ।

उनी २३ सदस्यीय टोलीबाट आश्चर्यजनक रुपले बाहिरिएका थिए तर, त्यसले पनि दुई थोक बताउँछ । पहिलो, उनको सट्टा टिममा परेका जुलियन ब्रान्ट प्रतियोगितामा जर्मनीको सबैभन्दा प्रभाव पार्न सफल खेलाडी हुन् । उनले मैदानमा जम्मा १९ मिनेट बिताए पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

दोस्रो, कुनै एक खेलाडीको मात्रै उपस्थितिले जर्मनीको खेलमा त्यति धेरै फरक पर्दैन ।

नेतृत्वकर्ता गुमाउनु पनि जर्मनीले हार्नुको मुख्य कारण थियो । सन् २०१४ को विश्वकपपछि क्याप्टेन फिलिप लाहम, विश्वकप इतिहासका उच्च गोलकर्ता मिरोस्लाभ क्लोज र ड्रेसिङ रुमका मुख्य फिगर पर मार्टेसाकर सबैले सन्यास लिए । लाहम पछि कप्तान रहेका बास्टिन स्वाइन्सटाइगरले पनि २०१६ मा सन्यास लिए ।

ब्राजिल विश्वकपमा जर्मन टिमको केही खेलाडीको विकासक्रमलाई पनि बिर्सन मिल्दैन । २०१२ को च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग बायर्न म्युनिखले व्यहोरेको हारलाई विश्वकप खेल्ने ६ खेलाडीले बिर्सिसकेका थिए ।

उनीहरुले त्यसको एक वर्षपछि अल-जर्मन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यसले उनीहरुलाई भावनात्मक रुपमा बलियो बनायो भने समर्थकहरुमा पनि अब जर्मन फुटबल अब राम्रो हुने भयो भन्ने आशा जगायो ।

मैदानबाहिरको राजनीति र ‘घमण्ड’

यो प्रतियोगितामा मैदान बाहिरको राजनीति र घमण्डले धेरै कुरा बिगारेको थियो ।

मे मा टर्कीका विवादास्पद राष्ट्रपति रिसेप ताइप इर्दोगानसँग इल्काय गुन्डोगान र मेसुट ओजिलको तस्वीर सार्वजनिक भयो । यसले धेरै चर्चा पायो र विस्तारै सेलायो ।

तर, २०१४ मा पनि अहिले जस्तै मैदान बाहिरको मुद्दाहरु धेरै अगाडि सतहमा आएका थिए ।

रुस विश्वकपमा मुख्य खेलाडीहरुको चोटले पनिसताएको थियो । तर, पनि लोले उनी आफ्नो तयारीदेखि खुसी भएको बताएका थिए । अष्ट्रिया र साउदी अरबसँगको अभ्यास खेल राम्रो भएको थिएन तर, उनीहरुले यसबारे कुरा गरेका थिए ।

‘मेक्सिकोसँग खेल्नुअघि केही घमण्ड थियो जस्तो मलाई लाग्छ,’ टिममा समस्या देखिएको स्वीकार गर्दै भने, ‘जब त्यो सुरु हुन्छ, एउटा बटन थिच्दा पनि प्रतिक्रिया देखाउन थाल्छौं ।’

खेलाडी छनौटमा समस्या

जर्मन टिमको खेलमा सन्तुलनको कमी धेरै देखियो । त्यसैले उसले प्रतियोगिताभर बारम्बार काउन्टर एट्याक भेटिरहृयो । जब उनीहरु अगाडि बढ्थे, त्यतिखेर उनीहरुमा गति हुँदैनथ्यो र आफ्नो प्रतिद्वन्द्वीको पर्खाल तोडेर गोल गर्न सकेनन् ।

व्यक्तिगत छनौटमाथि प्रश्न उठाउँदा सामी खेडिराको नाम पहिले आउँछ । मेक्सिकोविरुद्ध राम्रो प्रदर्शन नगरेपछि स्वीडेनसँग खेल्दा उनलाई बेन्चमा राखेर सेबास्टन रुडीलाई खेलाइएको थियो ।

तर, दक्षिण कोरियासँगको खेलमा पाँच परिवर्तन गरिएको थियो र सबैभन्दा अचम्म लाग्दो खेडिरा फर्किएका थिए । उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । त्यस्तै मुलरलाई बेन्चमा राखियो । यो धेरैले अपेक्षा गरेका थिएनन् । उनको र्फमलाई लिएर सोच्ने हो भने यो ठीकैको निर्णय लाग्छ तर, उनको ठाउँमा आएका लियोन गोरेट्ज्काले पनि राम्रो प्रभाव देखाउन सकेनन् ।

बारम्बार गोल गर्न चुक्दा

छनौटको कारण टिमको प्रदर्शनमा एकरुपता हुन सकेन र त्यसले दक्षिण कोरियाले धेरै मौका पायो । डिफेन्डर म्याट हमल्सका अनुसार जर्मनीले पनि धेरै अवसर पाएको थियो ।

सबैभन्दा मुख्य हमल्स आफैं ६ यार्डबाट गोल गर्न चुके । उनी भन्छन्, ‘यदि मैले ८६ मिनेटमा हेड गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो, हामी थोरैले चुक्यौं ।’

त्यसको सट्टा बल उनको काँधमा लाग्यो र पोस्टबाट बाहिरियो । यो ढोका बन्द हुने समय थियो ।

हुनत २०१४ मा पनि धेरैपटक यस्तो भएको थियो । पोर्चुगलमाथि ४-० को जित हात पारेको खेल हेर्ने हो भने जर्मनीले गो नगर्दै पोर्चुगलले दुई सुन्दर मौका गुमाएको थियो ।

अघिल्लो संस्करणमै अल्जेरियासँग खेल्दा म्यानुयल नुयरले धेरै सुन्दर बचाउ गर्दै टिमलाई गोल खानबाट जोगाएका थिए र फाइनलमै पनि गोन्जालो हिगुइनले वान भर्सेस वानको स्थितिमा समेत गोल गर्न सकेका थिएनन् ।

यसको अर्थ त्यतिखेर जर्मनहरु भाग्यमानी थिए भन्न खोजेको हैन । तर, सफलता र असफलता बीचको अन्तर भेटिन्छ । जब टिमले प्रतियोगिता जित्छ, त्यतिखेर कमजोरी र दुविधाहरुलाई कसैले पनि हेर्दैनन् । जर्मनीको हकमा पनि सबैले ब्राजिललाई ७-१ अन्तरले हराएको मात्रै सम्भिmए ।

जर्मनीले अब के गर्छ ?

अघिल्लो वर्ष जर्मनीको युवा टिमले कन्फेडेरेसन्स कप जितेबाटै उनीहरुको सामर्थ्य कति छ भनेर आँकलन गर्न सकिन्छ । दक्षिण कोरियासँग सुरुवाती लाइनअपमा आएका एघार जनामध्ये ७ जनाले अघिल्लो वर्ष रुसमा खेलेका थिएनन् ।

यस्तै तपाई सम्झन सक्नुहुन्छ, जर्मनीको यु-२१ टिमले अघिल्लो वर्ष युरोपियन च्याम्पियन्सिप जितेको थियो । अहिले उनीहरु रुसमा आएका छैनन र यसले जर्मनीको अबको बाटो बारे केही भन्छ ।

युवा जर्मन प्रतिभाको आँउदो पुस्ता अहिलेसम्म सन् २०१० को विश्वकपमा खेडिरा, ओजिल, नोयर र बोटेङजस्तो मर्माहत भएका छैनन् र अघिल्लो वर्ष २१ वर्षमुनिको युरोपियन च्याम्पियन्सिपको उपाधि जितिसकेका छन् ।

उच्च स्तरको क्लब फुटबलमा चार अनुभवी खेलाडीको उपलब्धीले उनीहरुलाई छोड्न नहुने बताउँछ तर, उमेरले धेरै कुरा भन्छ । सायद उनीहरुको यो नै अन्तिम विश्वकप खेल हुन सक्छ ।

त्यस्तै प्रशिक्षक जोचिम लोको भविष्यमाथि पनि प्रश्नचिन्ह खडा भएको छ, जसले एकमहिना अघिमात्रै आफ्नो सम्झौता सन् २०२२ सम्मको लागि थप गरेका थिए ।

जर्मन फुटबल एसोसिएसनका रेनहार्ड गि्रन्डेलले प्रशिक्षक लोसँग उथलपुथललाई नेतृत्व गर्न भनेको बताए । लोले भने मिडियासँग उत्तर दिनु हतार हुने बताएका छन् ।

तर, एउटा कुरा भने प्रस्ट छ । सन् २०२० को युरोकप अगाडि ‘टर्नियरम्यानसाफ्ट’ शब्द भने पक्कै पनि पहिले भन्दा कम सुनिन्छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment