Comments Add Comment

क्यूज हलमा मात्र किन लाग्यो रणवीरको ‘सञ्जु’ ?


बलिउडका चर्चित नायक संजय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ हेर्न आतुर नेपाली दर्शकहरु त्यतिबेला निराश भए, जतिबेला काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा यो चलचित्र रिलिज नहुने खबर उनीहरुले पाए ।

आज शुक्रबारदेखि विश्वभर रिलिज भएको यो चलचित्र आखिर किन काठमाण्डौका क्यूज हलमा मात्र रिलिज भयो ? बीग मुभिज, क्यूएफएक्स, एफक्यूब लगायतका मल्टिप्लेक्समा यो चलचित्र रिलिज नहुँदा दर्शक समस्यामा परेका छन् । विश्वभर राम्रो हाइप बनाएको यो चलचित्रले आज भारतमा बिहानैदेखि हंगामा मच्चाइरहेको छ । तर, नेपालका दर्शकले काठमाण्डौको दरबारमार्गमा रहेको राइजिङ मलमा स्थित क्यूज हलमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । यस्तो अवस्था आखिर किन आयो ?

विशेषगरि, यो चलचित्रलाई नेपालमा प्रदर्शन गर्ने अधिकार लिएको सीजीजीके सिनेप्लेक्स प्रालीले मल्टिप्लेक्स हलसँग छुटको बिषयमा बार्गेनिङ गरेपछि यस्तो अवस्था आएको हो । देशभरका मल्टिप्लेक्सले हप्तामा कुनै एक दिन आधा प्रतिशत टिकटमा दर्शकलाई चलचित्र हेर्ने सुविधा दिदै आएका छन् । तर, ‘सञ्जु’को वितरण कम्पनी सीजीजीकेले भने उक्त छुट यो चलचित्रको हकमा लागू नगर्न भनेपछि समस्या उत्पन्न भएको हो । यसअगाडि चलचित्र ‘रेश ३’को वितरणको जिम्मा लिदा सीजीजीकेले एमजी-मिनिमम ग्यारेन्टी’मा बार्गेनिङ गरेको थियो । तर, पछि कुरा मिलेर चलचित्र रिलिज भएको थियो ।

तर, यसपटक त्यस्तो अवस्था भएन । जसलेगर्दा, काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा रणवीर कपुरको बहुप्रतिक्षित चलचित्र रिलिज हुन सकेन ।

‘क्यूज’ हलले किन चलायो ?
काठमाण्डौको क्यूज हलले १० शो दिदै ‘सञ्जु’ रिलिज गरेको छ । बिहानदेखि बेलुकासम्म नै यो चलचित्रको सम्पूर्ण शो सोल्ड आउट हुने अवस्थामा छ । आइतबारसम्म क्यूजमा दर्शकको यस्तो चाप देखिएको छ ।

अन्य हलले सीजीजीकेको शर्त अस्विकार गरिरहँदा किन क्यूज हलले मात्र चलचित्र रिलिज गर्‍यो त ? क्यूज हलका प्रमुख सुमित मैनालीले अनलाइनखबरसँग भने-‘हामीले हल खोलेको चलचित्र चलाउनका लागि हो । हल बन्द गरेर हामीले स्टाफलाई तलब, हल खर्च कसरी उठाउने ?’
क्यूज हलमा मंगलबार दिनभर टिकटमा छुटको व्यवस्था गरिएको थियो । तर, ‘सञ्जु’मा त्यो व्यवस्था हटाइएको मैनालीले स्पष्ट पारे । उनले, अबदेखि मंगलबार अन्य चलचित्रको हकमा पनि छुटको व्यवस्था हटाउने तयारी गरेको बताएका छन् ।

सुमितले अगाडि भने-‘रेश ३’को समयमा सबै हलले छुटको व्यवस्था हटाउने भनेर सहमती गरेका थिए । तर, ‘रेश ३’ नचलेपछि अहिले ‘सञ्जु’मा बार्गेनिङ गरिएको हो । मैले, पनि सो सहमतीमा हस्ताक्षर गरेको थिएँ । आफैले हस्ताक्षर गरेको कुराबाट म पछाडि हट्न सक्दिनँ, यसैले चलचित्र रिलिज गरेँ ।’

काठमाण्डौका मल्टिप्लेक्समा १ र केहीमा २ दिनसम्म छुटको व्यवस्था गरिएको छ । जुनदिन, दर्शकले दिनभर नै आधा रकम तिरेर चलचित्र हेर्न पाइरहेका छन् । तर, ‘सञ्जु’को वितरण कम्पनीले उक्त दिनमा दिदै आएको छुट हटाउन भनेपछि यस्तो लफडा उत्पन्न भएको हो ।
वुझिएअनुसार, आज फेरि ‘सञ्जु’ वितरण गर्ने जिम्मा पाएको कम्पनी र नचलाएका हलवालाहरुविच मिटिङ हुँदैछ । आज बेलुकीबाट अन्य मल्टिप्लेक्समा पनि ‘सञ्जु’ रिलिज हुने संभावना बढेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment