Comments Add Comment

पार्टीका नेता र शहरका बासिन्दालाई लाग्यो असार १५ (फोटो फिचर)

१५ असार, काठमाडौं । विगतमा असार १५ किसानहरुका लागि एउटा त्रासदी बनेर आउँथ्यो, अचेल वर्षमा एकैदिन हिलोमा नपस्ने नेताहरु र शहरिया युवाजमातका लागि ‘सेलिब्रेसन’ बनेर आउन थालेको छ ।

उहिलेको असार १५ लोकभाका र जनसंस्कृति बोकेर आउँथ्यो । अचेलको असार १५ फेसबुके प्रचारको विकृति बनेर आउन थालेको छ ।

सरकारले असार १५ लाई धान दिवसका रुपमा घोषणा गरेसँगै वर्षमा एक दिन नेताहरु हिलोमा पस्न थालेका छन् । आज असार १५ का दिन कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, रक्षामन्त्री ईश्वर पोखरेल, कृषि मन्त्री चक्रपाणि खनालदेखि लिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत हिलो खेतमा रोपाइँ गर्न पसेका छन् ।

गत वैशाखमा नेताहरुले विद्यार्थी भर्ना अभियान भन्दै बालबच्चा बोकेको तस्वीरले सामाजिक सञ्जाल भरिएको थियो । आज सुकिला मुकिलाहरुले हिलो खेलेका दृश्यहरु छरपस्ट भएका छन् ।

असार १५ लाई नेपालमा धान दिवसका रुपमा मनाइन्छ । देशका धेरै ठाउँमा हिलोमा धान रोपेर यो दिनलाई हर्षोल्लासपूर्वक मनाइएको छ । रोपाईं महोत्सवमा देशका पूर्वप्रधानमन्त्री, मन्त्री र विशिष्ट अधिकारीहरु पनि सहभागी भएका छन् । सर्वसाधारणले पनि धान दिवसको अवसरमा हिलो खेलेर र रोपाइँ गरेका छन् ।

काठमाडौंंको बुढानिलकण्ठ, ललितपुरको खुमलटार र भक्तपुरको खरिपाटीमा शुक्रबार धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरु नै सहभागी भए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित रोपाईं कार्यक्रममा सहभागी भए । रक्षामन्त्री ईश्वर पोखरेल बुढानिलकण्ठमा धान दिवस मनाए ।

देउवा सहभागी भएको उक्त रोपाईंमा हिलो खेलेर युवायुवतीहरुले रमाइलो गरे । सेता टिसर्ट लगाएर शहरबाट खेतमा युवायुवतीले हिलो छ्यापेर र हिलोमा लडीबुडी गरे ।

अरुबेला शहरमा बसेर नेताका अघिपछि दौडने कांग्रेस र कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु उपत्यकाका छेउछाउमा गई हिलो खेल्ने र रमाउने गरेका दृश्यहरु वर्षैपिच्छे सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् ।

कृषि पेशालाई हेय दृष्टिले हेर्ने सामन्ती संस्कार हट्न नसकिरहेका बेलामा यसरी ठूला नेता र सुकिला-मुकिला मानिसहरु हिलोमा पस्नु र रोपाइँमा सहभागी हुनु आफैंमा एउटा सकारात्मक सन्देश हो । एकै दिनका लागि भए पनि नेताहरु खेतमा जानु राम्रै कुरो हो । तर, वर्षमा एकदिन खेतमा गएर हिलो खेल्ने मात्रै होइन कि नेपालको कृषि व्यवसाय एवं धानको उत्पादनलाई सरकारले कत्तिको प्रश्रय दिएको छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।

विगतमा भारततर्फ चामल निर्यात गर्ने नेपाल अहिले भारतबाटै चामल किनेर खानुपर्ने अवस्थामा पुगेको छ । यस्तो किन भयो ? असार १५ मा हिलोमा पसेका नेता र मन्त्रीहरुले यसबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखामा दुब्ला गोरुहरु जोतेको दृश्य निकै रोचक छ । यो दृश्यले गाउँमा कृषि प्रविधिको अवस्था कस्तो छ भन्ने देखाउँछ । कृषि व्यवसायमा नयाँ नभएर पुरानै शक्तिमा भर पर्नु परेको दृष्टान्त हो । अत्याधुनिक मेसिनले खेत जोतिरहेको दृश्य देख्न अझै कति कुर्नुपर्ने हो ? यो अहम प्रश्न हो नेपालको कृषि प्रणालीमा । तराईमा धान खेतीका आधुनिक प्रविधिहरु भित्रन थाले पनि पहाडमा अझैसम्म गोरुकै भर पर्नु परिरहेको छ ।

तर, असार १५ को धान दिवस सुकिला मुकिलाहरुको सेल्फीमोह एवं सेलिब्रेसन मात्रै हो या नेपाली समाजको परम्परागत संस्कृति हो ? यसतर्फ विचार गर्न जरुरी छ, ताकि सुकिला मुकिलाको सेलिब्रेसनले दूरदराजमा किसानहरुको ‘असार १५’ छायाँमा नपरोस् ।

किनभने, गाउँघरमा असार १५ को दुःख कहालिलाग्दो छ । सिँचाइको समस्या छ । पहिरो र बाढीले असर पारेको छ । बाटोघाटोको समस्या छ । गोरु र कामदारहरुको अभाव छ । मल सस्तो र सुलभ छैन । कृषिमा आधुनिक प्रविधि छैन । वैदेशिक रोजगारीका कारण गाउँहरु खाली छन् । खेतबारी बाँझै छन् ।

र, प्रश्न यो छ कि यस्तो बेलामा शहरतिर खिचिएका असार १५ का तस्वीरले गाउँको प्रतिनिधित्व कसरी गर्ला ?

हेर्नुहोस् असार १५ का केही दृश्यहरु

तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment