
धान खेतीको सुरुआत चीनबाट भएको पाइन्छ भने विश्वको सबैभन्दा बढी धान उत्पादन गर्ने देश पनि चीन नै हो । विश्वको एक प्रमुख अन्न बाली धानको वैज्ञानिक नाम ‘ओरिजा सेटिभा’ हो । विश्वको लगभग ९० प्रतिशत धान एशियामै उत्पादन र खपत गरिन्छ ।
भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिस चामल खान्छन् । चामल एशियाको एक प्रमुख खाद्य पदार्थ पनि हो । चामलले हाम्रो शरीरलाई स्वस्थ राख्न आवश्यक पर्ने पौष्टिक तत्व प्रदान गर्दछ ।
धानलाई प्रशोधन गरेर विभिन्न प्रकारका खाद्य पदार्थहरू बनाउन सकिन्छ । धानलाई सुकाएर चामल वा उसिनेर उसिना चामल पनि बनाउन सकिन्छ । यस्तैगरी धानलाई कुटेर चिउरा बनाउन सकिन्छ । सेलरोटी चाडपर्व वा पूजापाठमा बढी महत्व दिइने चालमबाट बनेको अर्को परिकार हो । यस्तैगरी तराईको लोकप्रिय खाजा मुरै थारू शब्द ‘मुर्रा’ बाट आएको हो, जसको अर्थ फुलेको भन्ने बुझिन्छ ।
सोझै खान मिल्ने, कम जालांश भएको चामल जति नै पौष्टिक तत्व पाइने यो खाद्यवस्तु थारू र चौधरी समुदायमा बढी प्रचलित छ । भक्का वाफले पाक्ने अन्नको परिकार हो । यो चामलको खस्रो पिठोबाट बनाइन्छ । यो पूर्वीय तराईका थारू वा मोरङ्गिया थारू समुदायको परम्परागत र मौलिक खाद्यवस्तु भए पनि सबैले स्वादिष्ट परिकारको रूपमा यसलाई लिन्छन् ।
यस्तै, चामलको पिठोबाट बन्ने अर्को परिकार योमरी हो । यो नेवारहरूको लोकप्रिय परिकार अन्तर्गत पर्दछ । ढिकरी चामलको पिठोबाट तयार गरिने थारू समुदायको परम्परागत खाद्यवस्तु हो । यो माघेसंक्रान्ति, चैते दशैं, विवाह वा अन्य पर्वमा विशेष बनाइन्छ । अनरसा पनि चामलको पिठोबाट बन्ने स्वादिष्ट खाद्यान्नको परिकार हो । यी लगायत थुप्रै परिकार चामलको पिठोबाट बन्दछन् ।
वर्षौंदेखि गाउँघरमा उत्पादित हुँदै आएका यी खाद्यवस्तु तथा परिकारको आफ्नै परम्परागत, सांस्कृतिक र पौष्टिक महत्व रहेको देखिन्छ ।
धान दिवसको इतिहास हेर्दा २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव गरे । नेपाल सरकार, मन्त्रिपरिषद्को वि.सं. २०६१ मंसिर २९ गते बसेको बैठकले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने निर्णय गर्यो । त्यस बमोजिम वि.सं. २०६२ असार १५ गतेदेखि नेपालमा यो दिवस मनाउँदै आइएको छ ।
यो दिवसको मुख्य उद्देश्य कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउन, किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने रहेको छ । कृषिप्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।
यसरी धान दिवस मनाइरहँदा मलाई अर्थशास्त्रका प्राध्यापकले बचतको महत्व बारेमा पढाउँदा दिएको एक सितो भातकोे उदाहरण झलझली याद आइरहेको छ । उहाँले एउटा कथा सुनाउँदै भन्नुभएको थियो– ‘भारतमा एक समयमा भोकमरी लागेको थियो, त्यस समयमा त्यहाँका जनताले तत्कालीन सरकारप्रमुखसँग जनता खान नपाएर भोकले मर्न लागेको कुरा बिन्ती बिसाए, त्यसपछि तत्कालीन समयको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले भोकमरी अन्त्य गर्न केही गर्नुपर्दैन एक सिता भात प्रत्येक छाकमा तपाईंहरूले बचत गरिदिनुहोस् भनेर उत्तर दिनुभएको थियो रे !’
मलाई लाग्यो एक सिता भात जोगाउँदा कसरी भोकमरी अन्त्य हुन्छ ? अनि फेरि विश्लेषण गरें, अहिलेको भारतको जनसंख्या १ अर्ब ४० करोड बढी । मलाई प्रविधिले दिएको जानकारी अनुसार एक केजी चामलमा ५० हजारसम्म दाना हुँदोरहेछ । भारतका प्रत्येक नागरिकले छाकमा एक सिता भात फाल्छन् भन्ने अनुमान गर्दै कुल जनसंख्यालाई ५० हजारले भाग गर्दा प्रति छाक २८ हजार केजी चामल खेर जाँदोरहेछ भन्ने तथ्य आयो । यसलाई नेपालको वर्तमान जनसंख्यासँग तुलना गरेर हेर्दा नेपालीले प्रत्येक छाकको खानामा एक सिता भात फाले भने प्रतिछाक ६०० किलो चामल खेर जाँदोरहेछ ।
पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा धेरै १ खर्ब ५० अर्ब ९७ करोड रुपैयाँको चामल आयात भएको हो । अन्तर्राष्ट्रियस्तरका अध्ययनले एक व्यक्तिले बर्सेनि ९३ किलो खाना फाल्ने गरेको देखाएको छ । यो डरलाग्दो तथ्यांक देखेपछि मलाई लाग्यो अर्थतन्त्र सुधार्ने वा बिगार्ने भन्ने कुरा नागरिकको आनीबानी र आचरणमा पनि भर पर्छ । नेपालको खाद्यान्न सम्बन्धी व्यापार घाटा दिन प्रतिदिन बढ्नुको एउटा कारण हाम्रो आनीबानी र संस्कार पनि हो ।
यो त एउटा सानो उदाहरण मात्र हो, यस्ता थुप्रै उदाहरणहरू रहेका छन्, जसले हाम्रो अर्थतन्त्र सुधार्न बाधक बनिरहेको छ । एक सिता भात खेर फाल्दा केवल एउटा चामलको दाना मात्रै फालिंदैन त्यस सँगसँगै धान उत्पादन गर्न लाग्ने समय, श्रम र खर्च समेत जोडिएको हुन्छ ।
नेपालमा हाल रहेका करिब ३१ हजार सहकारी, सामुदायिक र संस्थागत गरी करिब ३६ हजार विद्यालय, साझेदारी वन र सामुदायिक वन गरी २१ हजार हाराहारीका वन लगायत अन्य सामाजिक संघ–संंस्थाको वार्षिकोत्सव र साधारण सभाका विभिन्न कार्यक्रममा खेर फाल्ने खानाको भरपर्दो तथ्याङ्क छैन । यसैगरी विवाह, पार्टी र जन्मदिन आदि जस्ता सामाजिकोत्सवमा खेर फाल्ने खानाको अवस्था भयावह छ, यसको वास्तविक तथ्याङ्क नभए पनि अनुमान गर्न सकिन्छ ।
यस्ता कार्यक्रमहरूमा फालिएका खाना र त्यसले अर्थतन्त्रमा पारेको असर बारेमा सार्वजनिक क्षेत्रमा गम्भीर बहस हुनु जरूरी छ । विशेषगरी, खाद्यान्न आयात र व्यापार घाटा बढाउन गरेको योगदानको बारेमा सम्बन्धित निकायले गहन अध्ययन र यसलाई सुधार गर्नुपर्ने देखिन्छ ।
खेर गइरहेको सम्भावना
नेपालमा एकातिर श्रमशक्तिको अभाव र अन्य कारणले बाँझो रहेकोे कारणले धानको उत्पादन बढ्ने सम्भावना भए पनि रसायनिक मल र बीउको सहज आपूर्ति नभएको कारण धानको उत्पादन उल्लेखनीय मात्रामा बढ्ने सम्भावना देखिंदैन भने अर्कोतिर खानाको सही सदुपयोग र व्यवस्थापन नगर्दा यसले प्रत्येक वर्ष व्यापार घाटा बढाइरहेको छ ।
सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाए तापनि वा बजेट विनियोजन गरे पनि आशातित उपलब्धि भने हासिल गर्न सकेको देखिंदैन । यसको प्रमुख कारण हो, कृषकले चाहेको समयमा मल, बीउ, सिंचाइ र कीटनाशक औषधि प्राप्त गर्न नसक्नु । यसको अतिरिक्त खाद्यान्न बालीको उचित बजार र मूल्य प्राप्त गर्न नसक्नु अर्को समस्या हो ।
यसैगरी खोतीयोग्य जमिन सबै प्लटिड गरी बाझो राख्नु अर्को समस्या रहेको छ । यसको साथै गाउँघरमा सञ्चालित धान कुटाउने मिलहरू समेत विस्तारै बन्द भएका कारण कृषकहरू चामल किनेर खान बाध्य छन् ।
आफ्नो गाउँघरमा फलेको पौष्टिक तत्वयुक्त खाद्यवस्तु बेचेर कम गुणस्तरीय चामल आयात गर्नु भनेको ‘घरमा फलेको केरा बेचेर चाउचाउ खाए’जस्तै हो । शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वयुक्त चामललाई प्रयोग नगरेर विभिन्न तरिकाले पोलिस गरेका चामल खानु स्वास्थ्यको दृष्टिले कति सान्दर्भिक छ ? यतातर्फ पनि राज्यको ध्यान जानु जरूरी छ ।
नेपालमा उचित भण्डार, गुणस्तरीय प्रशोधन र प्याकेटिङको अभावका कारण कौडीको मूल्यमा भारतका व्यापारीलाई धान बेचेर महँगो मूल्यमा चामल आयात गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।
अर्को महत्वपूर्ण कारण वैदेशिक रोजगारीका कारण एकातिर युवा श्रमशक्ति र जनशक्ति विदेश पलायन हो । गाउँघरमा हुनेहरूले पनि खेती गर्नुहुँदैन वा गर्न सकिंदैन वा बीउ, मल महँगो भएकाले लागत पनि उठ्दैन भन्दै कृषि कर्म छाड्दै गएको अवस्था छ ।
यसको अतिरिक्त आकासे खेतीमा निर्भर र सिंचाइको व्यवस्था नहुनु, सीमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण, उन्नत जातका बीउबिजन तथा मलखाद तथा अनुदान नहुनु र आधुनिक यन्त्र–उपकरणको अभाव जस्ता कारणले कृषि क्षेत्रमा उल्लेख्य सुधार हुनसकेको छैन ।
सुधारका उपाय
नेपालमा विद्यमान रहेका समस्यालाई समाधान गरी यस क्षेत्रको सुधार र व्यापार घाटा कम गर्न राज्यले सहकारी साझेदारी नीति अवलम्बन गर्दै देशका ठूला र सक्षम सहकारीहरूको समन्वयात्मक सहकार्यमा देशमा नै मल–बीउको उत्पादनको लागि प्रोत्साहन गर्नु र प्राथमिकता दिइनुपर्दछ । यसको साथै धान लगायत खाद्यान्न बालीहरूको उत्पादन, भण्डारण र बिक्री–वितरणमा सहकार्य गर्नु आवश्यक छ ।
कृषकले उत्पादन गरेको धान बिचौलियाहरूलाई कौडीको मूल्यमा बेच्नुभन्दा कृषि सामग्री कम्पनी लिमिटेडलाई चामल उत्पादनको जिम्मेवारी दिएर राष्ट्रसेवक कर्मचारी, प्रहरी, सेनालगायत नेपाल सरकारले रासन दिने व्यक्ति, निकाय वा संस्थाले अनिवार्य उपभोग गर्ने व्यवस्था गर्न सके चामल आयात प्रतिस्थापनमा सघाउ पुग्थ्यो ।
कृषकले चाहेको समयमा मल, बीउ, सिंचाइ र कीटनाशक औषधि उपलब्ध गराउन उचित भण्डारण, गुणस्तरीय प्रशोधन र प्याकेटिङको व्यवस्था गर्नुका साथै विद्यमान कार्यकर्तामुखी वितरण प्रणालीमा सुधार ल्याई वास्तविक कृषकलाई सुविधा उपलब्ध गराउनुपर्दछ । खोतीयोग्य जमिन प्लटिड गरी बाझो राख्नेकै कारण राष्ट्रिय उत्पादनमा आएको गिरावटलाई ध्यान दिई खोतीयोग्य जमिन प्लटिडमा रोक लगाउनुपर्दछ । यसको साथै गाउँघरमा मिल सञ्चालनको लागि प्रोत्साहन र अनुदानको व्यवस्था गर्नुपर्दछ ।
खाना खेर फाल्दा हुने सामाजिक, आर्थिक असरका बारेमा व्यापक मात्रामा जनचेतना जगाउनुपर्दछ । सीमित व्यक्तिका हातमा रहेका अधिक जमिन व्यवस्थापनमा सरकारले ठोस कदम चाल्नुपर्दछ । कृषि कर्मप्रतिको विद्यमान सोचमा परिवर्तन ल्याउन विभिन्न रचनात्मक र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ ।
अन्त्यमा, नेपाल कृषिप्रधान मुलुकको रूपमा परिभाषित भए पनि समयसँगै यो परिभाषामाथि प्रश्न उठ्न थालेको छ । देशको कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न विशेष योजना र कार्यक्रमको जरूरी छ । छिमेकी देशहरू चीन र भारत धान उत्पादनको लागि विश्वका दुई शक्तिशाली देशहरू हुन् । दुई ढुंगाबीचको तरुल जस्तै रहेको यो देशले आफ्नै नजिकका छिमेकीले गरेको त्यो विकास र प्रगतिलाई हेरेर समन्वय गर्नुपर्ने पनि देखिन्छ ।
विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क विश्वव्यापी भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा उल्लेख भए अनुसार नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेश भन्दा केही राम्रो रहेको बताइएको छ । उक्त सूचकमा उल्लेख भए अनुसार नेपालमा मध्यम खालको भोकमरी छ, हुनत नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई शून्य भोकमरीको अवस्थामा झार्ने लक्ष्य लिएको छ ।
धान रोपाइँ केवल आर्थिक रूपमा मात्र होइन, मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक रूपमा पनि महत्वको कर्म हो । यसले हाम्रो राष्ट्रको मौलिकताको संरक्षणमा समेत टेवा पुर्याएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई यो दिवसले प्रेरणा देओस् र सबै कृषक तथा नागरिकमा कृषिप्रतिको सकारात्मक भावको विकास होस्, साथै खाना सुुरक्षाप्रति नागरिकको सचेतना बढोस्, आनीबानी र व्यवहारमा परिवर्तन होस्, २२औं राष्ट्रिय धान दिवसको शुभकामना !
- कन्काई, झापा
प्रतिक्रिया 4