Comments Add Comment

सामाजिक सञ्जालमा मजाकको पात्र बने नेइमार


१९ असार, काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए ।

तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको ‘नाटक’ को बारेमा धेरैले चर्चा गरेका छन् ।

मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा बल खोस्ने क्रममा फरवार्डको खुट्टामा कुल्चिएपछि नेइमार भुईंमा लडिबुडी गर्न थाले । के के न भएजस्तो गरेर लडिबुडी गर्न थालेपछि खेल एकछिन रोकियो र मेडिकल टिम उनको सहयोगमा आयो । उनको खुट्टामा स्प्रे गरिएपछि उनी फेरि उठेर खेल्न थाले ।

यसलगत्तै सामाजिक सञ्जालमा उनको लडिबुडी अस्वभाविक भएको भन्दै विभिन्न ट्रोल भइरहेका छन् । विश्वभरका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले धेरै अभिनय गरेको भन्दै मजाक उडाएका छन् ।

आईटीभीका पन्डित मार्टिन ओनिलले खेलको अन्तिम सिठ्ठी बज्दै गर्दा कमेन्ट्री गरिरहेका थिए, ‘नेइमारको यो शैली दयनीय छ, साँच्चै नै दयनीय । मार्क सही छन्, यो रातो कार्ड नै हो तर नेइमारको पीडा सहने शक्ति साह्रै नै कम छ ।’

‘एक फ्लुको इन्जेक्सनपछि उनी डाक्टरको सर्जरीबाट बाहिर आउन् भन्ने म चाहन्न’ नेइमारको मजाक उडाउँदै उनले भने ।

नेइमारको ‘नाटकीयपना’को सवर्त्र टिप्पणी हुन थालेपछि न्युक्यासल र इंग्ल्याण्डका पूर्वस्ट्राइकर एलन सियररले पनि प्रतिक्रिया दिएका छन् ।

‘उनको क्षमतामाथि कुनै प्रश्न उठ्दैन । हामीले उनको ब्याकहिल पास र उत्कृष्ट फिनिस देख्यौं,’ उनले भने ‘उनी एक उत्कृष्ट खेलाडी हुन् तर, मैदानमा साह्रै नै पीडा भएको झैं लडिबुडी गरेको दयनीय देखिन्छ । आखिर उनलाई किन यस्तो गनुपर्छ जस्तो लाग्छ होला ?’

फुटबल समर्थकहरुले सामाजिक सञ्जालमा नेइमारको लडिबुडीलाई नाटकको उपमा दिँदै आफ्नो रोष पोखेका छन् । केहीले त अझै फुटबल छोडेर अभिनयतिर लागे ओस्कार अवार्डसमेत जित्ने भन्दै उनको मजाक उडाएका छन् ।

यस्तोमा इंग्ल्याण्डका पूर्वखेलाडी र अहिले फुटबल विश्लेषक ग्यारी लिनेकरले टि्वट गरे, ‘ओप्टा स्टाट सुरु भएपछिको तथ्याङ्कअनुसार नेइमारसँग विश्वकपका खेलाडीहरुमध्ये सबैभन्दा कम पीडा खप्ने शक्ति छ ।’

अर्का एक सामाजिक सञ्जालका प्रयोगकर्ताले भिडियो पोस्ट गर्दै भनेका छन् ‘तिमी यस्तो अभिनयपछि कसरी आफ्नो अनुहार अरुलाई देखाउँछौ ?’

त्यस्तै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले २६ वषर्ीय स्टारलाई साना बच्चासँग तुलना गर्दै भनेका छन्, ‘उनी साना भाइबहिनी जस्तै हुन् जसलाई अलिकति छोयो भने पनि मर्नै आँटेजसरी भुइँमा लडिबुडी गरेर रुन थाल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment