Comments Add Comment

अर्जेन्टिनासँगको खेलअघि नाइजेरियन कप्तानका बुबा अपहरणमा परेको खुलासा

काठमाडौं । नाइजेरियन फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकप समूह चरणमा अर्जेन्टिनासँग अन्तिम खेल खेल्नु केही घण्टाअघि आˆना बुबा अपहरणमा भएको खुलासा गरेका छन् ।

अर्जेन्टिनासँगको खेलका लागि सेन्ट पिटर्सवर्ग स्टेडियम जाँदै गर्दा उनले बुबा अपहरणमा परेको खबर पाएका थिए । उनको परिवारको सदस्यले फोन गरेर अपहरणकर्ताको नम्बर उनलाई दिएका थिए । उनले अपहरणकर्तालाई फोन गर्नुपर्ने परिवारका सदस्यले बताएका थिए ।

मिकेलले अपहरणकर्ताको नम्बरमा फोन कर्ता फिरौती मागिएको उनले बताएका छन् । साथै उनले बुबा अपहरणमा परेको कुरा कसैलाई पनि बताएका थिएनन् ।

गार्जियनले मिकेललाई उधृत गर्दै लेखेको छ, ‘महत्वपूर्ण खेलअघि कुनै किसिमको तनाव अरु खेलाडीलाई नहोस् र त्यसले खेलमा असर नगरोस् भनेर उनले कसैलाई अपहरणको कुरा भनेनन् ।’

उनका बुबा दक्षिण नाइजेरियातिर काम विशेषले गइरहेका बेला अपहरणमा परेका थिए । अहिले प्रहरीले उनका बुबालाई अपहरण मुक्त गरेर एक अस्पतालमा उपचार गराइरहेको छ । एक हप्तासम्म बुबालाई अपहरणकर्ताले निकै यातना दिएको मिकेलले बताएका छन् ।

मिकेलमा बुबा अपहरणमा परेको यो दोस्रो पटक हो । यसअघि पनि उनलाई सन् २०११ को अगस्टमा अपहरणकर्ताले अपहरण गरेका थिए । प्रहरीकै मद्दतमा उनलाई त्यसबेला पनि अपहरणमुक्त गरिएको थियो ।

आफ्नो बुबा अपहरणमा परेको दुःखद समाचार सुनेर पनि मिकेलले अर्जेन्टिनाविरुद्ध पूरा ९० मिनेट नै उत्कृष्ट खेल देखाए । खेलमा नाइजेरिया २-१ ले पराजित भए पनि उनीहरुको खेलको प्रशंसा भएको थियो ।

‘मेरो बुबा गुण्डाहरुको कब्जामा भइरहेका बेला मैले खेलेँ । मैले त्यो पीडा आफैभित्र लुकाएर राखेँ । खेल हुनुभन्दा झण्डै चार घण्टाअघि मलाई बुबा अपहरणमा परेको खबर आएको थियो’ मिकेलले भने, ‘खबर सुनेर म मानसिक रुपमा तनावमा परेको थिएँ । मैले खेल्न सक्छु कि सक्दिन भनेर सोचिरहेको थिएँ । म दोधारमा थिएँ । तर मलाई एक्कासी लाखौं नाइजेरियनको विश्वकप सपना मर्न दिनु हुँदैन भन्ने लाग्यो र खेलेँ ।’

‘मैले कसैले केही भने र प्रहरीमा खबर गरेँ भने बुबालाई मारिदिने धम्की अपहरणकर्ताले दिएका थिए । यसैले मैले प्रशिक्षकसँग भन्न मन भएपनि उनलाई पनि केही भनिन’ मिकेलले भनेका छन्, ‘धन्न मेरो बुबा सोमबार दिउँसो अपहरणमुक्त हुनुभयो । म प्रहरीलाई उनीहरुको कामको लागि धन्यबाद दिन चाहन्छु । परिवार र साथीहरुले गरेको सहयोगका लागि पनि धेरै धन्यवाद ।’

मिकेलका बुबालाई कसले अपहरण गरेको थियो र कति फिरौती मागिएको थियो भन्ने विषय भने खुलाइएको छैन ।

दक्षिणी नाइजेरियामा धनी व्यक्तिका परिवारका सदस्यलाई अपहरण गर्ने र फिरौती माग्ने सामान्य जस्तै भइसकेको छ । जहाँ प्रायजसो रकम पाएपछि अपहरणकर्ताले अपहरणमा परेकालाई छाडिदिने गरेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment