Comments Add Comment

‘प्रदेश ४ को नाम गण्डकी राखिनु केन्द्रीकृत र नश्लवादी चिन्तन’

आदिवासी जनजाति संघसंस्थाद्वारा फिर्ता लिन माग

२१ असार, काठमाडौं । प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोप्रति आदिवासी जनजाति महासंघसहित विभिन्न आदिवासी जनजाति संगठनहरुले विरोध जनाएका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति निकालेर उनीहरुले प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन् ।

‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी’ प्रदेश नामाकरण गर्न लागेको खबरप्रति सम्पूर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रदेशसभा ४ को सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै प्रदेश ४ को नाम गण्डकी नै रहने पक्का भएको छ । गण्डकी नामको विपक्षमा नयाँ शक्ति पार्टी नेपालका दुई सांसदमात्र छन् ।

आदिवासी जनजाति महासंघ, तमुह्युल छोँध धी गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर संघ, नेवा: देय् दबु, नेपाल तामाङ घेदुङ, किरात याक्थुङ चुम्लुङ र नेपाल शेर्पा संघले संयुक्त विज्ञप्ति जारी गरी ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी प्रदेश ४ को नाम ‘तमुवान–मगरात’ नामाकरण गर्न प्रदेश आग्रह गरेको छ ।

‘पहिचानको मूलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल हुने स्मरण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ‘ साथै प्रदेश संसदको यसखाले कदमले वर्तमान राज्य सरकारले परिकल्पना गरेको स्थायी शान्ति सहितको समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पुरा हुन नसक्ने र मुलुक फेरि द्वन्द्वतिर जाने समेत अवगत गराउँदछौं ।’

आदिवासी जनजाति संघसंस्थाले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेशसभाले गलत निर्णय गर्न गएको भन्दै उक्त निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी प्रदेश सरकार र प्रदेश संसदले लिनुपर्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रदेश ४ को नाम गण्डकी पक्का, नेकपाले गर्‍यो निर्णय

गृहमन्त्रीको ठट्टा- प्रदेश ४ लाई ‘गमत प्रदेश’ भन्न मिल्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment