Comments Add Comment

मुस्ताङ ट्रिपर दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट पोखरा ल्याइयो

२२ असार, काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत १९ जनाको मृत्यु भएको छ ।

स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकी करिडोरको भेनादेखि झैते खण्डमा कार्यरत मजदुरहरु चढेकोे बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका रहेका छन् । त्यस्तै रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ ।

त्यस्तै घाइते भएका १३ जनामध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । बाँकी ५ जनालाई पनि हेलिकोप्टरले पोखरा लैजाने तयारी भइरहेको र सामान्य घाइते ५ जनालाई जिल्ला अस्पताल मुस्ताङमा उपचारका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment