२४ असार, काठमाडौं । १७ बुँदे सहमति भएपछि मध्यपश्चिम (मप) विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले आइतबार अनसन तोडेका छन् ।
विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुविच आइतबार भएको वार्तामा विद्यार्थीका मागहरु सम्बोधन गर्ने सहमतिसँगै विद्यार्थीले अनसन तोडेका हुन् ।
विभिन्न ७ बुँदे माग राखेर २१ दिनसम्म अान्दोलन गर्दापनि प्रशासनले वास्था नगरेपछि रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन ६ दिनदेखि आमरण अनसनमा थिए ।
स्वास्थ्य अवस्था कमजोर भएपछि देउती अस्पताल वीरेन्द्रनगरमा उपचार गराइरहेका उनीहरूलार्इ इन्जिनियरिङ्ग संकायका डीन गोविन्द लामिछानेले जुस खुवाएर अनसन तोडाएका थिए ।
इन्जिनियरिङ हाइड्रोपावरको पाठ्यक्रम तयार गरी चौथो सेमेस्टरको परीक्षाअघि पाठ्यक्रम उपलब्ध गराउने, इन्जिनियरिङ संकायको तीन महिनाभित्र प्रयोगात्मक ल्याबको व्यवस्थापन गर्ने, पुस्तकालयका आवश्यक पुस्तकहरु उपलब्ध गराउने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने र इन्जिनियरिङ संकायका विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि छुट्टै भवन भाडामा लिएर पठनपाठन गर्ने निर्णय भएको छ ।
यस्तै विद्यार्थीहरुलाई छात्रवित्तिका लागि पीछडिएको क्षेेत्र, दुर्गम, महिला, दलित जनजाति, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवित्ति प्रदानका लागि सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ संकायका डीनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
इन्जिनियरिङ संकायका कार्यक्रमहरुलाई मुसुमको जस्तै प्रणालीमा सञ्चालन गर्नका लागि सञ्चालन गर्न डीन गोविन्द प्रसाद लामिछानेको संयोजक्तवमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।
विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, आर्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आत्मनिर्भर भए विकेन्द्रिकरणतर्फ लैैजाने निर्णय गरिएको छ ।
प्रतिक्रिया 4