शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

के आदिकवि भानुभक्त प्रगतिशील होइनन् ?

Suzuki
प्रा.डा. बद्रीविशाल पोखरेल


आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्य २०५ औँ जयन्तीका अवसरमा काठमाडौँमा अन्तराष्ट्रिय सम्मिलन हुँदैछ । यसमा बेलायत,अमेरिका,जापान,म्यानमार लगायत १५ देशका नेपाली भाषा सहित्यका विशिष्ट सर्जक र समीक्षक र नेपाली विशिष्ट स्रष्टाहरुको सम्मिलन हुनेछ । यसका लागि हिमवत् खण्ड कला साहित्य सम्मिलन नाम जुराइएको छ । यसको मूल आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठान र कार्यक्रमिक संयोजनका लागि प्रा.राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ मूल समारोह समिति गठन गरिएको छ ।

तर, फेरि पनि आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमा अनेक कोणबाट कटु आलोचना पनि भइरहेको देखिन्छ । मूल रुपमा प्रगतिशील वा प्रगतिवादी कला साहित्यिक सौन्दर्यशास्त्रीय रुढ मान्यताका आधारमा र चरम जातीय अतिवादी संकीर्ण सोचका आधारमा भानुभक्त अझै आलोचनाको तारो बनेका छन् ।

कुनै पनि व्यक्तिको सापेक्ष मूल्याङ्कन गर्नुपर्छ । गति र प्रगतिका सापेक्ष पक्ष हुन्छन् । गति बिना प्रगति हुँदैन । प्रगति पथमा नलम्किई मानिसमा विचार चिन्तनको फराकिलो स्थिति बन्दैन । माक्र्सवादीहरु चेत,चिन्तन,विचार र धारणाहरु बाह्य वस्तु जगत्को प्रतिबिम्ब ठान्छन् र हो पनि । अनि भौतिक र बौद्धिक प्रगतिबिना प्रगतिशील र प्रगतिवाद जन्मिने कुरा पनि भएन । वैदिक सनातन धर्म र संस्कृतिमा निक्कै लामो अध्ययन र अनुभव पछि पूर्खाहरुले वादे वादे जायते तत्व बोध मत र मान्यता निर्माण गरे । यही विषय कार्लमाक्र्सले बेलैमा थाहा पाएका भए यस विषयलाई आधार बनाएर द्वन्द्ववादको सन्दर्भ उठाउँथे होलान् ।

विचार सघन नभई वादको निर्माण र प्रतिपादन हुँदैन । भानुभक्त आचार्यले रामायण लगायत कृतिहरु लेख्दा प्रगतिशील र प्रगतिवादी मापदण्डीय मान्यताको उदय भएकै थिएन । जननेता मदन भण्डारीले भूमिगत कालमा पार्टीका कार्यकर्ता र नेताहरुका बीच सघन सैद्धान्तिक विमर्श गरिरहँदा सहभागीहरुलाई एक एक कविता लेख्न लगाउँथे । यही प्रसंगमा एक मगर जातका एक कार्यकर्ताले आफ्नै भाषामा कविता लेखेर नेपालीमा उल्था गरेर सुनाएछन् । उनको त्यो कविता प्रेममा आधारित भएको हुँदा सहभागी सबैले रुढ तथा संकीर्ण प्रगतिशील कोणबाट एक स्वरले आलोचना गरेछन् पछि मदनले अन्त्यमा आलोचक कार्यकर्तालाई सम्झाउँदै कविता र साहित्य लेखन नै शून्य भएका अवस्थामा मनमा जे जे फुर्छ लेख्नुपर्छ,बारबार लेख्नुपर्छ लेख्नै नजानी प्रगतिशील वा प्रगतिवादी सिर्जना गर्ने कुरा सम्भव हँुदैन भनेको कुरा नेता गुरु बरालले एक प्रसंगमा सुनाएका थिए ।

कला साहित्यिक उन्नत चेतका मदनले कार्यकर्ता र नेताहरुमा कला साहित्यिक तथा सांस्कृतिक चेत र चिन्तनले प्रवेश पायो भने तिनको छाती संवेदनशील तथा फराकिलो हुन्छ भन्ने सोचेर कविता लेख्न लगाए । अरु भए यसलाई नगण्य ठानेर पन्छाइ दिन्थे होलान् । त्यस्तै सिर्जना र स्रष्टा मैत्री भावनाका धनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका उत्प्रेरणामा र सर्जकहरुको सक्रियतामा यो सम्मिलन हुन गइरहेको छ । अरु भए कला साहित्य जस्ता विषय कौन पुछे खेसरीका दाल हुने थियो । यही कार्यक्रमको सन्दर्भमा ओलीको सिर्जनात्मक चेतले चन्द्रागिरिलाई एक गिरि वा पहाडमात्र नदेखेर विशेषतः कला साहित्यिक,सांस्कृतिक तथा ऐतिहासिक समृद्धि,अभिवृद्धिको बहुआयामिक सघन बिम्ब देख्योे । देख्नेले सप्तकोशीको पानीलाई विद्युत उर्जालहर देख्छन् अरुहरुले आची धुने पानी,सिचाइ गर्ने पानी र पिउने जल मात्र सम्झन्छन् ।

भानुले एक कविता मार्फत् उद्यम बिना समय व्यतीत गर्ने मानवलाई ज्यूँदै मर्‍याको भनेका छन् । यसको अर्थ आ–आफ्ना क्षेत्र,तह,विधा,विज्ञता र हैसियत अनुसार उद्यम गर्नु र देशलाई समृद्ध पार्नु सर्वोपरि महत्वको विषय हो । सर्वे भवन्तु सुखिनः जस्ता पुर्खाहरुका सपना र जपनालाई नै मध्यनजर राखेर ओलीले समृद्धिका लागि हरेक नेपालीले समर्पण भावनाका साथ लागि पर्नु पर्ने ध्येय राखेको देखिन्छ । मानव समाजको मनको मैलो सफा गर्ने साबुन भनेको कलासाहित्य, संगीत, शिक्षा र संस्कृति हो । यसले नै चरम व्यक्तिवादी, चरम उपभोक्तावादी तथा भ्रष्ट प्रवृत्ति र पश्चगामी पुरातनपन्थी संस्कार हटाउने पहिलो अभियानको सुरुवात प्रधानमन्त्रीले गर्न खोजेको स्पष्ट हुन्छ यसको प्रारम्भ भानु जयन्ती नै उपयुक्त हुने सोच देखियो । देश र जनताको समृद्धि यात्रा शुद्ध र पवित्र मनहरुले मात्र सम्भव हुन्छ । भविष्यका पछि लाग्नेहरु मात्र यस काममा समर्पित भएर लाग्छन् । सरकारी र अर्ध सरकारी तहका कतिपय मानिसहरुलाई मसिनो रुपमा नियालेर मात्र तिनको गतिमति र नियत थाहा हुन्छ ।

भानुभक्तले उद्यमशील हुन आग्रह गरेझैँ वर्तमान सरकारले बहुआयामिक समृद्धि प्रारम्भ गर्न खोजेको देखिन्छ । अनि पुर्खाहरुले सबै सुखी हाउन्, सबै निरोगी होउन् भनी देखेको सपना साकार पार्न खोज्ने प्रधानमन्त्री ओली उपर सरापको समुद्र बर्साउनेहरुको अत्यन्त दरित्र पित्त —चित्त देखेर दया लाग्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्दा र यसलाई साकार पार्न समृद्धिका लागि समर्पण भाव प्रत्येक नेपालीमा अपरिहार्य हुन्छ भन्दा केही खोटीमनहरुको निद्रा हराम भएको देखिन्छ ।

अराजकतावादमा बानी परेकाहरु अनुशासनलाई अधिनायकवाद भनेर रोइलो गरिरहेका छन् । प्राज्ञ र कुलपतिले गरेको अनुशासन उल्लङ्घन कदापि राम्रो मानिन्न । राष्ट्रको अभिभावकका हैसियतले बौद्धिक र भौतिक दुवैमा समृद्धि हासिल गर्ने कुरामा प्रधानमन्त्री ओली निरन्तर लागेकामा नकारात्मक रिस मात्र गर्नु आफ्नै घुँडामा बन्चरो हान्नु हो । जायज आलोचना अस्वीकार्य हुँदैन । पुर्खाहरुले थोपा थोपा गरेर सुरु गरेका सकारहरुलाई समेटेर समृद्धिको यात्रामा कटिबद्ध प्रधानमन्त्री भानुका सकारहरुलाई समेटेर भाषा र साहित्यको समृद्धिमा सम्मिलित भएका हुन् ।

आदिकवि भानुभक्त आचार्यको भाषा,साहित्य र संस्कृतिप्रतिको जस्तो सेवा र समर्पण भाव कति कथित माक्र्सवादी लेखकमा होला । भाषा र साहित्यको सेवा अमुक विचारवादीले मात्रै गर्ने विषय होइन भन्ने कुरा मदनले उहिल्यै खोलुवा गरेका छन् ।

भानुले जस्तै घाँसीबाट प्राप्त सेवाभावको अर्तीबाट प्रेरित भएर रामायणको अनुवाद गरेको सगर्व उल्लेख गर्ने क्रान्तिकारी प्रगतिवादीहरु कति होलान् ? संस्कृत भाषाका पण्डित भानुलाई त्यही भाषाका आधारमा धन र मानको कुनै कमी हुने थिएन तर पनि उनले कथित पण्डित समाजले आफैँलाई सामाजिक बहिष्कार गर्ने सम्मका खतवात व्यहोरेर रामायणलाई नेपालीमा अनुवाद गरे ।

यसरी नेपाली भाषा,साहित्य र संस्कृतिका उत्थानमा तमाम खतबात सहेर सिर्जना र साधनामा लाग्ने प्रगतिशील कति होलान् नेपालमा ? मुखका प्रगतिवादी धेरै देखिएको छ । प्रधानमन्त्री ओलीले नै पनि मुखका माक्र्सवादी भन्दा कामका चाहिँ महत्वपूर्ण हुन्छन् भनेका छन् । भानुले नारीहरुले हाँस्नु हुँदैन, हाँस्ने नारीहरु वेश्या नहुन् तर तिनले काम चाहिँ नास्छन् भन्ने कवितात्मक अभिव्यक्ति प्रकट गरे । यसलाई समग्रतामा हेर्ने र विश्लेषण गर्ने भन्दा भानुका कवितामा उल्लेख वेश्या समातेर निरपेक्ष कोकोहोलो गर्ने चाहिँ खाँटी प्रगतिवादी रे । भानुले आफ्ना मित्र तारापतिका घरमा भएको सासूबुहारीको झगडालाई आधार बधु शिक्षा लेखेका हुन् ।

वास्तवमा त्यस बेलादेखि अहिलेसम्म पनि नारीविरुद्ध नारी नै लागिपरेको देखिन्छ । भानुले सासुबुहारीका बीच समझदारीपूर्ण सम्बन्ध कायम होस् भनेर बधु शिक्षा लेखेको स्पष्ट हुन्छ । अहिलेका आफूलाई क्रान्तिकारी प्रंगतिशील भन्ने केहीले अहिले र आजका दिनमा पनि छोरीचेलीलाई जात,भात,नाक र नश्लको चौघेरा वा चार दिवारीमा कैद गरिरहेको सरम लाग्दो दृश्य देख्नु परेको छ ।

भविष्यका खातिर लाग्नेहरु जुगजुग सम्म बाँच्ने काम गर्छन् तर भातका पछि हत्तेहालेर लागि पर्नेहरु आजीवन अमुक पदमा पटकपटक विराजमान हुन हर्दम चाकडी बजाउँछन् । शिरदेखि तिरसम्म कार्यकर्ता र नेता हुन आतुर मौसमी प्रगतिशील लेखक र समालोचकले भानुका बारेमा निरपेक्ष आलोचना गर्न सुहाउँदैन । भानुको आदि कवित्वको लाक्षणिक अर्थ अझै नबुझ्नेहरुका बेवारिसे गनगनको कुनै तुक छैन । कम्तीमा प्रगतिशीलहरुले धारे हात लगाउने सत्ता र सरकारले सिर्जना र स्रष्टा सम्मानका खातिर मान, सम्मान र पदवी दिएको देखिन्छ तर प्रगतिशील सत्ता र सरकारले आजसम्म खै के दिएको छ ? जनकवि गोकुल जोशीले भोकभोकै मर्न लागे कवि कलाकार भनेझैँ अवस्था कतिपय लेखकको होला ।

कम्तिमा ती पश्चगामी भनिने सत्ता र सरकारले भानुलाई आदि कवि,माधव घिमिरेलाई राष्ट्रकवि पदले सुशोभित गरेको देखियो । बरु राणा र राजा तथा सामन्तवादले सिर्जना र स्रष्टाको सकारात्मक नकारात्मक उच्च महत्व बुझेको देखियो । आफ्नो राज्यसत्ता विरुद्ध लाग्ने देखेर प्रगतिशील तथा लोकतान्त्रिक लेखन प्रतिवन्धित गर्नु भनेको पनि तिनले महत्व बुझ्नु नै हो । तर, कतिपय प्रगतिशील लाठे नेताहरु अग्रगमनका लागि कला साहित्य र संस्कृतिको महत्व कत्ति पनि बुझ्दैनन् ।

भानुभक्त आजका कथित प्रगतिशील जस्ता दुई नाउँमा दुई गोडा हालेर कहिल्यै हिँडेनन् तर केही कथित प्रगतिशीलहरु भने मृतआत्माको चिरशान्तिको कामना गर्न पनि भ्याउँछन् । केपी ओलीका अनुसार नेपालमा पोलिटिकल कम्युनिष्टहरु धेरै छन् अर्थात् यिनका आचार,विचार,आचरण र जीवनशैलीमा माक्र्सवादी मूल्य पाइँदैन । ओलीका अनुसार माक्र्सवादी दार्शनिक,चिन्तक तथा जीवन शैलीगत कम्युनिष्ट नेपालमा पाउन गाह्रो छ । भानु आध्यात्मिक तथा धार्मिक चिन्तनका प्रवल पक्षधर हुन् । उनी आत्मवत् सर्व भूतेषु अर्थात् सबै प्राणीहरुलाई वा वनस्पति सम्मलाई पनि आफ्नू आत्मा सरह मान र तदनुसार व्यवहार गर भन्ने उच्च उदात्त मानवोपयोगी धर्म र संस्कृतिका अनुयायी हुन् । अनि समस्त ओमकार परिवारलाई समेट्ने वैदिक सनातन धर्मका पक्षधर भानुलाई सरापको समुद्र बर्साएर गाउँ गाउँमा चर्च कति चाहिन्छ खर्च भन्ने अतिवादी र अन्धवादी संस्कृतिको परोक्ष पक्षपोषण गरेको बुझ्न सकिन्छ ।

पहिलेभन्दा अलि केही सरम राखी भानुप्रति नरम व्यवहार गरे पनि तिनले जातिवादी अतिसंकीर्ण चिन्तनलाई त्याग्न सकेका छैनन् । शत्रु खोज्न बाहिर जानु पर्दैन भनेझैँ नेपाल र नेपालीका शिर र शीर्ष व्यक्तित्वलाई गुमनाम, दुर्नाम र बदनाम गर्नेहरु घर भित्रै देखिन्छन् ।

नेपालको प्रदेश नं.२ मा मैथिली,भोजपुरी आदि बहुप्रचलित राष्ट्रिय भाषाको चरम उपेक्षा गरेको कुरा आलोचनात्मक लेखनको विषय बन्दैन । ह्रस्व र दीर्घका नेपाली पण्डितहरु एक आपसमा वर्ण विन्यासका अतिसामान्य विषयमा औचित्यहीन अभद्र सडक क्षुद्र संवाद गर्नेहरु गर्छन् तर नेपालीलाई खस भाषा भन्दा मुसुक्क हास्छन्,मौन बस्छन् ।

नेपालको भाषिक इतिहासमा संस्कृत,पालि,मैथिली आदि भाषाहरु त्यस बेलाका राजकीय भाषा हुँदाहुँदै पनि किन ती भाषा राज्य संरक्षित हुँदा पनि लोकप्रिय हुन सकेकनन् र फैलिन र विस्तारित हुन सकेनन् । किनभने उचालेको कुकरले मृग मार्दैन ।

पृथ्वीनारायण शाहको अगुवाइमा एकीकृत स्वाधीन, अखण्ड र स्वतन्त्र मुलुकको नागरिक हुन पाएकामा गर्व गर्न छाडेर केही मानव उल्टो यही पावन भूमिमा उभ्भिएर आकाशतिर थुक्छन् । अनि सिके राउतको परोक्ष समर्थन गर्छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले यही असार ८ उपराष्ट्रपति भवनमा आयोजित एक साहित्यिक सभामा नेपाली भाषालाई परोक्ष रुपमा उपेक्षा गर्ने कुरामा दृढ असहमति जाहेर गर्नु भएको थियो । इटहरीमा आयोजित नेवा भोजको कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठले जातीय अतिसंकीर्ण भावना राखेर नेपाली भाषाको हुर्मत नलिन आग्रह गरेका थिए ।

भारतीय राजनीतिज्ञ कन्हैयालाल माणिकलाल मुन्सीले भानुभक्तले भाषा र साहित्यका माध्यमले नेपालको अनुपम सेवा गरे भनेका छन् । नेकपाका संस्थापक महासचिव तथा अन्वेषक पुष्पलालले र प्रसिद्ध प्रगतिशील कवि हृदयचन्द्र सिंह प्रधानले भानुभक्त आचार्यका भाषिक तथा साहित्यिक योगदानको सह्राहना गरेका छ्न् ।

प्रधानले त पृथिवी नारायण शाहलाई नेपाललाई बनाउने र एकता स्थापित गर्नखोज्ने महान् सपूत मानेका छन् भने प्रधानले शाहको सपना पूरा हुनमा सबभन्दा सहायक आदि कवि भानुभक्त हुन गएको बताएका छन् । प्रधानले रामायणका कारण साम्प्रदायिक द्वेष हटाई मानवताको नातामा अबद्ध गराउन भानुको योगदानको चर्चा प्रधानले गरेका छन् । त्यसैले आजको नेपालको प्रगतिशील लेखन भनेको सबै खालका सङ्कीर्णताबाट उठ्नु हो । सबैखालका असमानता र भेदभाव विरुद्ध सिर्जनात्मक रुपमा जुट्नु हो ।

आजको प्रगतिशीलता नेपाली एकता,सद्भाव सहितको समृद्धिमा एक जुट हुनु हो । नेपाल र नेपालीलाई भौतिक तथा बौद्धिक रुपमा समृद्ध बनाउने अभिप्रायका सबै सबै सकारलाई स्वीकार गर्दै समृद्धिको यात्रामा समाहित हुनु हो । त्यसका लागि भानुभक्त भाषा र साहित्यका जग हुन् । यही जगमा निर्मित भाषा,कला र साहित्यको भवन र तलाको समृद्धतातिर लम्कनु हो । यसैले देवकोटाले भानुलाई शुक्रतारा र प्रथम ध्वनि भनेका हुन् । भानुलाई प्रगतिवादी कवि हुन् भनेर यो लेखक दावा गर्दैन तर उनले भाषा, साहित्य र संस्कृतिका सेवाका खातिर गरेका कामहरु प्रगतिशील होइनन् र ? निषेधको निषेधअनुसार पनि हेर्दा कसो पर्ला ?

(लेखक हिमवत् खण्ड कला साहित्य सम्मिलनका सहसंयोजक हुन् ।)

२०७५ असार २५ गते ९:३४ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ असार २५ गते १३:४५

    Creative Writing भनेको नै प्रगतिशील विचार नभै न आउने कुरा हो। माहान जननेता मदन भण्डारीले भूमिगत कालमा प्रगतिशील वा प्रगतिवादी सिर्जनाको बारेमा कसी लागाउनु भएको प्र्संङ्ग आयो यहा, कम्न्युस्टहरुको यही संकीर्ण ता ले देश, कला र साहित्य पछि पर्छ। केहो त्यो “प्रगतिशील वा प्रगतिवादी सिर्जना” भन्ने ? यो संसारमा को छ त्यस्तो पटमुर्ख लेखक जो “प्रगति” नाचाहोस , हामि सबै प्रगति उन्नति चाहँच्छौ भने सबै प्रगतिशील वा प्रगतिवादी सिर्जनाकार हौं , यदी कस्सैले “आत्मा हत्या गरु गरु लाग्यो मलाइ” “लागु औषधि खाऊ लाग्यो मलाइ” जस्तो आत्मा कुण्ठा भरिएका साहित्य लेख्यो भने त्यो चाहिँ होइन प्रगतिशील वा प्रगतिवादी सिर्जनाकार – तर कमन्युस्ट नेताहरुको गुणगान नगरिएको र गाँऊमा दुख गरेर १ मानो खान पूर्याउने सोशक सामन्ति भन्दै लाइ “काटछु र मार्छु र मास्छु ” भन्ने (तर सहरका खर्बपतिहरु चाही रास्ट्रिय पुंजीपति – लार्केल लामा, भाग्यलक्षि गोल्छा, सुमार्गी आदि जस्ता) नेलेखिए शृजनालाइ प्रगतिशील वा प्रगतिवादी सिर्जना न मान्ने हो भने यो कमन्युस्टहरुको हृस्रक सोच बाहेक केहि होइन

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this