२५ असार, काठमाडौं । विश्वकप क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई हराउँदा म्यान अफ दि म्याच बनेका गोलकिपर जोर्डन पिकफोर्ड अहिले विश्व फुटबलमा आशलाग्दा गोलकिपरमध्ये एक हुन् ।
इंग्ल्याण्डका पछिल्ला तीन प्रमुख प्रतियोगितामा गोलपोस्ट सम्हालेका जोय हार्ट विश्वकप टोलीमै नअटाउँदा प्रशिक्षक ग्यारथ साउथगेटले पिकफोर्डमाथि विश्वास देखाए । जुन उत्कृष्ट प्रमाणित पनि भइरहेको छ ।
पिकफोर्ड विश्वकपमा चम्किरहँदा हार्ट भने आˆनो पुरानो क्रिकेट क्लबमा फर्किएका छन् । ३१ वर्षका उनी विश्वकप टोलीमा नपर्दा निकै आश्चर्यचकित भएका थिए । ‘विश्वास गर्न कठिन’ रहेको भन्दै उनले आफू अझै सक्षम रहेको बताएका थिए ।
रसिया विश्वकपमा नपरेका कारण हार्ट आफ्नो बालक बेलाको घरेलु क्रिकेट क्लब स्रेएसबुरी फर्किएका हुन् । उनी सन् २००७ पछि क्रिकेटमा फर्किंदा उनका साथी खेलाडीहरु भने खुसी थिए ।
बर्मिङहम लिग पि्रमियर डिभिजन क्रिकेटमा हार्टको टिम स्रेएसबुरी विजयी हुँदा आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ६ रन बनाएका थिए । नोलीसँगको खेल ४७ रनले जित्दा उनले एक महत्वपूर्ण क्याच पनि लिए ।
नोली क्लबका क्रिस चेस्लिनले पनि हार्टसँगै खेल्न पाउँदा खुसी लागेको बताए । ‘उनी क्रिकेट मैदानमा फर्किएको हेर्न पाउँदा हामी खुसी छौं । हार्टले त्यसको जस परिवार र उनको क्लबलाई दिएका छन् । परिवार र साथीभाइकै बीच उनले क्रिकेटमा रमाइलो मानिरहेको हेर्दा हामीलाई पनि राम्रो लाग्यो’ उनले भने ।
१६ वर्षको उमेरमा क्रिकेटमा राम्रै गरिरहेका बेला हार्टले फुटबलको बाटो रोजेका थिए । क्रिकेटमै रहिरहेको भए पनि उनले राम्रै गर्ने विश्वास साथीहरु गर्छन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीमा रहेका उनी गएको दुई सिजन लोनमा बिताए । गएको सिजन वेस्टहाममा रहेका उनी त्यसको अघिल्लो वर्ष टोरिनोमा थिए ।
प्रतिक्रिया 4