Comments Add Comment

देशलाई जोड्न बेलायतमा ‘म अनि मातृभूमि’ वृहत अन्तरक्रिया

२६ असार, पोखरा । बेलायतको टिडवर्थसँग नेपालीहरुको लामै सम्बन्ध छ । सन् १९६२ मा नेपाली गोर्खाहरुको पहिलो टिडवर्थ यात्रा मानिन्छ । त्यसयता टिडवर्थमा नेपालीको मनमात्रै जोडिएको छैन् ।

विभिन्न कार्यक्रम र गतिविधिले नेपालीपन पनि जगाइरहेको छ । परदेशमा दुख गरेर घरदेशका लागि केही गर्न सकिन्छ भनेर हुने कार्यक्रममार्फत विभिन्न समयमा नेपालका विभिन्न ठाउँमा सहयोग पनि भइरहन्छ ।

बेलायती सेनादेखि विभिन्न पेशा, व्यवसाय गरिरहेका नेपालीलाई जोड्न र आफ्नो मातृभूमिप्रतिको प्रेम तथा आत्मियता झल्काउन त्यहाँ गतिविधि भइरहेका हुन्छन् । यसैक्रममा मातृभूमिप्रति बेलायतका नेपालीलाई जोड्ने गरी ‘म र मेरो मातृभूमि’ विषयक बृहद अन्तरक्रिया हुने भएको छ ।

‘म अनि मेरो मातृभूमि’ विषयक बृहत अन्तरक्रियाले जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटर नेपालीमय हुने भएको हो ।

बेलायतमा बस्नेहरुले नेपालप्रतिको माया कसरी झल्काइरहेका छन् ? अहिलेसम्म उनीहरुले कस्ता बेलामा के कति सहयोग गरे र अब के गर्न सक्छन् ? उनीहरुले नेपालको कुनकुन क्षेत्रमा लगानी गरेका छन् ? देशको आर्थिक, सामाजिक, पर्यटन, संस्कृति लगायतको क्षेत्रमा उनीहरुको योगदान कहाँनेर छ ? बेलायतमा बसेर उनीहरुले आˆनो धर्म, संस्कृतिको रक्षा कसरी गरिरहेका छन् ? लगायतका विषयमाथि कार्यक्रममा अन्तरक्रिया हुने छ ।

एनआरएन युकेको युथ डिपार्टले गर्न लागेको यो कार्यक्रमले म को हुँ र मैले मातृभूमिका लागि के गरिरहेको छु भन्ने कुराको प्रेरणा जगाउने कोसिस गर्ने कार्यक्रम संयोजक लालबहादु गुरुङ ‘एलबिजेट’ले जानकारी दिए । ‘बेलायतको टिडवर्थ फेरि एकपटक नेपालीमयमात्रै हुने छैन, नेपालप्रतिको चिन्ता, चासो र श्रद्धा जगाउने काम पनि गर्नेछ,’ कार्यक्रम संयोजक गुरुङले भने, ‘युवालक्षित कार्यक्रमले सबैभन्दा बढी युवालाई नै देश के हो भन्ने बुझाउने छ ।’

वृहद अन्तरक्रियामा नायक राजेश हमाल, एनआरएन अध्यक्ष भुवन भट्ट, राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् भने कार्यक्रमको सहजिकरण पत्रकार दिलभुषण पाठकले गर्ने छन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए । देश समृद्धिका लागि प्रवासका नेपाली र युवाको विशेष भूमिका बारे कार्यक्रममा मन्थन हुनेछ ।

बेलायतमा मात्रै होइन एनआरएनए युकेको इतिहासमै पृथक र फरक स्वादको कार्यक्रम हुन लागेको महासचिव आर के त्रिपाठी बताउँछन् । ‘यो नितान्त नयाँ र फरक स्वादको कार्यक्रम हो । यसले देशलाई बुझ्न, महसुस गर्न र युवाको छातिभरि देश भर्न सहयोग गर्नेछ,’ महासचिव त्रिपाठीले भने । कार्यक्रमको सञ्चालन पूर्व मिस यूके नेपाल गौमाया गुरुङले गर्ने छिन् ।

कार्यक्रममा योगकुमार फगामी, जीवा लामिछाने, कुमार पन्त र कुल आचार्यसमेत सहभागी हुने छन् ।

एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु महन्त श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्ऽ कंडेल र मुछेत्र गुरुङ लगायतको सहभागितामा हुने कार्यक्रमले गÞैरआवासीय नेपालीलाई जोड्न पुलको काम गर्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment