२७ असार, बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो ।
पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताए ।
मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो ।
यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया

प्रतिक्रिया 4