Comments Add Comment

खेलअघि इंग्ल्याण्ड बलियो, खेलपछि क्रोएसिया

२८ असार, काठमाडौं । विश्वकप सुरु हुनुअघि क्रोएसियालाई कसैले धेरै पर सोचेका थिए भने त्यो क्वार्टरफाइनलसम्म थियो । सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएर क्रोएसियाले आफूलाई कमजोर आँक्नेलाई गतिलो जवाफ दिएको छ ।

इंग्ल्याण्डविरुद्धको खेलमा ६८ औं मिनेटमा बराबरी गोल गरेका पेरेसिकले पनि कसैले नसोचेको ठूलो उपलब्धी आफूहरुले पाएको बताएका छन् । ‘यो व्याख्या गर्नै सकिदैन । सानो क्रोएसिया विश्वकपको फाइनलसम्म, यो सबै खेलाडी र समर्थकका लागि ठूलो खुसीको अवसर हो’ उनले भने ।

रसिया विश्वकपका हरेक खेलमा क्रोएसियाले आˆनो प्रभाव देखाउँदै आयो । उत्कृष्ट मिडफिल्डसँगै राम्रो फिनिसिङ देखिएको क्रोएसियन टिमले विश्व फुटबलकै आयाममा विशेष प्रभाव पारेको छ । जर्मनी, अर्जेन्टिना, स्पेन, ब्राजिल जस्ता आश गरिएका टिमहरु निराश भएका बेला क्रोएसिया एकपछि अर्को जितको खुसी मनाउँदै छ ।

क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वाटरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो ।

झण्डै ४२ लाख जनसंख्या रहेको क्रोएसिया युगोस्लाभियाबाट स्वतन्त्र भएको सन् १९९१ मा हो । त्यसपछि पहिलोपटक १९९८ को विश्वकपमा सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया यसपटक नयाँ उचाइमा छ । २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको भए पनि त्यो बेला क्रोएसिया समूह चरणबाट माथि जान सकेको थिएन ।

मध्य तथा दक्षिण पूर्वी युरोपको बीचभागमा एडि्रयाटिक सागरको नजिक रहेको क्रोएसियालाई विश्वकप फाइनलसम्म ल्याउन लुका मोडरिक, मारियो मान्जुकिज, इभान पेरिसिकसहितका खेलाडीको भूमिका ठूलो छ । राजनीतिक अस्थिरता र हिंसात्मक संघर्ष लामो समय भोगेको क्रोएसियाले फुटबलमा ठूलो सफलता पाइरहेको छ ।

‘यो विश्वकपमा हामी संयमित भएर खेलिरहेका छौं । तीन खेलमा त हामी १-० ले पछि परेको अवस्थाबाट बाहिरिएर जित निकाल्न सफल भयौं । हामी फाइनलमा पनि उसैगरी प्रस्तुत हुने छौं’ क्रोएसियाका प्रशिक्षक जाल्ट्को डेलिकले भने ।

कठिन समूहमा परेर पनि क्रोएसियाले जस्तो खेल देखायो त्यसको तारिफ अहिले धेरैले गरिरहेका छन् ।

प्रशिक्षक जाल्ट्को डेलिकले जस्तो काम गरिरहेका छन् त्यसले क्रोएसियन फुटबलमा नयाँपन देखिएको छ । यसमा पनि प्रमुख जितको आधार त मिडफिल्डबाट नै बनेको छ ।

अहिले विश्व फुटबलमै उत्कृष्ट रहेका इभान र्‍याकिटिक र लुका मोडरिकले मिडफिल्डबाट क्रोएसियन टिमको अग्रता बनाएका छन् ।

डफिल्डसँगै अट्याकिङ लाइन पनि रचनात्मक, संगठित र संरचित देखिएको छ । फाइनलसम्म पुग्दा मोडरिक र र्‍याकिटिक मात्रै होइन हरेक खेलाडी उम्दा देखिएका छन् । सबैले राम्रो तालमेल मिलाइरहेका छन् ।

‘हामीले खेलमा मानसिक रुपमा पनि इंग्ल्याण्डमाथि दबाब बनाएका थियौं । खेलअघि उनीहरुले हामीलाई कमजोर सोचेका थिए, खेलपछि को कस्तो भन्ने प्रस्ट भएको छ’ इंग्ल्याण्डसँगको जितपछि मोडरिकले भनेका छन् ।

‘हामीले खेलमा अतिरिक्त समय अघि नै जित्न सक्छौं भन्ने थियो । जे होस्, अतिरिक्त समयमा गए पनि हामी सम्हालिएर खेलिरहृयौं र जित्यौं । अहिले क्रोएसियन फुटबलमा नयाँ इतिहास बनेको छ । यसमा हामीलाई गर्व लागेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment