Comments Add Comment

दुवै हात गुमाए नारायणले

२९ असार, डोटी । विद्युत प्राधिकरणको स्पेर पोल निकाल्ने क्रममा गम्भीर घाइते भएका आदर्श गाउँपालिका १ चासीका नारायण खड्का अव आफ्नो हातले पोल छुन सक्ने छैनन् । पोल मात्रै हैन अब उनी खानासमेत अरुको सहाराले मात्रै खान सक्नेछन् ।

असार १९ गते बिद्युत प्राधिकरणले रिलोकेसन गर्दा खाली रहेको पोल अर्को ठाउँमा प्रयोग गर्ने गरी झिक्ने क्रममा पोल ढल्न गइ हाइटेन्सन लाईनमा छोईदा करेण्ट लागेर गम्भीर घाईते भएका नारायणले दुवै हात गुमाउनु पर्‍यो । घटनापछि तत्काल दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याइएका खड्कालाई थप उपचारका लागि काठमाण्डौं लगिएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचाररत खड्काका दुवै हात जोगाउन चिकित्सकहरुले अथक प्रयास गरेपनि सफल हुन नसकेर अन्ततः दुवै हात काट्नु परेको नारायणका दाइ नाता पर्ने योगेन्द्र खड्काले जानकारी दिए । ‘पहिले हातको अप्रेसन भयो तर सम्वभ भएन’ नारायणको उपचारका लागि अस्पतालमा रहेका योगेन्द्रले भने, ‘अभागी रहेछ भाइ, दुवै हात गुमायो ।’

दुई वर्ष मलेसियाको बसाइका क्रममा सन्चो नभएपछि गत जेठ १ गते मात्रै घर आएका नारायणले अब फेरि मलेसिया जाने रहर गर्न पनि नसक्ने भएका छन् ।

उनलाई अव दैनिक जीवन चलाउन पनि अर्काको सहरा लिनु पर्ने भयो । ‘घरमा आमा एक्लै हुनुहुन्छ, बुवा पनि लामो समयसम्म थला परेर बित्नु भएको हो’ स्थानीय दिपकवहादुर खड्काले भने, ‘पुरै परिवारको जिम्मा उसैको थियो, अव के गर्नु ।’ उमेरले २७ वर्षमा टेकेका नारायणका दुई वर्षीय एक छोरा छन् ।

चिकित्सकले श्रीमान्का दुवै हात काटिदिएपछि छोरासहित काठमाडौं पुगेकी नारायणकी श्रीमती छिन्छिन्मा मुर्छित हुँदैछिन् ।

नारायणको आइतवार ढाडको अप्रेसन हुने योगन्द्रले जानकारी दिएका छन् । ‘आजै -शुक्रवार) अप्रेसन गर्ने कुरा भएको थियो तर भाइको शरीरमा रगतको मात्रा कम भएका कारण आज हुन सकेन,’ योगेन्द्रले भने, ‘अब आइतबार गर्ने कुरा भएको छ ।’ हालसम्म करिव तीन लाख रुपैयाँ खर्च भइसकेको बताउँदै योगेन्द्रले भने , ‘अहिलेसम्म आफन्तहरुसँग सहयोग मागिरहेका छौं, अव के हुन्छ थाह छैन ।’ उनी ढाडको अप्रेसनवाट भाइलाई थप पीडा पो हुन्छ कि भन्ने चिन्ता व्यक्त गर्दछन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भइरहेकाले सहयोग गरिदिन हुन स्थानीय दिपक खड्का आग्रह गर्छन् । उनी भन्छन् ‘गरीबी कारण बिदेश गएको थियो, उता पैसा कमाउनको सट्टा बिरामी भएर आयो, यता झन यस्तो घटना भयो, अव कसरी जीवन धान्ला ।’

उक्त दुःखद् घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नारायण घाइते भएका थिए । मृत्यु हुनेमा आदर्श गाउँपालिका-१ का ३२ वर्षीय जय खड्का, २४ वर्षीय हर्क खड्का, २३ वर्षीय दीपक खड्का र वीरेन्द्र वहादुर खड्का रहेका थिए ।

घटनापछि असार २० गते जिल्ला प्रशासन कार्यालय, डोटीमा स्थानीय प्रशासन, बिद्युत प्राधिकरणका प्रतिनिधि र पीडितका आफन्तबीच मृतकका परिवारलाई प्राधिकरणले जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारबाट एक जनालाई रोजगारी दिने र घाईतेको उपचार गराउने सहमति भएको थियो ।

सहमतिअनुसार प्राधिकरणले प्रक्रिया अगाडि वढाएको भएपनि सहयोग पाउने नपाउने अझै कुनै टुङ्गो नभएको दिपक खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment