Comments Add Comment

विश्वकप फाइनल खेलाउने रेफ्री अर्जेन्टिनाका


२९ असार, काठमाडौं । फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिनाका नेस्टोर पिटानाले खेलाउने भएका छन् । आइतबार राति पौने ९ बजे हुने विश्वकप फाइनल खेल मस्कोको लुजिन्की रंगशालामा हुनेछ ।

रसिया विश्वकपमै यसअघि चार खेल खेलाइसकेका उनलाई लायन्सम्यानमा अर्जेन्टिनाकै हर्नान मेडाना र जुआन पाब्लो बेलाटीले सघाउने छन् ।

शारीरिक शिक्षाका शिक्षकसमेत रहेका ४३ वर्षका पिटानाले विश्वकपको उद्घाटन खेल पनि खेलाएका थिए । रसिया र साउदी अरेबियाबीचको पहिलो खेलसँगै उनले मेक्सिको र स्वीडेन, अन्तिम १६ मा क्रोएसिया र डेनमार्क साथै क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीचको खेल पनि खेलाएका थिए ।

पिटाना सन् २०१० देखि फिफा अन्तर्राष्ट्रिय रेफ्री बनेका हुन् । उनी दुई विश्वकपमा खेल खेलाउने अर्जेन्टिनाका दोस्रा रेफ्री पनि हुन् । उनी अघि अर्जेन्टिनाका नोर्बटो कोइरेजाले पनि दुई विश्वकपमा खेल खेलाएका थिए । कोइरेजाले १९७० र १९७८ को विश्वकप खेलाएका थिए भने पिटानाले यसअघि २०१४ को विश्वकप पनि खेलाएका थिए ।

युवा उमेरमा हुँदा फुटबल खेलेको अनुभवसमेत रहेका पिटानालाई फिफाकै अनुभवी रेफ्रीका रुपमा चिनिन्छ ।

सन् २०१३ को १७ वर्षमुनिको विश्वकपमा उनले गरेको कामपछि २०१४ को ब्राजिल विश्वकपका लागि पनि उनलाई बोलाइएको थियो । ब्राजिल विश्वकपमा पनि उनले चार खेल खेलाएका थिए । उनीसँग सुपरकोपा अर्जेन्टिना र कोपा अमेरिकामा पनि रेफ्री बनेको अनुभव छ ।

पिटानाले २०१६ मा ब्राजिलमै भएको अेालम्पिक फुटबलमा पनि रेफ्रीका रुपमा काम गरेका थिए । यसैगरी २०१७ को कन्फेडेरेसन कपमा जर्मनी र मेक्सिकोबीचको सेमिफाइनल खेलमा पनि उनले रेफ्री बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment