Comments Add Comment

उपत्यकाका प्रहरी अधिकारीलाई आईजीपीको निर्देशन: कुरा धेरै भए, अब काम गरौं

'राम्रो कामबाट उत्पन्न हुने अफ्ठ्याराहरुमा जिम्मेवारी लिन्छु'

फाइल फोटो

२ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध अनुसन्धान महाशाखा, ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले परिणाममुखी काम चाहिएको बताए ।

‘तपाईंहरु व्यवसायिकताभित्र रमाउनुस् । जसले राम्रो काम गर्छ, त्यो संगठनको मान्छे हो’, खनालले भने, ‘जसले गलत कार्य गर्छ, त्यो संगठनको सदस्य हुनै सक्दैन ।’

उनले संगठनमा वृत्ति, विकासको अवसर पनि काम गर्ने र क्षमता भएको व्यक्तिले पाउने दाबी गरे ।

‘अब क्यूमा बसेर वृत्ति, विकास भइहाल्छ भनेर ढुक्क हुने दिन गए’, खनालले थपे, ‘वृत्ति विकासका लागि क्षमता देखाउनुस् । व्यवसायिक हुनस्।’

आफू संगठनको दीर्घकालीन विकासको लागि लडिरहेको उनको टिप्पणी थियो । ‘तपार्इँहरुले पनि आ–आफ्नो ठाउँबाट मलाई मद्दत गर्नुस्’, उनले भने, ‘गरेको कामको नतिजा आउन केही समय लाग्छ । तर, नतिजा आइसकेपछि सबैले विश्वास र प्रशंसा गर्छन् ।’

‘अहिलेको उपत्यकाको पुलिसिङको चर्चा भइरहेको छ । तर, यति मात्रै मेरो अपेक्षा होइन’, उनले भने । खनालले पूर्ण व्यसायिकताका साथ इमान्दार भएर आफ्नो कर्तव्य पालनामा उत्रिन प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

‘अहिले संगठनको मुख्य पहिचान भनेको उपत्यकाको प्रहरी निकायहरु हुन्’, उनले भने, ‘यहाँ आउने सबै अधिकृत संगठनका व्यवसायिक र अब्बल क्षमताका भएको भनेर ल्याइएको छ । त्यसैले यो कुरालाई ध्यान राखेर सोही अनुरुपको सर्भिस डेलिभरी, कार्यालय व्यवस्थापन, पब्लिक रिलेसन, अपराध अनुसन्धान र नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्नुस् ।’

उनले संगठनका अधिकारीहरुको राम्रो कामबाट उत्पन्न हुने अफ्ठ्याराहरुमा आफूले जिम्मेवारी लिने बताउँदै अगाडि बढेपछि खुट्टा कमाएर पछाडि नफर्कन पनि सचेत गराए ।

आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यभित्र रहने काममा विचलित हुनु जरुरी नभएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment