Comments Add Comment

जुम्लाको ट्रेजेडीः कर्णालीबासीलाई अश्रुग्यासको उपहार

समाचार टिप्पणी

३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर र दयनीय बन्दै गइरहेको थियो । डा. केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याउन जरुरी थियो । सरकारले उनलाई काठमाडौं ल्याउन जुन पहल गर्‍यो, त्यो आवश्यक कदम थियो ।

डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर लिएर सरकारी अधिकारीहरु विहीबार जुम्लामा पुगे । तर, डा. केसीलाई राजधानी ल्याउनका लागि सरकारले जसरी अधिक बल प्रयोग गर्ने काम गर्‍यो, त्यो प्रक्रिया भने अलोकतान्त्रिक एवं अनुचित भएको भन्दै धेरैतिरबाट सरकारको आलोचना भएको छ ।

कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा डा. केसीको पक्षमा जुम्लाबासीहरुले जुन प्रदर्शन गरे, त्यो कर्णालीबासीहरुको भावनात्मक पक्षसित जोडिएको विषय हो । सरकारविरुद्ध विरलैमात्र आन्दोलित हुने कर्णालीका जनतालाई सम्झाई बुझाई गरेर सरकारले डा. केसीलाई काठमाडौं ल्याउन सक्थ्यो र त्यसो गरिएको भए त्यो लोकतान्त्रिक एवं जनपक्षीय तरिका हुने थियो ।

तर, केपी ओली नेतृत्वको सरकारले जुम्लाबासीको इतिहासमा एउटा टे्रजेडीको रचना गरेको छ । न्ययाको माग गर्ने जुम्लाबासीहरुलाई सरकारले अस्पतालभित्रै प्रवेश गरेर लाठी र अश्रुग्यासको उपहार दिएको छ ।

अस्पतालमा करिब ७ घण्टाको तनावपछि प्रहरीको मृत्यु भएको झूठो माइकिङ गरेर डा. केसीमाथि सरकारले इमोसनल ब्ल्याकमेलिङ गर्‍यो र काठमाडौं लिएर आयो ।

प्रहरीले अस्पतालभित्रै प्रवेश गरेर आन्दोलनकारीमाथि जाइलागेपछि भएको झडपमा तीन प्रहरीसहित करिब ३५ जना घाइते भए । चिकित्सक र विद्यार्थीहरुसमेत घाइते बनेपछि डा. केसीले काठमाडौं आउन तयार रहेको बताएका थिए ।

यदि सरकारले संयम अपनाएको भए र छलफलको माध्यमबाट अघि बढ्न चाहेको भए यति धेरै बल प्रयोग गर्नुपर्ने थिएन र जुम्लाबासीहरुको मनमा चोट पुग्ने थिएन । तर, सरकारले जुन बल प्रयोगको तरिका अपनायो यसले जुम्लाबासीहरु पक्कै पनि सरकारसँग खुशी देखएकिा छैनन् ।

अस्पतालजस्तो सम्वेदनशील ठाउँमा जसरी प्रहरीले तोडफोड र बल प्रयोग गरेको छ, यो कुनै पनि तर्कका आधारमा सही सिद्ध हुन सक्दैन ।

जुम्लामा बिहान पौने १० बजेतिर हेलिकोप्टर अवतरण भएको थियो । त्यसपछि करिब ७ घण्टासम्म चिकित्सक, विद्यार्थी र नागरिक अगुवाहरुले प्रहरीलाई अस्पतालभित्र छिर्न दिएनन् । उनीहरुले चेन गेट लगाएर डा. गोविन्द केसीलाई प्रहरीबाट जोगाएका थिए । विहान ११ बजेतिर भएको झडपमा प्रहरीको बल प्रयोगबाट १० जना सर्वसाधारण घाइते भएका थिए ।

प्रहरीले बल प्रयोग गर्ने क्रममा अस्पतालको ढोका तोडफोड भयो भने बिरामी सुत्ने बेडहरुसमेत भाँचिए । फलामे ढोका, कुर्सी र सिसाहरु समेत तोडफोड भए । करिब आधा घण्टा भएको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा बिरामीलाई समेत असर गर्‍यो ।

जुम्लाबासीले सरकारविरुद्ध अस्पतालको गेटमा समेत प्रदर्शन गरेका थिए । सडकमा ढुंगा तेस्र्याएर टायर बालिएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री, कानूनमन्त्री र केन्द्रबाट गएर सरकारी वार्ता टोलीका सदस्यहरुले डा. केसीलाई उठाएर लगेपछि जुम्लाको स्थिति त सामान्य भएको छ, तर सरकारको व्यवहारले जुम्लाबासीको मनमा उठेको तरंग अझै केही समय साम्य हुने देखिँदैन ।

सरकारले जुम्लाबासीहरुमाथि जतिबेला अत्ण्यधिक बल प्रयोग गरे अस्पतालमै अश्रुग्यास प्रहार गरिरहेको थियो, त्यहीबेला विहीकार प्रधानमन्त्री केपी शर्मा ओली गण्डकी प्रदेशको प्रदेशसभालाई सम्वोधन गर्दैथिए । प्रधानमन्त्री ओलीले भाषणमा आफूले नेतृत्व गरेका बेला लोकतन्त्र समाप्त हुन्छ भन्ने आरोप सही नभएको बताइरहेका थिए ।

कर्णालीबासीलाई अस्पतालभित्रै अश्रुग्यासको उपहार दिएको ओली सरकारले पोखराबासीलाई भने रेलबाट मिनरल वाटर निर्यात गर्ने आश्वास दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment