+
+

एनोरगाज्मीयाः महिलामा हुने यौन समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ५ गते १०:०७

करुणा दिदी,

तपाईंले धेरैका समस्याको उपाय दिँदै आउनुभएको हुँदा मेरो समस्याको पनि उपाय बताइदिनुहोला भन्ने आशा गरेकी छु । म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो ।

श्रीमानसँगकै सल्लाहअनुसार हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौँ । यौन सम्पर्कको कुरामा मेरो गुनासो रहीआएको छ । मलाई यौनसन्तुष्टि पाउन नसकेको अनुभूति हुन्छ र श्रीमानले पनि सन्तुष्टि प्राप्त नगरेको हो कि जस्तो लाग्छ । यस्तै अवस्था रह्यो भने भविष्यमा के होला, कतै श्रीमानले मन नपराउने पो हो कि भन्ने पीर लाग्छ ।

कहिलेकाहीँ मैले नै श्रीमानलाई असन्तुष्ट बनाइराखेको त छैन भन्ने पनि लाग्छ । तपाईकै लेखहरूमा पढेअनुसार यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने थाहा भयो तर यो विषयमा श्रीमानसँग कुरा गर्दा उहाँले वास्ता गर्नुहुन्न । यसरी सन्तुष्टि नहुँदा हामी दुवैजनालाई यौन सम्पर्कपछि दुःखाइको अनुभव हुन्छ र निकै दिनसम्म यौन सम्बन्ध राख्दैनौँ । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै हल छ ?

जवाफः महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मीया भनिन्छ

तपाईंको जस्तो समस्या लिएर मकहाँ आउने थुप्रै महिलाहरू छन् । कतिपय महिलाहरूमा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुनसक्छ भने कतिपय महिलाहरूले जीवनभरि नै चरम सन्तुष्टिको अवस्था प्राप्त गर्न नसकेको गुनासो पनि गर्ने गरेका छन् ।

अनुसन्धानका अनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीँ चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । जो महिला आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीँ मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन्, उनीहरूले मनोविद् वा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू लुकेका हुन्छन् । तिनको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्ने हुन्छ ।

अब यो समस्या के हो भन्ने छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मीया भनिन्छ । एनोरगाज्मीयाको बारे थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण हुन सक्छन् । जैविक कारणमा जीर्ण रोग जसले नसामा असर गरेको हुन्छ वा कुनै रासायनिक वा औषधिको लामो समय सम्मको प्रयोगले पनि एनोरगाज्मीया हुनसक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डर जस्ता पक्षहरूको भूमिका हुन्छ ।

यौन हिंसा भएको इतिहास छ भने पनि एनोरगाज्मीया हुन सक्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एकअर्काबीच झगडा भइरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौनेच्छालाई प्रकट गर्न नहुने मान्यता पाइन्छ । त्यस्तो अवस्थामा पनि एनोरगाज्मीया हुने सम्भावना रहन्छ । चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण भएको हुनसक्छ ।

हरेक महिलामा एनोरगाज्मीया हुने कारण एउटै हँुदैन । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउनु आवश्यक हुन्छ र जुन कारण होे त्यस अनुसार उपचार गराउनुपर्छ ।

यसको प्रचलित उपचार अन्तर्गत दम्पतिमा गरिने परामर्श र चिकित्सकीय उपचार पर्छन् । अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो विधि पहिल्याई त्यस्तो प्रयास गर्न पनि सल्लाह दिइन्छ । यसअन्तर्गत हस्थमैथुन पनि पर्दछ । हस्थमैथुन बिधि अपनाउने क्रममा यौन आनन्द महसुस प्राप्त भयो भने त्यसलाई सफल मानिन्छ ।

आफूलाई कुनै विधि ठीक लागेमा आफ्नो पार्टनरसँग भन्ने र त्यही विधि अनुसार यौनसम्पर्क राख्न सकिन्छ । एक अर्कासँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एकअर्कालाई सम्मान देखाउने जस्ता कुराको कमी हो भने पनि त्यस बारेमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र यसको पनि कारण खोजी गर्नुपर्ने हुन्छ ।

विभिन्न किसिमको औषधि उपचार भए पनि धेरैजसो महिलाहरू औषधीको सेवन प्रभावकारी नभएको बताउँछन् । कुनै पनि औषधि जादू होइन । विशेष गरेर मनोवैज्ञानिक वा सामाजिक कारण देखिएका समस्याको समाधान औषधिले गर्न सक्दैन । औषधिबाटै समाधानको प्रयास गरियो भने त्यसबाट समय र पैसाको नोक्सान मात्र भइरहन्छ ।

तपाईको कुरा अनुसार तपाई र तपाईको श्रीमानवीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईहरू आफैले पनि यौन सन्तुष्टिका लागि प्रयास गर्दै हुनुहन्छ । यद्यपि तपाईको प्रयासले अझै काम गरिरहेको छैन । तपाईको सम्बन्धलाई बिगार्नबाट बचाउन तपाईहरू दुवैले खुलेर एकअर्कासँग कुरा गर्ने र दम्पति परामर्श लिनु आवश्यक छ ।

लामो समयसम्म समस्या रहन दिँदा ग्लानी, हीनताबोध र दाम्पत्य समझदारीमा कमी आउन थाल्छ । तपाईहरूमध्ये एकजनाको कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो कि दुवैजनाको समस्याले हो पहिले त्यो कुरा लाई पत्ता लगाउने अनि आवश्यक परेमा विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?