+

पाचन क्षमता कमजोर भएका व्यक्तिले पोषण कसरी पाउने ?

२०८० असोज  १२ गते १८:१३ २०८० असोज १२ गते १८:१३
पाचन क्षमता कमजोर भएका व्यक्तिले पोषण कसरी पाउने ?

पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने स्वस्थ खानेकुरा खाए पनि पूर्णरुपमा पोषण मिलिरहेको हुँदैन । त्यसैले कहिलेकाहीं स्वस्थ खानेकुरा खाने व्यक्तिलाई पनि कुपोषण हुने सम्भावना हुन्छ ।

कहिलेकाहीं सन्तुलित खानेकुरा खाँदा पनि नपच्ने हुन्छ नि ?

अंग्रेजीमा एउटा भनाइ छ, वान डाइट डज नट सुट अल अर्थात् एउटै खालको खानपान सबैलाई पाच्य नहुन सक्छ । मतलब कसैलाई त्यही खाना पच्छ भने कसैलाई नपच्न सक्छ । उदाहरणको लागि कसैलाई रोटी खाँदा सजिलै पच्छ भने कसैलाई त्यही रोटीले ग्यास्ट्रिक हुने, पेट फुल्ने, मुखमा अमिलो पानी आउने हुन्छ । यसको मतलब उसले त्यो खाना पचाउन सकेन भन्ने बुझ्नुपर्छ । यसमा धेरै कुराले प्रभाव पारेको हुन्छ ।

यसमा खानेकुरा स्वयंको पनि भूमिका हुन्छ । जस्तो कसैले बच्चैदेखि रोटी खाएको छैन भने वयस्क भएपछि खाँदा सजिलै नपच्न सक्छ ।

तनावका बेला निस्किने इन्जाइमले पनि पाचन प्रक्रियामा असर पारिरहेको हुन्छ । अनिद्रा खाना नपच्ने अर्को कारण हो । यदि बेलुका निद्रा लाग्दैन, अबेर सुत्ने बानी छ भने पाचन प्रक्रिया कमजोर बनाउन सक्छ । किनकि निद्राले दिनभरिको थकान, तनावलाई पुन: ताजगी दिने काम गर्छ । तर निद्रा पुगेन भने त्यो ताजगी मिल्दैन र यसको असर पाचन प्रक्रियामा पनि पर्छ ।

शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन भएर अपच हुन सक्छ । त्यसैले सकेसम्म पानी कम्तीमा दिनको दुईदेखि तीन लिटर खानुपर्छ । यसले पाचन प्रक्रियालाई सन्तुलित राख्न मद्दत गर्छ । तर पर्याप्त पानी नपुगेमा पाचन प्रक्रियामा असर पार्छ ।

पाचन प्रणाली कमजोर भएको व्यक्तिले कसरी पोषक तत्व प्राप्त गर्ने ?

पाचन प्रणाली कमजोर भएको व्यक्तिले समयमा खाने, खाँदा खाना राम्रोसँग चपाएर खाने गर्नुपर्छ । जसले गर्दा खाना सजिलै पच्छ । त्यस्तै लामो समयसम्म पेटलाई खाली नराखी तीन-चार घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ । किनकि एकैचोटि धेरै खाँदा पचाउन गाह्रो हुन्छ । त्यसबाट पोषक तत्व सोस्न सक्दैन ।

खानेकुरा हुन्छ, जसले पाचन क्षमता बढाउँछ ?

पाचन क्षमता कमजोर भएका व्यक्तिले सजिलै पच्ने अर्थात् जाउलो, सुप, झोलिलो खानेकुरा दाल, प्रोबायोटिक खानेकुरा जस्तै दही र फाइबरयुक्त खानेकुरा खान सकिन्छ ।

त्यस्तै जंकफुडको सेवन कम गरेमा वा सेवन नै नगरेमा पाचन क्षमता बढ्छ, किनकि शरीरमा दुई प्रकारको ब्याक्टेरिया हुन्छ, राम्रो र नराम्रो । राम्रो ब्याक्टेरियाले खाना पचाउन र शरीरमा भिटामिन बी १२ उत्पादन गर्न मद्दत गर्छ । त्यस्तै जंकफुड खाँदा नराम्रो ब्याक्टेरिया वृद्धि हुन्छ, जसले पाचन प्रक्रियामा समस्या ल्याएर पाचन क्षमता कमजोर बनाएको हुन्छ ।

यतिले पनि भएन भने प्रोबायोटिकको क्याप्सुल पनि खान सकिन्छ । यसले पनि पाचन क्षमता बढाउँछ । तर व्यक्तिको समस्या अनुसार फरकफरक सप्लिमेन्ट दिनुपर्ने हुन्छ ।

(पोषणविद् सिंह काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

पाचन प्रणाली पोषण प्रणिती सिंह
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?