+

एउटा डाक्टरको आध्यात्मिक रूपान्तरण

२०८० असोज  ११ गते ९:३९ २०८० असोज ११ गते ९:३९
Shares
एउटा डाक्टरको आध्यात्मिक रूपान्तरण

आँखा खोल्दा दुनियाँदिवाना देखिन्छ ।

मान्छे र उसका महत्वकांक्षा देखिन्छ । पैसा र त्यसको भोक देखिन्छ । सुखसयल र त्यसको आसक्ति देखिन्छ । करियर र त्यसको प्रतिस्पर्धा देखिन्छ ।

अनि आँखा चिम्लंदा ?

आफैंलाई देखिन्छ । म को हुँ ? आफूभित्रको विराट स्वरुप खोज्न थालिन्छ ।

चिकित्सा विज्ञानको एउटा डाक्टरलाई कुन क्षण यस्तो बोध हुन्छ ? जब ऊ दुःखमा पर्छ । मनमा खडेरी पर्छ । जीवन उराठ लाग्न थाल्छ । अनि संसार खोत्रो र सारहीन लाग्न थाल्छ ।

आखिर उनी कसरी दुःखमा परे ? कसले उनलाई दुःखी बनायो ?

यो प्रश्नको उत्तर सुन्नुअघि हामी त्यहाँको परिवेशबारे बताउँछौं । टोखा रोडको आडमा एउटा भवन छ । प्रवेशद्वारमा लेखिएको छ– अमृतम् गमय: ।

केही तला उक्लिएपछि चिटिक्क परेको वातानुकूलित कोठामा प्रवेश गरिन्छ । कोठाको दायाँतिर ‘अमृतम् गमय:’ लेखिएको छ, जहाँ योग–साधना र आत्मिक संसारको विचरण गराइन्छ । बायाँतिर ‘आदि ईएनटी सेन्टर’ लेखिएको छ, जहाँ अत्याधुनिक उपकरणबाट स्थूल शरीरको शल्यक्रिया एवं उपचार हुन्छ ।

विज्ञान र अध्यात्मको संयोजन

हामी विज्ञानले सुसज्जित कक्षमा बसेर अध्यात्मका कुरा गरिरहेका छौं । सेतो एप्रोन पहिरिएका र गर्दनमा स्टेथोस्कोप झुन्ड्याएका प्रा.डा. दीपक रेग्मी ‘आँखा खोल्दाको’ स्थितिमा आफ्नो जीवन–भोगाइ कस्तो थियो भनी सुनाइरहेका छन् ।

‘त्यसबेला भएभरका सबैले मलाई दुःख दिएको जस्तै लाग्थ्यो । कसैले माया गर्दैनन्, सबैले खेदो खन्छन् यस्तै लाग्थ्यो’ उनी सम्झन्छन्, ‘करिब करिब म डिप्रेसनको स्थितिमा थिएँ ।’

जीवनमा त्यस्तो ठूलै आपत् त आइलागेको थिएन । डाक्टरी पेशा छँदै थियो । साथसाथै चिकित्सा शिक्षा पनि पढाइरहेकै थिए । १५ सय हाराहारी विद्यार्थीलाई डाक्टर बनाए । भौतिक सेवा–सुविधा अपुग थिएन । घर–गाडी छँदै थियो । ज्यानलाई सञ्चै थियो । रोगव्याधिले छोएको थिएन ।

‘तैपनि मलाई लाग्थ्यो’ उनी भन्दै गए, ‘म रित्तो छु, खोक्रो छु ।’ यही एउटा विशद सोचले निदहराम गरिदिएको थियो ।

चिकित्सा विज्ञानको ३५ वर्षे करियरमा उनले भौतिक शरीर मात्र पढे । घाउ, चोट, रोगको कारण, त्यसको निदान र उपचार पढे । तर, आज किन आफ्नै मन विमार छ ?

स्वस्थ शरीरको अनेक आयाम

चिकित्सा विज्ञान स्थूल शरीरको वरिपरि मात्र फन्को लगाइरह्यो । कसैको मुटु ठीक छ वा छैन, फोक्सोले कसरी काम गरिरहेको छ, मिर्गौलामा कुनै हानि त पुगेको छैन नि, पेट एवं कलेजोमा क्षति भएको छैन ।

एउटा रोगी शरीर औषधि र शल्यक्रियाले निको हुन्छ भनेर पढे । तर, उनको रोग त स्पर्श र स्नेहले पो चाडै बिसेक हुन्छ भनेर पढेनन् । ‘म डाक्टर भएँ, प्रोफेसर भएँ तर भावनात्मक स्वस्थ र आध्यात्मिक स्वास्थ्यको बारेमा एउटा पनि प्रश्नको हल गर्नुपरेन । अर्थात् यसबारे हामीसँग कुनै प्रश्न नै थिएन’ प्रा.डा. रेग्मी सुनाउँछन् ।

स्वस्थ्य हुनुको मापदण्ड के हो ? रोगव्याधिबाट मुक्त तन्दुरुस्त शरीर मात्र यसलाई नाप्ने इकाइ होइन रहेछ ।

विश्व स्वास्थ्य संगठनले यसलाई अरु आयामिक ढंगले परिभाषित गरेको रहेछ । उनी भन्छन्, ‘स्वस्थ हुनु भनेको शरीर निरोगी हुनु मात्र होइन । उसको मन पनि स्वस्थ हुनु हो, जसलाई मेन्टल हेल्थ भनिन्छ । उसको भाव पनि स्वस्थ हुनु हो, जसलाई इमोसनल हेल्थ भनिन्छ । उसको चेतना पनि स्वस्थ हुनु हो, जसलाई स्प्रिचुअल हेल्थ भनिन्छ । अर्थात आत्मिक स्वस्थ।’

शरीर रोगी हुनु वा नहुनुमा मन, भाव र चेतनाको मुख्य भूमिका हुन्छ । ‘यस विषयमा म आफैंले अध्ययन गरेको थिएँ’ उनी सुनाउँछन्, ‘मकहाँ जाँच गराउन आउने सय जना बिरामीमध्ये ४० जनालाई वास्तवमै ट्याबलेटबाट निको नहुने रहेछ ।’

उनी सुनाउँछन्, भनेको उनीहरुको समस्या कानबाट, घाँटीबाट, नाकबाट होइन मनबाट पैदा भएको छ । घाँटीको समस्या छ । तरपनि मनबाट आएको छ किन ? घाँटीमा समस्या भएर आउनेको त यति उन्नत प्रविधि छ, त्यसबाट पहिचान भइहाल्छ । सिटीस्क्यान छ, एमआरआई, इन्डोस्कोपी छ । सबै चिज छ । तर, उसको घाँटीमा अड्किएको चिज पत्ता लगाउन किन सक्दैन ? किनभने त्यो उसको मनबाट आएको छ । अनि यो कुरा पत्ता लगाउने डाक्टर पनि हामीसँग हुनुपर्यो नि ।

‘जति पनि शारीरिक रुपमा रोगका संकेतहरु देखिन्छन् ति सबै शरीरबाट आएका होइनन्’ उनी भन्छन्, ‘धेरै चिज मनबाट आएको छ । मनलाई परिचालित गर्ने चिज छ, भावना । भावनाको गुरु चेतना हो । जब हाम्रो स्वस्थ शरीरबाट उठेर मन, मनबाट भाव र भावबाट चेतनासम्म पुग्दैन तब हामी रोगी नै भइरहन्छौं ।’

आत्मिक स्वस्थ

स्वास्थ्यको आयामले स्थूल शरीरलाई मात्र समेट्ने होइन रहेछ । शरीर एउटा मामुली चिज रहेछ । त्यो शरीरलाई मनले चलाउने रहेछ । मनलाई भावनाले । र, भावनालाई चैतन्यले । जब उनी आफ्नै बिरामी मनको उपचार खोज्नतर्फ लागे, त्यही बिन्दुबाट फरक आलोकमा प्रवेश गरेको अनुभूत भयो ।

‘जर्नी टू इनर बडी’ उनी भन्दै गए, ‘मैले आँखा चिम्लिएँ र आफैभित्र प्रवेश गरें ।’ त्यसक्षण उनलाई के लाग्यो भने, यावत् दुःखको कारण अरु होइन रहेछ । उनलाई अरुले लखेटेको होइन रहेछ । खेदो खनेको होइन रहेछ । रिस, डाहा गरेको होइन रहेछ ।

बरु यो त आफ्नै मनको विकार रहेछ ।

मनमा यस्तो विकार कसरी पैदा भयो ? मनको तहमा पुगेर मन्थन गर्दा उनलाई लाग्यो यो दोष भावनाको हो । अर्थात भावको । मनलाई शुद्ध गर्न भाव चोखो हुनुपर्छ । उनी भावनाको तहमा पुगे र भावनालाई चलाउने अरु केही छ भन्ने बुझे । भावनालाई चैतन्यले नियन्त्रण गर्नेरहेछ । अनि चैतन्यको तहमा पुग्ने एउटै माध्यम रहेछ, अध्यात्म ।

‘त्यो भागदौड, घम्साघम्सी, दुखेसो, गुनासो, लोभ, ईर्ष्याबाट फुत्त उम्किएर मैले जीवन र आफ्नो चिकित्सा पेशालाई नयाँ ढंगबाट बुझ्नुपर्छ भन्ने लाग्यो’ उनी सुनाउँछन्, ‘अहिले आँखा खोल्दा मैले जे–जे देखिरहेको छु, त्यो दुनियाँ मात्र दुनियाँ होइन । यो सम्पूर्णतालाई बुझ्न त आँखा चिम्लिनुपर्छ भन्ने लाग्यो ।’

उनले आँखा चिम्लिंए र प्रश्न गरे, ‘म को हुँ ?’

यही प्रश्नले डोर्‍याउँदै उनलाई अध्यात्मको नजिक पुर्‍यायो ।

अध्यात्म : सम्पूर्ण स्वस्थताको स्रोत

अध्यात्म कुनै धर्म होइन । यो त आफैंलाई बुझ्ने एउटा विज्ञान हो । जसले आफैंभित्र प्रवेश गरेर आफूसँग भएको दिव्य शक्ति पहिल्याउने मेलो दिन्छ ।

उनी सुनाउँछन्, ‘यसले मनोविकारबाट मान्छेलाई मुक्त राख्छ । रिस, डर, घृणा, मोह, हिंसा बाँकी रहँदैन । बरु, प्रेम, करुणा र हार्दिकताले हराभरा हुन्छ ।’

जसले आफूमा आध्यात्मिक चेतनाको विकास गर्छ, उनी दुनियाँमा दोष र दुःख देख्दैनन् । दुनियाँमा गुनासो र गन्थन देख्दैनन् । दुनियाँमा दरिद्रता र दिक्दारी देख्दैनन् । यी सबैको स्रोत मन हो र मनलाई नै शुद्धीकरण गर्नुपर्छ भन्ने बोध गर्छन् ।

जब मन र भावना शुद्ध हुन्छ । चेतना जागृत हुन्छ । यसको प्रभाव उसको स्थूल शरीरमा पर्छ । आनन्दको भावमा स्थिर रहने एउटा मान्छे कहिल्यै रोगी हुँदैन ।

‘मान्छेको शरीर, मन, भावना र चेतना तन्दुरुत भएपछि नै ऊ सम्पूर्णमा स्वस्थ रहन्छन्’ सारमा उनी भन्छन्, ‘यसको सहज माध्यम हो–योग, ध्यान र प्राणायाम ।’

अध्यात्म
प्रा. डा. दीपक रेग्मी
लेखक
प्रा. डा. दीपक रेग्मी
वरिष्ठ नाक कान घाँटीरोग शल्यचिकित्सक  

मेडिकल काउन्सिल दर्ता नम्बर : ५५४४ एबीबीएस, एमएस ईएनटी अमृतम गमय आदि ईएनटी केयर, अन्नपूर्ण न्युरो अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अस्टियोपोरोसिस र रजोनिवृत्ति : यी ८ कुरामा ध्यान दिए बिग्रँदैन हड्डीको स्वास्थ्य

अस्टियोपोरोसिस र रजोनिवृत्ति : यी ८ कुरामा ध्यान दिए बिग्रँदैन हड्डीको स्वास्थ्य

धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?

धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?

बोनम्यारो प्रत्यारोपणका ५ वर्ष

बोनम्यारो प्रत्यारोपणका ५ वर्ष

२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

बारम्बार आँखा र मुख सुक्छ ? हुन सक्छ ‘स्याग्रेन्स सिन्ड्रोम’ को संकेत

बारम्बार आँखा र मुख सुक्छ ? हुन सक्छ ‘स्याग्रेन्स सिन्ड्रोम’ को संकेत

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम