Comments Add Comment

एक वर्षमा ६१ अर्ब वैदेशिक लगानी भित्रियो

लगानीमा भारत र परियोजना संख्यामा चीन अगाडि

६ साउन, काठमाडौं । केही समय अघिसम्म नेपालमा लगानी गर्न विदेशीहरु डराउँथे । जसका कारण अहिले पनि सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेका छन् ।

मुलुकमा राजनीतिक स्थिरता आएका कारण लगानी गर्ने वातावरण पनि राम्रै बनेको छ । जसका कारण विदेशी लगानीकर्ताहरु हौसिएका छन् ।

हालसम्म २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभाग वैदेशिक लगानी महाशाखा प्रमुख इञ्जिनियर खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

महाशाखा प्रमुख बस्नेतका अनुसार ४ हजार ४ सय ७५ वटा परियोजनाहरुका लागि २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो । पछिल्लो समय लगानी सुरक्षित हुने वातावण बने पछि विदेशीहरु नेपालमा लगानी गर्न हौसिएको उनी बताउँछन् ।

‘पहिलो सशस्त्र युद्ध र त्यसपछिको राजनीतिक अस्थिरताका कारणले पनि होला वैदेशिक लगानी निराशा जनक रहेको थियो’ महाशाखा प्रमुख बस्नेतले भने, ‘आर्थिक वर्ष ०७४/७५ मा भने लगानी बढेको छ, अब अर्को वर्ष अझै बढ्ने हाम्रो अनुमान छ ।’

एक वर्षमा भित्रियो ६१ अर्ब

आर्थिक वर्ष ०७४/७५ मा मात्रै ६१ अर्ब रुपैयाँ लगानीका लागि प्रतिवद्धता आएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिए ।

उनका अनुसार करिब ४ सय परियोजनामार्फत एक वर्षमा ६१ अर्ब ९ करोड ३६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय ९३ प्रतिशले वृद्धि भएको हो ।

अघिल्लो वर्ष २० अर्ब ८५ करोड २५ लाख ४ हजार रुपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको थियो । यस अवधिमा सबैभन्दा धेरै खनिज क्षेत्रको लगानीमा लगानीमा वृद्धि भएको छ । खनिज क्षेत्रमा ९ हजार ४ सय प्रतिशतले लगानी बढेको विभागका महाशाखा प्रमुख बस्नेतले जानकारी दिए ।

यस क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ८० लाख रुपैयाँ लगानी भित्रिएको छ । अघिल्लो वर्ष जम्मा ४ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।

कुन क्षेत्रमा कति लगानी भित्रियो ?

वैदेशिक लगानी वृद्धिदर खनिज क्षेत्रसँग सम्बन्धित परियोजनाहरु धेरै भए पनि धेरै रकम भने उर्जा क्षेत्रमा भित्रिएको छ । आर्थिक वर्ष ३७ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ लगानी भित्रिएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ९ सय १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ऊर्जा क्षेत्रमा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।

यसैगरी कृषि तथा वनजन्य क्षेत्रमा ६ सय ४९ प्रतिशतले वैदेशिक लगानी बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा यस क्षेत्रमा २ अर्ब १६ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा भने कृषि तथा वन क्षेत्रमा २८ करोड ९० लाख रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।

सूचना प्रसार तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि वैदेशिक लगानीको वृद्धिदर राम्रो देखिएको छ । अघिल्लो वर्ष ८ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएकोमा ५ सय ५९ प्रतिशले वृद्धि भएर आर्थिक वर्ष २०७४/७५ मा ५८ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको हो ।

उतपादनमूलक क्षेत्रमा यस अवधिमा ८ अर्ब ८७ करोड ५४ लाख ३ हजार रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनमा १ सय १४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यस क्षेत्रमा ४ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी भित्रिएको महाशाखा प्रमुख बस्नेतले बताए । उनका अनुसार यस अवधिमा निर्माण, सेवा मूलक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा भने लगानी घटेको छ ।

लगानी रकममा भारत र परियोजना संख्यामा चीन अगाडि

हालसम्मको वैदेशिक लगानी दुई छिमेकी मुलुक भारत र चीनबाट नै धेरै भित्रिएको छ । लगानी गरिने परियोजना संख्याका आधारमा चीन अगाडि देखिएको छ भने लगानी भित्रिएको रकमका आधारमा भारत अगाडि देखिएको छ ।

विभागका वैदेशिक लगानी महाशाखा प्रमुख बस्नेतका अनुसार भारतको मात्रै ८७ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । उता लगानी रकममा दोस्रो देखिएको चीनको ७६ करिब ७६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

उता चीनले १ हजार ४ सयभन्दा बढी परियोजनामा लगानी गर्न विभागबाट स्वीकृति लिएको छ भने भारतले करिब ८ सय परियोजनामा लगानीका लागि स्वीकृत लिएको छ ।

लगानी प्रतिवद्धता आएका मध्ये धेरै परियोजनाहरुको काम शुरु भइसकेको र केही परियोजनाहरु सञ्चालनको तयारी भइरहेको महाशाखा प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment