९ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्तीकरणी मुद्दामा ८ वर्ष सजाय फैसला भएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका-४ का चन्द्रेश्वर प्रजापतिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चन्द्रेश्वरलाई ०७३ भदौ १५ गते बारा जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
अदालतबाट सजाय भएपछि फरार रहेका प्रजापतिलाई साउन ७ गते गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।
प्रजापतिलाई साउन ८ गते अदालतमा हाजिर गराइ अदालतको आदेशमा वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता राठौरले बताए ।
अंकितको अपहरण गरी हत्या गरेको आरोपमा साह पक्राउ
यस्तै बाराको जीतपुरसिमरा उप-महानगरपालिका-७ का ९ वर्षीय अंकित गुप्ताको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा पोखरिया नगरपालिका-७ घर भइ हाल विरगञ्ज महानगरपालिका-२४ बस्ने २२ वर्षीय रामप्रवेश साह गोढलाई पक्राउ गरेको हो ।
स्थानीय ललन गुप्ताको छोरा अंकितको ०७४ जेठ २२ गते अपहरण भएको थियो । रामप्रवेश साह गोढलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले साउन ७ गते नै पक्राउ गरेको थियो ।
रामप्रवेशलाई अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धानका लागि अदालतबाट ६ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।
अभियुक्तकै बयानका आधारमा अपहरण भएका अंकितको हत्या गरिएको खुलासा भएको छ ।
अंकितको हत्या गरी बोरामा राखेर पर्साको जगरनाथपुरस्थित गंडक नहरमा फालिएको अवस्थामा साउन ३ गते शव बरामद भएको थियो ।
शव अकिंतकै हो कि होइन भनेर पुष्टि गर्न डीएनए परीक्षणका लागि प्रहरीले आवश्यक पक्रिया अघि बढाइसकेको छ ।
अंकित गुप्ताको अपहरण पछि हत्या गरिएको विरोधमा जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले बुधबार बजार बन्दको आव्हान गरेको छ ।
संघका अध्यक्ष संजय साहले हत्याको अविलम्ब सत्य तथ्य सार्वजनिक गर्दै अभियुक्तलाई कानुनी सजाय दिलाउन विरोधका कार्यक्रम राखिएको बताए ।
माग पूरा नभए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने अध्यक्ष साहको भनाइ छ ।
व्यावसायीलाई शान्ति सुरक्षाको अनुभूति गराउनु राज्यको दायित्व भएपनि प्रहरी प्रशासन त्यसबाट चुकेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4