Comments Add Comment

विमान किन्न होडबाजीः महिना दिनमा भित्रिए २७ अर्बका पाँच विमान


१० साउन, काठमाडौं । झण्डै एक महिनाबीचमा नेपाली एयरलाइन्स (वायुसेवा) कम्पनीहरुले पाँचवटा नयाँ विमान भित्र्याएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससहित बुद्ध एयर, श्री एयर र तारा एयरले नयाँ विमान भित्र्याएका छन् ।

असार ४ गतेयता मात्रै झण्डै २७ अर्ब १० करोडभन्दा बढी मूल्य बराबरका विमान भित्रिएका छन् । पछिल्लोपटक बिहीबार नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी एयरबस ए ३३०-२०० विमान आइपुगेको छ ।

नेपाल एयरलाइन्सले मात्रै करिब २३ अर्ब ७० करोड रुपैयाँ बराबर खर्चिएर नयाँ दुई एयरबस भित्र्याएको छ । प|mान्सको टुलुसबाट दुई चरणमा गरेर नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दईवटा नयाँ एयरबस खरिद गरेर ल्याएको हो ।

असारको दोस्रो हप्तामा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले करिब ११ अर्ब ८५ करोड बराबर खर्चिएर नेपालकै पहिलो वाइडबडी भित्र्याएको थियो । असार १४ गते ल्याएको सो एयरबसलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो भने बिहीबार आइपुगेको विमानको नाम ‘मकालुु’ राखिएको छ । नयाँ एयरबसको कल साइन ९ एनएलजेट हो ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । फ्रान्सको टुलुसबाट ल्याइएका दुबै विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलरमा किनिएको हो । यी दुई विमानको भन्सार महसुल झण्डै २४ करोड बराबर तिर्नुपर्ने भन्सार अधिकारीहरु बताउँछन् ।

दुबै वाइड बडीको सिट क्षमता २७४ हो । विमानमा १८ वटा विजनेस क्लास र २५६ इकोनोमिक क्लासका सिट छन् ।

असारको पहिलो साता श्री एयरलाइन्सले करिब ९० करोड रुपैयाँ बरारको सीआरजे  विमान नेपाल भित्र्याएको थियो । योसँगै श्रीसँग ७० सिट क्षमाताका विमानको संख्या २ पुगेको छ भने ५० सिट क्षमताका २ वटा विमान श्रीसँग पहिल्यै थियो ।

श्रीको नयाँ जेट इन्जिनयुक्त विमान अमेरिकाबाट ल्याइएको हो ।

श्रीले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्न काठमाडौ र नेपालगञ्जबाट भारतमा उडान भर्न अनुमति मागेको छ । तर, पाएको छैन ।

श्रीले नयाँ विमान भित्र्याएपछि लगातार नयाँ विमानहरु नेपाल प्रवेश गरिरहे ।

असारकै तेस्रो हप्तामा बुद्ध एयरको करिब १ अर्ब ७ करोड बराबरको ७२ सिटे नयाँ एटीआर ७२-५०० जहाज ‘लिज-पर्चेज सम्झौता’ मा नेपाल आयो । यो टर्बोप्रोप इन्जिन भएको जहाज हो । बुद्धको यो जहाज पनि फ्रान्सको टुलुसबाटै ल्याइएको हो ।


यसैगरी साउनको पहिलो हप्तामा तारा एयर प्रालिले आफ्नो नयाँ टि्वनअटर विमान नेपाल ल्यायो । झण्डै ४९ करोड खर्चिएर ताराले लिजमा भाइकिङ ४०० श्रृंखलाका टि्वनअटर ल्याएको हो । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो । दुर्गम क्षेत्रहरुमा उडान संख्या थप्ने उद्देश्यका साथ यो विमान ताराले भित्र्याएको हो ।

नेपालमा हवाइ यात्रुको संख्या वर्सेनि बढिरहेकाले विमान संख्या थप्नुपर्ने अवस्था आएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धर बताउँछन् ।

यस्तै वायुसेवा व्यवसायमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीहरु अब्बल ठहरिन पनि नयाँ विमान ल्याउनुपर्ने अवस्था आएको छ । सँगै बढ्दै गएको अन्तर्राष्ट्रिय पर्यटन आवागमलाई ध्यानमा राखेर पनि एयरलाइन्स कम्पनीहरु नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment