Comments Add Comment

एसियन गेम्सका एक्ला नेपाली गोलकर्ता

जब मैदानमै सुरक्षाकर्मीले कञ्चटमा पेस्तोल ताके

१४ साउन, काठमाडौं । २१ नोभेम्बर १९८२, नेपाली फुटबलका लागि ऐतिहासिक दिन हो । यही दिन नेपालले पहिलो पटक आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

प्रतिस्पर्धी थियो, पुगनपुग पाँच महिना अघिमात्रै स्पेनमा विश्वकप खेलेर फर्केको टीम कुवेत । नयाँ दिल्लीमा भएको एसियन गेमअन्तर्गत फुटबलमा ७० मिनेटसम्म गोलरहित बराबरी खेलेको नेपालविरुद्ध कुवेतले १० मिनेटमा ३-० गोल गर्‍यो । तर, खेल यतिमै सकिएन ।

खेल सकिन पाँच मिनेट बाँकी छँदा नेपालका मिडफिल्डर यामबहादुर (वाईबी) घलेको खुट्टामा बल पर्‍यो । उनले कुवेतका तीन डिफेन्डरलाई छलाएर दाहिने खुट्टाले कडा प्रहार गर्दै बललाई जाली चुमाए । ‘त्यसपछि उनीहरूको गोलकिपर हक्का न बक्का भए, हामी खुशीले नाच्यौं’ अनुहार उज्यालो पार्दै घलेले साढे तीन दशक पुरानो घटना स्मरण गरे ।

हो, नेपाली फुटबल इतिहासको त्यो नै पहिलो अन्तर्राष्ट्रिय गोल थियो । कुवेतसँग ३-१ गोलले पराजित भए पनि त्यहि गोलका कारण ८ नम्बरको जर्सी लगाउने घलेको वाहवाही शुरु भयो ।

एसियन गेम खेल्न गएका सबै खेलाडी तथा पदाधिकारी आफूलाई बधाई दिन हाँपझाँप गर्दै आएको उनले विर्सेका छैनन् ।

राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव स्व. शरदचन्द्र शाह, अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन अध्यक्ष कमल थापालगायतले उनलाई बधाई दिएका थिए ।

‘वास्तवमा त्यो गोलले मेरो परिचय नै बदल्यो,’ ललितपुरको नक्खुस्थित निवासमा घलेले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसपछि मलाई भिक्टोरिया क्रस (भीसी) विजेता गजे घलेको छोरोभन्दा पनि फुटबलर वाईबी घले भनेर चिन्न थाले ।’

बर्मा र इराकसँग समान ३-० गोलअन्तरले पराजित भए पनि खेलाडीहरूलाई एन्फाले जनही रु. २५ हजार दिनुले पनि त्यो गोलको महत्व कति थियो भन्ने दर्शाउँछ ।

१९८२ यता नेपालले पाँच पटक एसियन गेम खेलेको छ । यसबीचमा १५ खेल खेल्दा नेपालले ६५ गोल खाएको छ । जम्मा एक गोल गरेको छ, जुन गोल पहिलो म्याचमा घलेले गरेका थिए ।

‘त्यो कीर्तिमान तोडिनै पर्छ’

१८ अगस्टदेखि २ सेप्टेम्बरसम्म इन्डोनिसियामा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । एमूह ‘डी’ मा परेको नेपालका प्रतिद्वन्द्वी छन्, रुस विश्वकपमा नकआउट चरणसम्म पुगेको जापानसहित भियतनाम र पाकिस्तान । तीन बलिया प्रतिद्वन्द्वीसँग फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपालको प्रदर्शन कस्तो होला ?

१९८२ देखि १९९० सम्म राष्ट्रिय टीमबाट खेलेका घले भने साढे तीन दशकदेखि आफ्नो नाममा रहेको कीर्तिमान भंग होस् भन्ने कामना गरिरहेका छन् । अघि उनी त पहिलो जित नै होस् भन्ने चाहन्छन् । ‘कम्तीमा मेरो कीर्तिमान तोडियो भने साह्रै खुशी हुनेछु,’ उनले भने ।

तीन मिनेटसम्म कञ्चटमा पेस्तोल

एसियाडमा कीर्तिमानी गोल गरेका घलेको जीवनको अवस्मरणीय क्षण भने २७ औं मर्डेका कप बन्यो । १९८३ मा कप्तान रुपक शर्माको नेतृत्वमा टीम नेपाल मलेशिया गएको थियो । त्यहाँ नेपालको भेट स्पेन विश्वकप खेलेर फर्केको अफि्रकी देश अल्जेरिया, आयोजक मलेशिया, अर्जेन्टिना, बंगलादेश र दक्षिण कोरियासँग भयो ।

समूह ‘ए’ मा परेको नेपाल मलेशियासँग ७-०, अर्जेन्टिनासँग ३-०, दक्षिण कोरिया र बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

एक वर्षअघिको विश्वकपमा पश्चिम जर्मनी र चिलीलाई पराजित गरेर फर्केको अल्जेरियासँग नेपालको खेल अन्तिममा परेको थियो ।

युवा टोली उतारेको अर्जेन्टिना समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने निश्चित भइसकेको थियो । दोस्रो चरण पुग्नका लागि अल्जेरियाले नेपाललाई फराकिलो अन्तरले जित्नुपर्ने थियो ।

खेल शुरु भएको एक घण्टा बितिसक्दा पनि नेपालको रक्षापंक्तिले अल्जेरियाका खेलाडीलाई गोल गर्ने अवसर दिएको थिएन । त्यसपछि उनीहरूले सानोसानो कुरामा निहुँ खोज्न थाले । ‘यसैबीच एकाएक उनीहरूले रुपकजीलाई हातपात गरे,’ उनी सम्झन्छन् ।

घले आफ्ना कप्तानलाई बचाउन अघि सरे । तर, सुरक्षाकर्मीले आफ्नो कञ्चटमा पेस्तोल तेस्र्याएको घले बताउँछन् । उनी भन्छन्, ‘खै किन हो मेरो कञ्चटमा करिब तीन मिनेट पेस्तोल तेर्स्याए ।’

त्यो दिन थियो, २८ सेप्टेम्बर १९८३ । स्थानः जोहर बारु रंगशाला, मलेशिया ।

झगडाको शुरुवात गरेर शर्मामाथि हातपात गरिरहेका अल्जेरियाली खेलाडीलाई भने सुरक्षाकर्मीले केही गरेनन् ।

‘मलाई नै पेस्तोल किन तेर्स्याइयो अझै बुझ्न सकेको छैन,’ लामो श्वास तान्दै उनले ३५ वर्ष पुरानो घटना स्मरण गरे । त्यो खेलमा नेपाल अल्जेरियासँग २-० गोलले पराजित भयो ।

बहादुरीपूर्वक दोस्रो विश्वयुद्ध लडेर भीसी जितेका गजे घलेका छोरा त्यो घटना सम्झिँदा अहिले पनि आङ सिरिङ हुने बताउँछन् ।

बंगलादेशमा व्यावसायिक फुटबल

नेपाली खेलाडी विदेशी क्लबमा अनुबन्ध हुँदा सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गर्छन् ।

तर घलेको पुस्ताले भने १९८० को दशकमै बंगलादेश पुगेर व्यावसायिक फुटबल खेलेका थिए । कृष्ण थापा (हाल एन्फा उपाध्यक्ष) र आफू ढाकाको वान्डेरेरियर्स क्लबबाट खेलेको घले बताउँछन् । त्यति बेला गणेश थापा बंगलादेशकै अबहानी क्लबबाट खेल्थे ।

घरेलु क्लबबाट उनले रानीपोखरी कर्नर टीम (आरसीटी), फ्रेन्डस् क्लब, नेपाल पुलिस क्लब र रोयल नेपाल एयरलाईन्स क्लब (आरएनएसी) बाट खेले ।

तर क्लबबाट खेल्नु र राष्ट्रिय टीमबाट खेल्नुमा धेरै अन्तर भएको घलेको भनाइ छ । १९८४ मा दक्षिण एसियाली फुटबलमा नेपाललाई स्वर्ण पदक दिलाउँदा गोल गरेका घले राष्ट्रिय टीमबाट खेल्दा सेवासुविधाको वास्ता गर्न नहुने बताउँछन् ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका घलेको दाहिने खुट्टा प्यारालाइसेस भएको एक दशक पुग्न लागिसकेको छ ।

सरकारले उपचार खर्च नदिए पनि कुनै गुनासो नरहेको बताउँदै ६० वर्षीय घलेले भने, ‘नेपाली फुटबलको स्वर्णकालका बेला राष्ट्रिय टीमको सदस्य हुन पाउनु नै आफैंमा गर्वको विषयमा हो ।’

एसियाड र साग खेल्ने तयारीमा रहेका टीम नेपालका खेलाडीहरूलाई उनको सुझाव छ, ‘देशको लागि खेल्दछु भनेर मैदान उत्रनुस् अवश्य उपलब्धी हात लाग्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment