Comments Add Comment

आफ्नै मृत्युको प्रमाण बोकेर भौतारिएका रामसेवक !

१४ साउन, महोत्तरी । रामगोपालपुरका रामसेवक यादव आफ्नै मृत्युको प्रमाणपत्र बोकेका सरकारी अड्डा धाइरहेका छन् । ठमठम हिँडेर सरकारी अड्डा चाहारिरहेका उनी आग्रह छ, ‘म मरेको छैन, जिउँदैछु भन्ने प्रमाणपत्र बनाइदिनु पर्‍यो हजुर ।’

रामगोपालपुर नगरपालिका वडा नम्बर २ खोपीका ५८ बषर्ीय रामसेवक कहिले जिल्ला प्रशासन कार्यालय आइपुग्छन् त कहिले गाँउपञ्चायत गुहार्छन् । तर, अझै न्याय पाएका छैनन् ।

उनीसँग २६ वर्षको उमेरमा जिप्रकाबाट लिएको नागरिकता छ । मृत्युदर्ताको फोटोकपि पनि छ ।

तत्कालिन खोपी गाँउ बिकास समितिले ०६८ सालमै उनको मृत्यु दर्ता गरेको रहेछ, जसमा रामसेवकको २०६७ कात्तिक १४ गते ४८ वर्षको उमेरमा मृत्यु भएको उल्लेख छ ।

यादव उमेर छँदै कामका लागि भारत पसेका थिए । लामो समयसम्म परिवारको सम्पर्कमा नभएकाले उतै मृत्यु भएको शंका गरे । त्यसअनुसार आफन्तले निवेदन दिएपछि तत्कालिन खोपी गाँउ विकास समितिको कार्यालयले रामसेवकको मृत्यु दर्ता गरेको थियो ।

तर, रामसेवक एक बर्ष अघि अचानक घर फर्किए । उनी न घर थियो, न श्रीमती नै । आफू वर्षौं भारतको पञ्जाबमै रमाएपछि श्रीमतीले छाड्नुलाई उनले अन्यथा मानेनन् ।

जब आफ्नो मृत्यु दर्ता भएको थाहा पाए, छागाँबाट खसे झै भयो । कामको सिलसिलामा आफूले भारतको पञ्जावमा करीब २६ बर्ष बिताएको र त्यही समयमा सौतेनी आमाले आफ्नो मृत्यु दर्ता गराएर सबै सम्पत्ति बेचविखन गरेको यादवको आरोप छ ।

उनी अहिले भोयल टिम्कियास्थित एक कुटीमा बस्छन् र आफू जिउँदो रहेको प्रमाणित गर्न सरकारी अड्डाहरु धाइरहेका छन् । थाहा छैन, उनले कहिले यो प्रमाणित गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment