Comments Add Comment

६० वर्ष पहिलेको अधुरो चुनावी नारा : भेल्छडा खानेपानी !

२०१६ सालको चुनावी नारा २०७५ सालमा पनि पूरा भएन

१६ साउन, डोटी । २०१६ सालमा प्रथम आम निर्वाचनमा शिवराज पन्तले केलनाको पानी जिल्ला सदरमुकाम सिलगढी र भेल्छडाको पानी पश्चिम चौकी ल्याउने बाचा गरेका थिए ।

उनी चुनाव जितेर मन्त्री पनि भए । उनले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने बाचा पूरा गरे । भेल्छडाको पानी पश्चिम चौकी पुर्‍याउने बाचा भने बिर्सिए ।

त्यसपछिका निर्वाचनहरुमा भेल्छडाको पानी सबैका लागि प्रमुख चुनावी मुद्दा बन्दै गयो । तर, निर्माण कहिल्यै भएन ।

‘शिवराज पन्त मन्त्री हुँदा सायल भेल्छडाको पानी पश्चिम चौकीमा ल्याउने भन्ने कुरा उठेको थियो रे, त्यति वेलादेखि यहाँका बासिन्दाहरुले भेल्छडाको पानीको आशा गरे तर त्यो सपना मात्रै भयो,’ डोटी आदर्श गाउँपालिका-३ का चन्द्रदेव पाठकले सम्झिए ।

गाउँपालिकाको केन्द्र मौवा नगरदहमा अहिले पिउनलाई पानी नभएको भन्दै उनले अघि भने, ‘२०४८ साल यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बन्दै भयो तर कसैले पनि बनाएनन् ।’

२०४८ सालको निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार भक्तवहादुर बलाएरले भल्छडा खानेपानीको बिषय उठाएको सम्झदै पाठक भन्छन् ‘उहाँ तीन तीन पटक चुनाव जित्नु भयो, मन्त्री पनि हुनु भयो तर पनि बनाउनु भएन ।’

तत्कालीन एमाले उम्मेदवार हर्कवहादुर सिंहले पनि २०६४ सालको निर्वाचनमा भेल्छडाकै नाममा भोट मागेको तर जितिसकेपछि चार बर्षे कार्यकालमा उनले पनि योजना वनाउन नसकेको आरोप पाठकको छ ।

०७० मा चुनाव जितेको वीरबहादुर बलायर र ०७४ मा चुनाव जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा बनेको तर काम कसैले नगरेको पाठक दुखेसो गरे । उनी भन्छन्, ‘अब स्थानीय सरकार बनेको छ, गाउँपालिकाले झिना मसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस् योजना बनाइदिए हुन्थ्यो ।’

भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायरद्वय गरी तीन जना मन्त्री भए । सिंह चार वर्षसम्म संविधानसभा सदस्य रहे भने आले बर्तमान संघीय सांसद हुन । तर, भेल्छडा भने जहाँको तही रहेको स्थानीयको भनाइ छ ।

उहिलेदेखि नै मौवा नगरदहमा खानेपानीको समस्या रहेको बताउँछन् आदर्श-१ का कृष्णवहादुर खड्का । उनी भन्छन्, ‘वर्षतको समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर फागुनदेखि असारसम्म त निकै दुःख छन् ।’

चुनावको बेलामा नेताहरुले पश्चिम चौकीको खानेपानीलाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उनको गुनासो छ ।
पानी नभएका कारण व्यवसाय गर्न झनै समस्या भएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

‘आकाशे पानी संकलन गर्नुपर्ने अवस्था छ’ होटल शिवनगरका सञ्चालक नवराज ओझा भन्छन् ‘मौवामा पानी र तेल उस्ताउस्तै हो ।’

गाउँपालिकाको केन्द्र भएपछि चहल पहल बढेको तर पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको उनको भनाइ छ ।

मौवामा पानीको निकै समस्या रहेको नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेशबहादुर मौनी वताउँछन् । ‘बिहान उठेर नुहाउन खोजेको तर पानी नै छैन,’ मौनी भन्छन् ‘करिव आधा घण्टाको दुरीमा रहेको गाउँको धारामा नुहाए ।’ स्थानीयले आकाशे पानी संकलन गर्न थाल कचौरासमेत बलिनमा राख्ने गरेको पाइएको उनी बताउँछन् ।

‘अरु त सबै राम्रै छ यहाँ तर पानीको निकै दुःख छ, कुनै कुनै दिन त पिउनलाईसमेत पानी पाईदैन’ डोटी आदर्श गाउँपालिकाका सहलेखापाल रामवहादुर बिष्ट भन्छन्, ‘कुनै कुनै दिन त शौच गर्न पनि मिनिरलको वोतल बोक्नु पर्ने अवस्था छ ।’

खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजना लागू गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउ । ‘हामी खानेपानीको सम्भावनाको बिषयमा छलफल गर्दैछौं’ अध्यक्ष रोकायाले भने, ‘सायल गाउँपालिकासंग पनि भेल्छडाका लागि छलफल गर्छौं, अन्य सम्भावनाहरु पनि खोजी गर्दैछौं ।’ खानेपानी निर्माणमा प्रदेश सरकार र अन्य संघसंस्थाहरुसँग पनि छलफल चलिरहेको उनी बताउँछन् ।

भैल्छडाको पानी ल्याउन अव सम्भव नभएको बताउँछन् पूर्व माननीय लालवहादुर खड्का । आदर्श-१ मौवा घर भएका खड्का भन्छन्, ‘अव सायली गाडबाट पानी तान्ने वा डिप वोरिङ्ग गर्ने योजना बनाउनु पर्छ ।’

उनी स-साना योजनामा लाग्नु गाउँपालिकाले सायली गाडको तीन ठाउँबाट पानी तानेर पश्चिम चौकीमा सिंचाई समेत हुने व्यवस्था गर्नु पर्ने बताउँछन् । ‘सायली गाडमा पानी वगेको छ, हामी खानलाई पानी पाइरहेका छैनौं’ खड्का भन्छन् ‘अब पश्चिम चौकीमा सिचाई समेत गर्न सक्ने गरी पानी तान्न स्थानीय सरकारले पहल गर्नुपर्छ ।’

सानातिना योजनामा नलागेर ठोस् योजना बनाउने हो भने गाउँपालिकाले अरु कसैको मुख ताक्नुनपर्ने उनको भनाइ छ ।
मौवालगायत यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाविसहरुमा खानेपानीको समस्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment