Comments Add Comment

जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन : रामचन्द्र पौडेल

१५ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् ।

तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् ।

जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न गरे, ‘यसमा उनको के दोष, संवैधानिक परिषद्ले सिफारिस गर्ने बेलामा यो सबै कुरा हेर्न पर्थेन ?, सरकारी सेवामा प्रवेश गर्ने बेलामा लोक सेवा आयोगले यो विषय देखेन ?’

उनले नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ बहुमत गलत प्रवृत्तिमा प्रयोग गरेको आरोप लगाए । ‘सरकार अधिनायकवाद उन्मुख भइसकेको छ । पछिल्लो उदाहरण सर्वोच्च अदालतमाथिको हमला हो,’ पौडेलले भने, ‘स्वतन्त्र न्यायपालिकामाथि धावा बोल्ने काम अधिनायकवादको प्रमाण हो ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिमा नेकपा र नेपाली कांग्रेसका सांसदबीच मत बाझिएको छ । त्यसै क्रममा कांग्रेस नेता पौडेलले जोशीको नाम सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्ने धारणा राखेका हुन् ।

सरकारको विरोधमा नभइ अधिनायकवादको विरोधमा कांग्रेसले आन्दोलन गरेको उनको भनाइ थियो ।

‘दुई तिहाई बहुमत बाँदरको हातमा नरिवल’

नेता पौडेलले नेकपा सरकारलाई दुई तिहाई बहुमत बाँदरको हातमा नरिवलजस्तो भएको आरोप लगाएका छन् । उनले जनताले कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमत दिए पनि बाँदरको हातमा नरिवलजस्तो भएको टिप्पणी गरेका हुन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने भए पनि संविधानलाई लात मार्ने काम कम्युनिष्टबाट भइरहेको पौडेलको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment