१६ साउन, काठमाडौं । भारतीय जनता पार्टीका महासचिव राम माधवले नेपालले सामुन्दि्रक मार्गको सहज पहुँच र त्यसबाट धेरै फाइदा लिनका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाउनुपर्ने बताएका छन् ।
इन्डिया थिंक ट्याङ्क फाउन्डेसनका निर्देशकसमेत रहेका माधवले समुन्द्रले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै यसबारेमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
काठमाडौंमा आयोजित इन्डिया नेपाल थिंक ट्यांक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा माधवले भू-परिवेष्ठित राष्ट्र नेपालले उत्तरी छिमेकी भन्दा दक्षिणका छिमेकी देशहरुको बन्दरगाह प्रयोग गर्दा धेरै फाइदा लिन सक्ने बताएका हुन् ।
नेपाललाई दक्षिण हेर्ने नीति अवलम्वन गर्न सुझाव दिँदै उनले भने, ‘नेपालले भारतलाई मात्रै हेर्नुपर्छ भन्ने छैन तर, नेपाललाई भारतको कोलकाता र बंगलादेशको चिटगोङ बन्दरगाहमार्फत हिन्द महासागरसँग जोडिँदा धेरै फाइदा हुन्छ ।’
यी बन्दरगाहबाट नेपालमात्रै नभई चीनको स्वशासित क्षेत्र तिब्बतलाई समेत फाइदा पुग्ने उनले दाबी गरे ।
माधवले भारत र नेपाल दुई छिमेकी देशहरु मात्रै नभएर गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भएका दुई महान सभ्यतासमेत भएको बताए ।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) र नेहरु मेमोरियल म्युजियम लाइब्रेरीले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सम्बोधन गरेका थिए ।
प्रतिक्रिया 4