Comments Add Comment

उडिरहेको जहाजमा पाइलटबीच हानाहान

इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको छ । आकाशमा ३७ हजार फिटमाथि जहाज उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेको आरोपमा ती दुई पाइलट निलम्बनमा परेका हुन् ।

समाचार अनुसार १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी पिटापिटमै उत्रिएका हुन् ।

उक्त घटनाको अनुसन्धानका क्रममा विमानका सह–पाइलटले इराकी वायुमार्ग प्राधिकरणलाई पत्र लेख्दै उक्त विमानका पाइलटले एयर होस्टेजलाई आफ्नो लागि खाना ल्याउनबाट रोकेको दाबी गरेका छन् । आफुसँग अनुमति नलिइकन ककपिटमा खानेकुरा ल्याउन नपाइने भन्दै पाइलटले इयरहोस्टेजलाई रोकेको उनको भनाइ छ ।

पाइलटले टन्न खाएको तर आफ्नो लागि भने खानेकुरा नै ल्याउन नदिई उल्टै धकेलेर अपमानित गरेको जिकिर को–पाइलटले गरेका छन् । त्यसपछि को–पाइलट पनि प्रतिकारमा उत्रिए र दुईबीच हानाहान भएसँगै विमानभित्रका सुरक्षाकर्मीले नै हस्तक्षेप गर्नुपरेको बताइएको छ ।

आफूमाथि पाइलटले दुईपटक हातपात गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरेको को–पाइलटको दाबी छ ।

आपसमा झगडा गरेपछि चालकहरुले विमानलाई सुरक्षित रुपमा वगदादमा अवतरण गराए । तर विमान अवतरण भैसकेपछि पनि उनीहरु आपसमा झगडा गर्दै थिए ।

इराकी एयरवेजले घटनाको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको र निलम्बित दुवै पाइलटमाथि छानविन चलिरहेको बताइएको छ । दोषी ठहर भएमा दुवै जनालाई आजीवन हवाई उडान प्रतिबन्ध समेत हुनसक्ने समाचारमा उल्लेख छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment