Comments Add Comment

अनमोलको ‘क्याप्टेन’ कहिले रिलिज हुन्छ ?


नायक अनमोल केसीलाई पहिलो पटक फूटबलरको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’को प्रदर्शन मिति अझै तय हुन सकेको छैन । चलचित्रलाई भदौमा रिलिज गर्ने चर्चा चलेपनि त्यो संभव छैन । यसको निर्माणपक्षले फाइनल मिति तय गर्न नसक्नुको पछाडि केही कारण छन् ।

भदौ ८, भदौ २९, असोज ५ मा चलचित्र आउने हल्ला चलेपनि यी सबै हल्ला मात्र हुन पुगे । चलचित्रको प्रदर्शन मिति यसका निर्माता भूवन केसीले तय गर्न सकेका छैनन् ।

निर्माता भूवन केसीका अनुसार, छायांकन नसकिएकाले प्रदर्शन मिति तय गर्न नसकिएको हो । उनले अनलाइनखबरसँग भने-‘३ दिनको क्लाइमेक्सको दृश्य खिच्न बाँकी छ । तर, पानीले काम गर्न पाइएको छैन । चलचित्रमा भीएफएक्सको काम पनि धेरै छ । यसैले, प्रदर्शन मिति तय गर्न नसकिएको हो ।’

भूवन केसीले चलचित्रलाई तिहारमा रिलिज गर्ने बिषयमा मनस्थिती बनाएको बताए । तर, अहिले नै फाइनल मिति भन्न नसकिने उनको भनाई छ । चलचित्र मंसिर २१ मा रिलिज हुने चर्चा समेत चलेको छ । तर, भूवनले यो मिति पनि फाइनल नभएको बताए ।

काम सकिने वा नसकिने पक्का नभएकाले पनि यसपटक भूवन प्रदर्शन मिति सार्वजनिक गर्न डराएका हुन् । एकपटक प्रचार गरिएको मितिमा चलचित्र आउन सकेको खण्डमा त्यसले घाटा लाग्ने भूवनलाई राम्रोसँग थाहा छ । उनले, चलचित्र ‘कृ’मा यो समस्या भोगिसकेका छन् ।

दर्शकले यसपटक अनमोललाई भिन्न अवतारमा देख्न पाउनेछन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी नयाँ नायिकाको रुपमा छन् । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एक यूवाको फुटबल संघर्षको कथामा चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment