Comments Add Comment

चीनको विवाह बजारः यहाँबाट जोड्न सकिन्छ वैवाहिक सम्बन्ध

शनिबारको दिन । सिमसिम पानी परिरहेको थियो ।  झरीको बाबजुद पनि सांघाईको पिपुल्स पार्कमा मानिसहरुको घुँइचो थियो ।

पार्कको बाटोहरुको किनारमा लहरै उभिएका र बसिरहेका मानिसहरु कि त कसैलाई पर्खिरहेका थिए वा एक आपसमा कुराकानी गरिरहेका थिए । पार्कको चहलपहल हेर्न लायक थियो ।

केही मानिस छाता ओढेरै कुरा गरिरहेका थिए भने केहीले बाटो छेउमा आफ्नो छाता राखेर कुराकानी गर्नमा व्यस्त थिए । रंगीचंगी छाताहरु पर्खाल, जमिन रुखमा यसरी राखिएका छन् देख्दा लाग्छ यो छाताको किनबेच हुने कुनै हाट बजार हो ।

कुरा अर्कै छ

कुरा अर्कै छ । पार्कमा धेरै बसेका प्रत्येक मानिसको नजिकै स्ट्याण्डमा एफोर साइजको कागजमा मेन्डेरिन भाषामा युवक र युवतीहरुको बायोडाटा राखिएका थिए ।

बायोडाटा अर्थात युवक र युवतीको उमेर, वाषिर्क तलब, पढाईलेखाईको बेहोरा, जन्मदिन र राशी ।

सांघाईमा सन् २००५ देखि हरेक सप्ताहन्तमा यो विवाहको बजार चलिरहेको छ । त्यसभन्दा पहिले मानिसहरु यो पार्कमा व्यायाम र टहल्नको लागि आउने गर्थे । फेरि उनीहरुले बच्चाहरुको विवाहको लागि भेटघाट गर्न थाले ।

चीनमा महंगी बढीरहेको छ र युवायुवतीहरुमा आफ्नो पार्टनरलाई लिएर अपेक्षा पनि बढीरहेको छ । यसैले कि त उनीहरु ढिला विवाह गर्छन् वा विवाह नै गर्दैनन् वा फेरि विवाहलाई लिएर उनीहरुको धारणाहरु बदलिँदै गइरहेको छ ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका अनुसार सन् २०२० सम्म चीनमा अविवाहित केटीहरुको तुलनामा ३ करोड धेरै अविवाहित केटाहरु हुनेछन् ।

चीन जस्तो तिव्र रुपमा विकास भइरहेको देशमा यस्तो हुनु राम्रो होइन । अमेरिका, जापान, भारत लगाएत धेरै देशहरुमा पनि यस्तै भइरहेको छ । हाम्रो देशमा जस्तै चीनमा पनि छोराछोरीले विवाह गरेनन् भने वा ढिलो गरेमा कैयौं आमाबुबा, नातेदारहरु चिन्तित हुन्छन् ।

करोडपति युवकको हुन्छ माग

पार्कमा हाम्रो भेट ग्रेससँग भयो । ग्रेस अष्ट्रेलियामा बस्छिन् र आफ्नो भान्जा झाङ शी मिंगको लागि युवती खोजिरहेका छन्, तर कैयौं परिवारले उनलाई नाइँ भने ।

मोबाईलमा मिंगको तस्वीर देखाउँदै उनले भनिन्, ‘मेरो भान्जा महिनामा ५ हजार युयान (करिब ८० हजार नेपाली रुपैंया) कमाउँछन् तर, युवतीहरुका परिवार कम्तिमा पनि उनले १० हजार युयान कमाउनु पर्ने माग गर्छन् । उनी धेरै नराम्रो स्थितीमा छन् किनभने उनले आफ्नो लागि युवती खोज्न पाइरहेका छैनन् ।’

चीनमा केटाले विवाह भन्दा पहिला नै टाउको लुकाउने छतको व्यवस्था गर्नुपर्छ तर, घरको मुल्य करोडौं पर्न थालेको छ ।

पार्कमा आएका युवतीहरुको झुण्डमा रहेकी एकले युवतीले हाँस्दै बताइन्, ‘चीनको सँस्कृतिअनुसार विवाहभन्दा पहिले केटाहरुले नै घरको व्यवस्था गर्न पर्छ । हामी केटीहरु चैं फर्निचर किन्छौं ।’

ग्रेसले भनिन्, ‘यदि मैले कर्जा लिएर भान्जाको लागि घर किनिदिएँ भने पनि उनलाई कर्जा चुकाउन दशकौं लाग्छ । हाम्रो पालामा त सरकारले नै हामीलाई निःशुल्क घर दिने गथ्र्यो । हामीले आफूलाई माया गर्ने साथी मात्रै खोजे पुग्थ्यो ।’

तर, ग्रेसलाई अझै पनि भान्जाको विवाह हुने आशा छ । उनी सही मौका र समयको पर्खिरहेकी छन् ।

चीनमा पढेलेखेको भएपनि यदि युवतीको समयमै विवाह भएन भने उनलाई ‘लेफ्टओभर’ अर्थात बचेकीसम्म भनिन्छ । र उनलाई त्यति राम्रो नजरले हेरिँदैनन् ।

ग्रेसले भनिन्, ‘यहाँ जो युवायुवतीका आमाबुबा आएका छन्, उनीहरुको उमेर ३५ को आसपास छ । उनीले राम्रो पढेका छन् र जागिर राम्रो छ । मिस्टर राइट छान्न उनीहरुको स्ट्यान्डर्ड राम्रो छ तर जब यी युवतीहरुको उमेर ढल्किँदै जान्छ भने त्यसपछि उनीहरुलाई आफ्नो माग तल झार्नुपर्छ ।’

चीनमा पुरुषहरुको विवाहको उमेर २२ र महिलाहरुको लागि २० वर्ष सम्म मानिन्छ । खासमा विवाहमा समस्या देखिनको लागि धेरैले सरकारको ‘वान चाइल्ड’ नीतिलाई जिम्मेवार ठहर्याइन्छ ।

वास्तवमा हाम्रो देशमा जस्तै चीनमा पनि धेरैजसो परिवार आफ्नो घरमा छोरा जन्मियोस् भन्ने चाहन्छन् र ‘वान चाइल्ड’ पोलिसी पछि कैयौं आमाबुबाले छोरीको सट्टा छोरालाई प्राथमिकता दिए त्यसकारण चीनमा लैगिंक अनुपात असन्तुलित भयो ।

युवतीहरुको घट्दो संख्या

संयुक्त राष्ट्रसंघ जनसंख्या विभागको सन् २०१६ को एक तथ्यांक अनुसार औसतमा १००० छोरा जन्मिदाँ ८६८ छोरी जन्मिएका थिए ।

पिपुल्स पार्कमा आएका धेरैजसो आमाबुबाका एक मात्र सन्तान थिए । त्यस्तै यो समस्याको लागि शहरीकरणलाई पनि जिम्मेवार मानिएको छ ।

स्थानीय पत्रकार एन्डेरा लियांग भन्छिन्, ‘चीनमा तिव्र रुपमा बढेको शहरीकरणको कारण धेरै युवाहरु शहरमा आइरहेका छन् । उनीहरु यँही बस्छन् र विवाह गर्न चाहन्छन् तर, धेरै जसो परिवारको एकमात्र सन्तान छन् । युवतीहरु पढेलेखेका छन् र उनीहरुको माग पुरा गर्ने पुरुषको संख्या सिमित छ । उनीहरुलाई गलत युवकसँग विवाह गर्नभन्दा एक्लै बस्नु ठिक लाग्छ ।’

कैयौं बच्चाहरुलाई आफनो आमाबुबा र नातेदारहरु पार्कमा आएको थाहा हुँदैन किनभने यहाँ आउनुलाई परिवारले लाजसँग जोडेर हेर्छन् । खासगरी यदि उनीहरु युवतीका परिवार हुन भने त अझै लजाउँछन् । यसैले क्यामेरा देखेर कैयौं मानिसहरुले नराम्रो माने ।

यो विवाहको पारम्परिक तरीका होइन्

एडेरा लियांग भन्छिन्, ‘चीनमा विवाह गर्ने यो पारम्परिक तरिका होइन् । यहाँ आउने कैयौं परिवार रुढीवादी हुन्छन् । यहाँ आउने आमाबुबाका सन्तानहरुको उमेर ३५, ४० वा त्योभन्दा धेरै छ । त्यसैले आमाबुबालाई यहाँ आउनुको अर्को कुनै विकल्प छैन् । यहाँ आफ्नो छोराछोरीको लागि विश्वासिलो साथी खोज्न सकिने उनीहरुको विश्वास छ ।’

तर, कैयौं परिवारका अनुसार यो पार्कमा आमाबुबाको भेट पछि कुराकानी भई छोराछोरीको विवाह पक्का भएको कमै मात्र सुन्न पाइन्छ ।

कुरा गर्ने कैयौं कोसिस पछि एक युवतीले आफ्नो नाम नबताने सर्तमा भनिन्, ‘विवाहको लागि यो राम्रो प्लेटर्फम हो जहाँ मानिस आपसमा भेट्न सक्छन् । यदि कुरा मिल्छ भने त झनै राम्रो हुन्छ ।’

हालै चीन सरकारले दशकौं पुरानो ‘वान चाइल्ड’ नीति खारेज गरेको छ । अब चिनियाँ दम्पतीलिे एकभन्दा धेरै सन्तान पैदा गर्न सक्छन् । यसले विवाहमा देखिएको समस्याको सुधार हुन सक्ने अनुमान गरिएको छ ।

एक तथ्यांक अनुसार जनसंख्या वृद्धिदरलाई कम गर्न सन् १९७९ मा ल्याइएको यो नीतिको कारण करिब ४० करोड कम बच्चाको जन्म भयो। तर, चीनको बढ्दो औसत उमेरको कारण सककारले यो नीतिमा परिवर्तन गरेको छ ।

एडोरा भन्छिन्, ‘सरकारको ‘वान चाइल्ड’ नीतिले लैंगिक अनुपातमा असन्तुलन आयो तर विवाहलाई लिएर संकट आउनका अरु पनि कारणहरु छन् तर आशा छ यस नीतिमा परिवर्तनबाट केही वर्षभित्रै यो समस्या कम हुनेछ ।’

भर्चुअल ब्वाइफ्रेन्ड, अनलाईन म्यारिज वेवसाइट, म्याचमेकिङ पार्टीहरु भन्दा फरक विवाहको यो बजारमा सम्बन्धलाई जोड्ने कोसिसहरु जारी छ, तर सफलता भने अपेक्षाकृत रुपमा कमै मिलिरहेको छ । – बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment