२१ साउन, धनगढी । प्रदेश ७ को नाम र स्थायी राजधानीबारे सुझाव दिन गठित संसदीय समितिको समयावधि एक साता थप गरिएको छ ।
सरोकारवाला पक्षसँग छलफल गर्न बाँकी रहेको भन्दै समय थपका लागि अनुरोध आएकाले ७ दिन थप गरिएको सोमबारको संसद् बैठकमा सभामुख अर्जुनबहादुर थापाले जानकारी गराएका हुन् ।
स्थायी राजधानी र नामाकरणका लागि सुझावसहितको प्रतिवेदन दिन संसदले यही साउन १४ गते नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ्ग संयोजक रहेको ५ सदस्यीय समिति गठन गरेको थियो ।
साउन २१ गतेभित्र प्रतिवेदन पेश गर्न समय दिइएपछि समितिले पेश गर्न नसकेपछि थप समय दिइएको हो ।
सुझाव समितिका संयोजक तारा लामा तामाङ्गले छोटो अवधि भएकाले सरोकारवाला सबै पक्षसँग छलफल गर्न नसकिएपछि समयावधि थपका लागि आग्रह गरिएको उनले बताए ।
प्रदेश सभा सदस्य, प्रदेश सरकारका मन्त्री र अन्य सरोकारवालासँग छलफल बाँकी रहेको तामाङ्गले बताए । उनले नाम र राजधानीबारे समितिले सर्वसम्मत सिफारिस गर्ने गरी प्रयास गरिने बताए ।
समितिले यस क्षेत्रका संघीय संसदका सदस्य र यहाँका नेताहरुसँग छलफल गरिसकेको छ ।
प्रतिक्रिया 4