Comments Add Comment

बुटवल-गड्डाचौकी रेलमार्गको डीपीआर मस्यौदा बन्यो


२२ साउन, काठमाडौं । पूर्व-पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ । चार खण्डमा विभागजन गरेर दुई चिनियाँ कम्पनीले तयार गरेको डीपीआरको मस्यौदा रेल विभागमा आइपुगेको छ ।

विभागले आवश्यक अध्ययन गरेर यसलाई स्वीकृत गरेपछि डीपीआर फाइनल प्रतिवेदन हुने महानिर्देशक अनन्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

पूर्वी नेपालमा झण्डै ३० किलोमिटर खण्डमा रेलमार्ग निर्माणको काम भइरहँदा बुटवलबाट गड्डाचौकीसम्मको रेल्वे खण्डको डीपीआर निर्माणको लागि अध्ययन सकिएको हो ।

४२१ किलोमिटरको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड-गड्डाचौकी खण्डको प्रतिवेदन आएको हो ।
पश्चिम खण्डको डीपीआर निर्माणको क्रममा पश्चिम खण्डका केही नदीहरुमा बलियो पुलसहितका पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ । कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रका डीपीआरका क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानीका ‘पकेट’ क्षेत्रहरु भेटिएका छन् ।

रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रको भन्दा पुलसहितका मजबुत पूर्वाधार बनाउनुपर्ने हुन्छ । यो क्षेत्रमा जमिनमुनि ठूलो मात्रामा पानीको स्रोत भेटिएको छ । यसले निर्माणका लागि चुनौती थप्ने विभागका इन्जिनियरहरु बताउँछन् ।

पूर्वी खण्डका यस्तो पानीको पकेट भएको क्षेत्र भेटिएको थिएन । यस्तो पकेटका कारण राजमार्गका पुलहरुमा पनि भासिने समस्या आउने गरेको छ । शिवगंगा र चौमाला नदीका पुल यस्तै समस्या कारण भासिएका थिए । अब पश्चिम खण्डमा यो समस्यालाई मध्यनजर गरेर रेलमार्ग बनाउनुपर्नेछ ।

थप ४० किलोमिटर खण्डमा काम हुने

यो वर्ष सर्लाहीको लालबन्दीदेखि बाराको निजगढसम्म थप खण्डको ट्रयाक खोल्ने काम अघि बढाउने तयारी गरिएको छ ।
करिब ४० किलोमिटरको यो खण्डका लागि १७ किलोमिटर क्षत्रेको जग्गा अधिग्रहण गर्न मुआब्जा तोकिएको महानिर्देशक आचार्यले जानकारी दिए ।

उनकाअनुसार स्थानीयले मुआब्जामा चित्त बुझाएका छैनन् । यो खण्डको झण्डै २० किलोमिटर खण्ड सरकारी वन क्षेत्रमा पर्छ । यो क्षेत्रमा रुख कटानको अनुमति लिने प्रक्रिया पनि अघि बढेको छ ।

के-के भए हालसम्म ?

पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि अब १६५ किलोमिटरको निजगढ-भरतपुर-चोरमारा खण्डको डीपीआर मात्रै बनाउन बाँकी छ ।

अहिले पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ ।

मूल खण्डहरु ९४५ किलोमिटरको भएपनि पोखरा-काठमाडौं, काठमाडौं-वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।

पूर्वमा इनरुवादेखि काँकडभिट्टासम्मको खण्डको डीपीआर तयार भइसकेको छ । मध्य खण्ड नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको छ ।

पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment