Comments Add Comment

सडक अनुगमनः माधव नेपालले ब्यंग्य हाने, मन्त्रीले जुत्ता टकटक्याए

नालीभित्र पसेर मन्त्रीले भने-सेटिङ मिलेको रहेनछ

२४ साउन, काठमाडौं । चाबाहिल-जोरपाटी-साखुँ सडकको दुर्दशाका थुप्रै कथाहरु बने । कहिले स्थानीयले हिलाम्ये सडकमा धान रोपे त कहिले गाडी नै बन्द गरे ।

तर, समस्या ज्यूँका त्यूँ । अलि ठूलो पानी पर्‍यो भने सानोतिर डुंगा नै चलाउने मिल्ने गरी पानी जम्छ । मोटरसाइकल तथा स्कुटरमा यात्रा गरेकाहरु नलडेको दिन छैन । पैदलयात्रु र हृवीलचियरहरुमा हिँड्नेहरुको दुःख भनेर साध्यै छैन ।

यो नयाँ विषय भने होइन । स्थानीयले सास्ती खेप्न थालेको वर्षौं भइसक्यो, जुन यो वर्ष झन् बढी छ । जनताले पाएको दुःखप्रति राज्य बेखबर रहेको नमुनाका रुपमा चावहिल-जोरपाटीको सडकखण्ड प्रस्तुत भएपछि जनप्रतिनिधि अनुगमनमा निस्किए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफैं अनुगमनमा निस्किएका थिए ।

अनुगमनका क्रममा केही रमाइला दृश्य देखियो । बिहान ८ बजे गौशालाको पशुपति भिजन होटलमा भेट भएर स्थलगत अनुगमनका लागि जाने योजना बनेको रहेछ । पूर्वयोजना अनुसार पूर्वप्रधानमन्त्री माधव नेपाल पशुपति होटल भिजनमा पुगे ।

प्रदेशसभा सांसद रामेश्वर फुयाँल, स्थानीय जनप्रतिनिधि, निर्माण व्यवसायी पनि समयमै पुगेका थिए । तर, अनुगमनमा बोलाइएको समयमा विभागीयमन्त्री रघुवीर महासेठ आएनन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सिधै अनुगमन स्थलमा आइपुग्छु भनेपछि माधवकुमार नेपाल नेतृत्वको टोली चिया पिएर होटलबाट सडकतिर लाग्यो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष राजाराम पुडासैनीले केही भन्न खोज्दै थिए । तर, वडाध्यक्ष पुडासैनीलाई ‘तपाईको के कुरा हो, स्थलगत अनुगमनपछि भन्नुहोला’ भन्दै नेता नेपाल उठेर हिँडे । बाँकी टोली उनको पछि-पछि लाग्यो, चावहिल-बौद्ध जोरपाटी सडकखण्डतर्फ ।

मन्त्री नै सुस्त परे

गौशालाबाट हिँडेको टोली चावहिलबाट महाकांल हुँदै कपन जाने सडकतर्फ अगाडि बढ्यो । अलिमाथि (महांकाल नपुग्दै) निर्माण भइरहेका ढल हेरेेर टोलि फर्कियो र बौद्ध जाने सडक तर्फ लम्कियो । चुच्चेपाटीबाट अलिकति उत्तरतर्फ पुगेपछि नेकपाका वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल गाडीबाट झरे ।

टोलीका सदस्यहरुबीच केहिबेर गफ भयो । त्यतिबेलासम्म पनि मन्त्री महासेठ आइपुगेका थिएनन् । गफका क्रममा नेता नेपालले सिन्धुलीबाट आफू आउँदाको प्रसंग सुनाए । उनले एकतर्फी बाटोमा होल्ड बस्नु पर्दा समस्या हुने गरेको अनुभव सुनाए ।

चुच्चेपाटीमा टोली गफ गरिरहँदा सञ्चारकर्मीसँगै स्थानीयको भीड लागिसकेको थियो । नेता नेपालले छेउमै रहेका प्रदेशसभा सदस्य फुयाँलतर्फ हेर्दै भने, ‘खै, मन्त्री ज्यू आइपुग्नु भएको छैन ?’ भीडबाट कसैले भन्यो, आइपुग्न लाग्नुभयो होला, आउनु हुँदैछ रे ।

पूर्वप्रधानमन्त्री नेपालले मुसुक्क हाँस्दै ठट्यौली शैलीमा व्यंग्य हाने, ‘उहाँ (मन्त्री महासेठ) आफैं ढिला हुनुहुन्छ, त्यही भएर काम (सडक विस्तार) पनि ढिला भएको हो ।’

उपस्थितहरु गलल हाँसे । केहीबेरमा मन्त्री महासेठ आइपुगे र अनुगमन टोली अघि बढ्यो ।

रातारात खाल्डा पुरियो

बिहीबार पूर्वप्रधानमन्त्री नेपाल आफैं सडक अनुगमनमा आउने भनेपछि रातारात खाल्डा पुरिएको रहेछ । त्यसको पोल स्थानीय जनप्रतिनिधिले खोलिदिए ।

अनुगमनमा उपस्थित ठेकदारले आफूहरुले नियमित खाल्डो पुगेको तर, २/३ दिनमै उस्तै हुने गरेको बताए । स्थानीय जनप्रतिनिधिले उनको दाबी खण्डन गरे । आफूहरुले पटकपटक बैठक गरेर खाल्डो पुर्न भन्दा पनि सुनुवाई नभएको उनले बताए ।

स्थानीयका अनुसार हिजो एक्कासी खाल्डाखुल्डी पुरिएको थियो । ‘हालसम्म बेवास्तामा परेको सडक हिजो एक्कासी एकाएक पुरिदा हामी छक्क पर्‍यौं’ उनले भने, ‘बल्ल पो थाहा भयो, मन्त्री आउने भएर हिजो खाल्डा खुल्डी पुरिएको रहेछ ।’

स्थानीय जनताले वास्तविक पीडा बुझ्न पानी परेको बेला अनुगमनमा आउन निम्तो दिएका छन् ।

नालीभित्र पसेर मन्त्रीले भने-सेटिङ मिलेको रहेनछ

पार्टीका वरिष्ठ नेता नै अनुगमनमा आएपछि मन्त्री महासेठले सडकमा निकै सक्रिय देखिए । सडक खण्डमा निर्माण भइरहेका ढलहरु समेत मन्त्री महासेठले राम्रोसँग नियाले ।

बौद्धमा ढल निर्माण भइरहेका नालीमा पसेर उनले ठेकदारलाई निर्देशन दिए, ‘यहाँ सेटिङ अलि मिलेको रहेनछ, यसलाई मिलाउनू ।’

अनुगमनका लागि पुगेका मन्त्री महासेठलाई स्थानीयले बिमस्टेक सम्मेलनको तयारीका लागि आउनुभएको हो ? भनेर प्रश्न गरेका थिए । तर मन्त्रीले त्यसको खण्डन गरे ।

मन्त्री महासेठले स्थानीयलाई परेको सास्ती तत्काल समाधान गर्नका लागि आफू स्थलगत अनुगमनमा आएको बताए । भदौ १२ गतेसम्म सबै खाल्डा खुल्डी पुर्न ठेकेदारलाई निर्देशन दिएको भन्दै १३ गतेदेखि सडकमा खाल्डा नदेखिने दाबी गरे ।

पार्टी वरिष्ठ नेता नेपालका अगाडि सक्रियता देखाउन मन्त्री महासेठ आफैं नालीमा त पसे । तर, त्यसक्रममा उनको जुत्तामा हिलो पसेछ । माथि उक्लिएपछि उनले हृयुम पाइपको आड लागेर हतारहतार जुत्ता खोले र हिलो टकटक्याए ।

देख्नेहरु भन्दै थिए, एकछिन अनुगमनमा आउँदा त मन्त्रीलाई यस्तो दुःख भयो । हामी दिनरात हिँड्नेको हालत के होला ?

प्रहरीकै गाडी पञ्चर

मन्त्रीसहित अनुगमन टोली आउने भएपछि अघिल्लो दिन नै हतारहतार खाल्डाहरु पुरिएका थिए । सडकमा रहेको केही ठूला खाल्डाहरु पुरिए पनि आवात-जावत गर्न सवारीसाधन तथा पैदलयात्रुलाई निकै मुश्किल पर्ने अवस्था थियो ।

सडकको दुरावस्थाबाट स्थानीय आजित भएका थिए, जुन अनुगमनका क्रममा पनि देखियो । केही स्थानीयहरुले सडक मर्मत सम्भार नभएको मन्त्री समक्ष दुःख बिसाए ।

सडकको दुरावस्था कस्तो छ भन्ने कुरा अनुगमनमै गएको अर्को दृश्यले अझ प्रष्ट बनाउँछ । मन्त्रीकै सुरक्षाका लागि गएको प्रहरीको एउटा गाडी सडकमा गुड्दा-गुड्दै पञ्चर भयो । बौद्ध हुँदै जोरपाटी जाने क्रममा बाटो खराब भएका कारण सावधानीपूर्वक सवार चलाइएको थियो । तर, प्रहरीको बा २ झ २८८६ गाडी पञ्चर भयो ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment