Comments Add Comment

प्रदेश २ मा मदिरा बन्द गर्न गाह्रो छ: सांसद सुमन

२९ साउन, सप्तरी । प्रदेश २ को धनुषा जिल्लामा केही दिनअघि घरेलु मदिराको सेवनबाट आधा दर्जन युवाको मृत्यु हुँदा प्रदेश सांसदहरुले मदिरामा कडाइ गर्नुपर्ने जोड्दार आवाज उठाएका थिए । कतिपय सांसदले मदिरा बिक्रीबितरण नै बन्द गर्नुपर्ने बताएका थिए ।

तर, प्रदेश २ मा मदिरा बिकि्रमा रोक लगाउनु सहज नभएको प्रदेशकै एक सांसदले बताएका छन् ।

प्रदेश सांसद मनिषकुमार सुमनले मदिरा कतिपय समुदायले पूजापाठमा समेत प्रयोग गरिरहेकाले यसलाई बन्द गर्न नसकिने बताएका छन् ।

१८ औं अन्तर्राष्टिय युवा दिवसको अवसरमा मंगलबार राजविराजमा आयोजना गरिएको कार्यक्रममा सांसद सुमनले मदिरा बिक्रीमा रोक लगाइए प्रदेशमा अर्काे हँगामा हुन सक्ने बताए ।

उनले मदिरा प्रदेशमा बसोबास गर्ने कतिपय सुमदायले रक्सीलाई संस्कृतिसँग जोडेर प्रयोग गरिरहेकाले यो सम्भव नभएको बताए ।

यद्यपि, सांसद सुमनले रक्सी बिक्री, बितरणमा कडाइ गर्न सकिने उल्लेख गरे । गाउँघरका किराना पसलहरुले पनि रक्सी बिक्री गरिरहँदा युवाहरु कुलतमा फँसिरहेको बताउँदै उनले जसले पायो त्यसले रक्सीको बिक्री गरिरहेकाले त्यस्ता कुरामा कडाई गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि रक्सीको बिक्री बितरणमा कडाई गर्नुपर्ने बताउँदै स्थानीय तहलाई यसतर्फ बढी ध्यान दिनुपर्ने बताए ।

युवाको लागि सुरक्षित वातावरण भन्ने मूल नाराका साथ आयोजना गरिएको युवा सम्वाद तथा सम्मान कार्यक्रममा युवाहरुले सांसद सुमन, प्रमुख जिल्ला अधिकारी पौडेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, प्रहरी नायव उपरीक्षक भावेश रिमालसहित राजनीतिक दलका युवा नेताहरुसँग बिभिन्न बिषयमा सम्वाद गरे ।

युवाहरुले मदिराको बिक्री, बितरणदेखि सरकारी कर्मचारीहरुले घुस लिने गरेको, स्थानीय निकायमा कमिसन लिने गरेको, युवाहरुका लागि कुनै वजेट उपलब्ध नगराएकोजस्ता प्रश्नहरु राखेपछि उनीहरुले उत्तर दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता पार्थो सरकार, नेकपाका युवा नेता दुर्गान्नद ठाकुर, राजपा नेपालका युवा नेता शम्भुप्रसाद यादव, संघीय समाजवादी फोरम नेतृ दिलकुमारी चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट र उदाहरणीय काम गरेको भन्दै बिभिन्न क्षेत्रका पाँच जना युवालाई सम्मान पत्र र कपसहित सम्मान गरियो ।

सम्मानित हुनेहरुमा कला संस्कृतितर्फ मधेशि पुत्र २ का निर्माता निरंजन मेहता, क्रिकेट खेलाडी अमित यादव, युवा उद्यमी राहुल सिंह, वरिष्ठ समाजसेवी ई. सूर्य नारायण यादव र शिक्षा क्षेत्रलाई अगाडि बढाउन मद्दत पुर्‍याउने केशव झा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment