३० साउन, कैलाली । प्रदेश ७ को राजधानी र नामाकरणको अन्योलता कायमै छ ।
सत्तापक्ष नेकपाकै सांसद्बीच मतभेद् देखिएपछि दोश्रो पटक थप गरिएको समयसीमामा समेत नाम र राजधानी टुंगो लाग्न नसकेपछि सुझाव समितिको तेश्रो पटक एक हप्ताका लागि म्याद थप गरिएको छ ।
पहाडबाट निर्वाचित सांसदले पहाडमा र तराईबाट निर्वाचितले तराईमा राजधानी हुनु पर्ने धारणा राख्न थालेपछि प्रदेशको राजधानी र नामको विषय निकै पेचिलो बन्दै गएको छ ।
सत्तापक्षकै सांसदका मत बाझिन थालेपछि प्रदेशको राजधानी र नामको विषयमा टुङ्गो लगाउन निकै कठिन भएको हो ।
प्रदेश सरकारमा दुई तिहाई बहुमत रहेको नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत यस विषयमा अझै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
साउन १४ गते सांसद तारा लामाको संयोजकत्वमा बनेको विशेष समितिलाई २१ गते सुझाव सहितको प्रतिवेदन बुझाउको लागि एक हप्ताको म्याद दिइएको थियो । उक्त समितिले अझैसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।
राजधानी र नामको विषयमा संकलन गरिएको सुझावसहितको प्रतिवेदन अझै पनि बुझाउन सक्ने स्थिति नरहेको समितिका सदस्यसमेत रहेकी सांसद् चुनकुमारी चौधरीले बताइन् ।
समितिले थप गरिएको समय सीमामा प्रतिवेदन बुझाउने वातावरण नबनेपछि प्रदेश सभाको बैठक स्थगित गरेर सभामुख अर्जुनबहादुर थापाले भदौ ६ गतेसम्मका लागि समितिको म्याद पुनः थप गरेका छन् ।
राजधानी र नामको विषयमा यता टुङ्गो लाग्न नसकेपछि प्रदेशका नेता, सांसद केन्ऽका शीर्ष नेता भेटघाट गर्न काठमाडौं पुगेका छन् ।
विशेष समितिका संयोजक तारा लामा तामाङ पनि शीर्ष नेता भेटघाटमा यतिबेला काठमाडौंमै ब्यस्त छन् ।
थारु अगुवाहरुले राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव दिएका छन् ।
त्यस्तै राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी सांसद मालामती रानाले राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनु पर्नेमा जोड दिइन् । ‘यदि, त्यसो भएन भने धनगढीमै राजधानी हुनु पर्दछ’, उनले भनिन-‘किनभने, यहाँ राजधानीको लागि संरचना निर्माण भइसकेको छ ।’
प्रतिक्रिया 4