Comments Add Comment

नेपालीहरूले किन मन पराउँदैनन् विद्युतीय कार ?


३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक अघि परिवारका सबै जना मिलेर किनेको गाडीको ठाउँमा नयाँ गाडी किन्नु पर्ने भएको छ उनलाई । जैविक इन्धनबाट चल्ने गाडीको विपक्षमा रहेका थापा विद्युतीय गाडी किन्न चाहन्छन् तर, उनकी श्रीमती अन्जनाका लागि भने विद्युतीय गाडी ‘मेन्यु’ मा नै पर्दैन ।

सन् ९० को दशकमा नेपाल सडकमा गुड्न थालेका विद्युतीय गाडीहरूको प्रविधिमा मात्रै सुधार आएको छैन, निकै आरामदायी पनि भएका छन् । तर, जलविद्युतमा धनी हुँदाहुँदै पनि अर्बौ रूपैयाँ बाराबरको तेल आयात गर्ने नेपालमा विद्युतीय गाडीप्रति आकर्षण देखिँदैन ।

काठमाडौंको बढ्दो प्रदूषणप्रति चिन्तित थापा र उनी जस्ता अभियन्ताहरूले धेरै अघिदेखि सरकारले विद्युतीय गाडीको आयातमा लगाउँदै आएको भन्सार कम गर्नु पर्छ भन्ने माग राख्दै आएका थिए । उनीहरूकै लबिङका कारण दुई वर्ष अघि मात्रै सरकारले विद्युतीय गाडीमा लगाउँदै आएको २४० प्रतिशत कर घटाएर २८ प्रतिशतमा झारेको थियो । ‘तर पनि नेपालमा सबैभन्दा लोकप्रिय विद्युतीय गाडी महिन्द्राको इटूओको नेपाली बजारमा पर्ने मूल्य भारतीय बजारको तुलनामा तीन गुणासम्म बढि छ र यसै कारण नेपालीहरू  ‘इलेक्ट्रिक कार’ किन्न हिच्किचाइरहेका छन्’ । यदि गगन थापालाई तपाईँले केही वर्ष अघि भेटेर नेपालीले किन विद्युतीय कार चढ्दैनन् ?  भनेर सोध्नु भएको भए सायद उनको जवाफ यस्तै हुन्थ्यो होला ।

तर, आफै नयाँ गाडी किन्ने तर्खरमा रहेका थापाले अहिले चुरो कुरो बुझेका छन् । ‘मूल्यका कारण मात्रै नेपालीहरू विद्युतीय गाडी किन्न हिच्किचाइरहेका छैनन्’,  उनी भन्छन् ।

थापाले विद्युतीय गाडी किन्न चाहेमा उनीसँग अहिले जम्मा तीन विकल्प छन् : महिन्द्रा, बिवाइडी र किया । बिवाइडी र किया सोल ‘लक्जरी’ गाडीका रुपमा हेरिन्छन्, उनी त्यता तिर जान चाहँदैनन् । त्यसैले उनको आफ्नो ‘मेन्यू’ मा पर्न सक्ने गाडी हो काठमाडौंबाट करिब २,६३१ किमी दक्षिणमा रहेको भारतीय शहर बेङ्गलुरुमा अवस्थित प्लान्टमा बन्ने महिन्द्राको इटूओ ।

महिन्द्राको बेङ्गलुरु प्लान्टमा हरेक वर्ष ५,००० विद्युत गाडी तयार हुन्छन् ।जसमध्ये १०० भन्दा कम मात्रै सिमापार नेपाल पठाइन्छन् । काठमाडौंमा रहेको अग्नि इनर्जीबाट अर्डर आएपछि महिन्द्राले आफ्ना इटूओ गाडी नेपाल पठाउने गर्दछ ।

समान्यतया: महिन्द्रा जस्ता भारतीय कार निर्माताहरूले नेपालमा रहेका आफ्ना डिलरहरूलाई पठाउने मूल्यमा ‘कस्ट, फ्राइट, इन्स्योरेन्स’ (मूल्य, ढुवानी र बीमा) जोडिएको हुन्छ । कम्पनी स्रोतका अनुसार, महिन्द्राले भारतमा गाडीको मूल्य देशभित्र आफूले गर्ने खर्च र आम्दानीको हिसाब गरेर तय गर्छ । यही प्रक्रिया अनुरूप महिन्द्राले नयाँ दिल्लीमा आफ्नो पी-८ मोडलको मूल्य भारू ११.९७ लाख तय गरेको थियो ।

नेपालसम्मको लामो यात्रा

मोतिहारी बिहारका ४० वर्षीय मुन्ना यादव (नाम परिवर्तन गरिएको) वैशाखको उखरमाउलो गर्मीमा लामबद्ध भएर बसेको तीन दिन बितिसकेको छ । यादव र उनी जस्ता सयौं भारतीय ट्रक चालकहरू हरेक दिन सीमा पारी नेपाल प्रवेश गर्ने गर्दछन् । ‘हामी लामो यात्रामा जाने गर्छौं । टोइलेट जान र नुहाउन बाहेक सबै काम यहीँ भित्रै हुन्छ’  आफ्नै जोकमा हाँस्दै उनी भन्छन् । यादव जस्ता ट्रक ड्राइभरहरू कहिले काहीँ त महिनौँ सडकमा बिताउँछन् ।

काठमाडौँबाट करिब २६४ किमी टाढा रहेको सुनौलीमा ट्रक अड्याएर यादव हामीसँग कुरा गरिरहेका बेला एक जना भारतीय प्रहरी हवलदार मोटरसाइकल कुदाउँदै आइपुगे । ‘चिट हुनेलाई मात्रै जान दिने हो ‘,  यसो भन्दै उनी प्रहरी चेक पोस्ट तिर हानिए ।

मुन्ना यादव भन्छन्,’हामीले यस्तो सिन त यहाँ दिनहुँ देख्छौँ । उनीहरू पैसा माग्छन् र पैसा दिन सक्नेले यो लामो लाइन छिट्टै छिचोल्न सक्छ ।’

‘हामीले सबै जसो चेकपोस्टमा पैसा बुझाउनुपर्छ चाहे त्यो नेपालमा होस् वा भारतमा ।’

‘हामी नेपाल छिर्दा जहिले पनि केही न केही सरप्राइज पाउँछौं । कहिले लामो जाम हुन्छ त कहिले पहिरोका कारण राजमार्ग बन्द हुन्छन् । नेपाल-भारत सीमा पार गर्दा निकै झन्झट बेहोर्नु पर्छ तर हामीलाई अरू रुट भन्दा यही रुटमा काम गर्न मजा आउँछ ।’

भैरहवाको भन्सार

नेपालको कुनै कार्यालय  ‘आकर्षक’ छ भने त्यो भन्सार नै हो । वर्षेनी यहाँ सयौँ भ्रष्टाचारका मुद्दाहरूको छानबिन हुन्छन् । यहाँ क्यामेरा निकालेर फोटो खिच्न खोज्ने जो कोहीलाई पनि दर्जनौ मानिसहरूले कर्के नजरले हेर्ने गर्दछन् । भन्सारमा ट्रक आइपुगेपछि नेपाली गाडी आयातकर्ताहरूले नियुक्त गरेका क्लियरिङ एजेन्टहरूले गाडीको जिम्मा लिन्छन् । ‘हाम्रो लागि हरेक गाडी एउटा डकुमेन्ट हो । चाहे त्यो डिजेलबाट चल्ने गाडि होस् या विद्युतीय ।  हामीले तयार गर्ने कागजात उस्तै हो ‘, अग्नि इनर्जीका लागि काम गरिसकेका एक एजेन्टले बताए ।

एजेन्टहरूकाअनुसार गाडी क्लियर गराइदिए बापत आयातकर्ताले प्रति गाडीको ‘केही’ हजार रुपैयाँ शुल्क तिर्ने गरेका छन् । कति ? भनेर सोध्दा उनीहरू भन्छन्, ‘त्यो त आपसी लेनदेनको कुरो हो ।’

भैरहवा भन्सारबाट छुट्ने धेरै जसो कार्गो काठमाडौं लगायतका ठूला शहरहरूमा अनलोड गरिन्छ । तर धेरै गाडी तथा ठूला मेसिन बोकेर आएका गाडीहरूको कार्गो भने भारतीय सीमावर्ती शहर सुनौलीमै झारिन्छ । यहाँ गाडी आयातकर्ताहरूले पार्किङ स्पेस किनेर राखेका हुन्छन् । ‘आयातकर्ताहरू के गर्छन् भने भारतबाट गाडी लिएर आउँछन् अनि सिमाना नजिकै पार्क गर्छन् । नेपालमा गाडीको माग उच्च भएको बेला मात्र भन्सार तिरेर काठमाडौं पठाउँछन् ‘, एक एजेन्टले बताए । भैरहवाबाट काठमाडौंसम्मको यात्रा पनि त्यति सहज छैन । काठमाडौंसम्म को २७७ किमी दुरी पार गर्न ट्रकहरूले तरार्इ, पहाड हुँदै उर्लिएका नदीहरू पार गर्नुपर्ने हुन्छ । राजमार्गहरू फराकिलो पार्ने काम हुँदै गर्दा काठमाडौं छिर्ने गाडीहरूको लामो लाइनमा बस्नुको कुनै विकल्प छैन ट्रक ड्राइभरहरूलाई ।

सोरुम

महिन्द्राको इटूओ काठमाडौँ आइपुगेपछि यसलाई अग्निको गोदाममा झारिन्छ, अनि सोरुममा ग्राहकहरूलाई देखाउन राखिन्छ । अग्निले आफ्नो काठमाडौंको सोरुममा म्यानेजरदेखि कार्यालय सहायकसम्म करिब ४० जना कर्मचारीलाई रोजगारी दिएको छ ।

जब कोही ग्राहक सोरुममा गाडीको मूल्य सोध्दै आउँछन्,  उनलाई बताइन्छ : पी-८ मोडेलको गाडीको मूल्य २८ लाख रूपैयाँ तय गरिएको छ ।

महिन्द्राको इटूओ किन भारतमा भन्दा नेपालमा महँगो  ?

अग्निले भन्सारमा बुझाएको र अनलाइनखबरले हेरको कागजातका अनुसार, कम्पनीले भन्सारमा महिन्द्राको पी-८ गाडीको मूल्य रू १९ लाख ४४ हजार घोषणा गरेको छ । यो मूल्य दिल्लीको सोरूमका लागि निर्धारण गरिएको भारू ११ लाख ९७ हजारको बराबरी देखिन्छ । न्यून विजकिकरण गरेर कर छल्ने प्रवृत्ति नेपालका आयातकर्ताहरूमा छ,  भन्सार स्रोतले भन्यो । तर, इटूओको सन्दर्भमा भने यस्तो भएको देखिएन ।

भन्सारमा नेपाल सरकारले विद्युतीय गाडीमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ३.५ प्रतिशत सडक मर्मत सम्भार कर लगाउने गरेको छ । सबै जोड्दा आयातकर्ताले करिब २८ प्रतिशत कर तिर्नुपर्ने देखिन्छ । यो कर तिरिसक्दा आयातकर्ताले एउटा गाडीका लागि रू २४ लाख ८० हजार खर्च गरिसकेको हुन्छ ।

त्यस्तै भन्सार क्लियरिङ एजेन्टलाई ‘केही’ हजार रुपैयाँ बुझाइन्छ । गाडी आयात गर्दा गरिने बैंकिङ कारोबारको कमिसन बैङ्कलाई तिरिन्छ ।

नेपालको प्रचलित कानुनअनुसार कुनै पनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा कमाउन पाइँदैन । अग्निले फेरि महिनाको २-३ वटा मात्रै विद्युतीय गाडी बेच्ने गर्दछ । यसरी हेर्दा अग्निले रू १०/१५ लाख मै आफ्ना सम्पूर्ण कर्मचारीको तलबदेखि सोरुम र गोदामको भाडा उठाउनुपर्ने हुन्छ ।

फेरि अग्निले नेपालमा सबैभन्दा महँगो पी-८ मोडेल मात्र ल्याउने गर्छ । कम्पनी स्रोत भन्छ, ‘ बिस्तारै गुड्ने सफा टेम्पोका कारण विद्युतीय सवारी यसै पनि बदनाम छ । त्यसैले सस्तो खालका गाडी हामी ल्याउँदैनौँ ।’

नेपाली ग्राहकले भोग्नु परेका समस्या

नेपालमा विद्युतीय गाडीको बहस जहिले पनि मूल्यमा अल्झिने गरेको छ । तर, गाडीको मूल्यका कारण मात्रै उपभोक्ता विद्युतीय कारप्रति उत्साहित नभएका होइनन् । पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार नेपालमा विद्युतीय गाडीले सामना गर्नुपर्ने चार प्रमुख चुनौतीहरू छन् ।

केही महिना अघि मात्रै विद्युतीय गाडी किनेका खनाल भन्छन्, ‘पहिले कुरो हो विद्युतीय सवारीबारे जनमानसमा रहेको नकारात्मक धारणा । लिड एसिड प्रविधिमा आधारित ब्याट्रीबाट चल्ने सफा टेम्पुका कारण विद्युतीय कारको त्यति सकारात्मक छवि बनेको छैन ।’

‘दोस्रोः नेपालमा चार्जिङ स्टेसनहरूको अभाव । विद्युतीय गाडी लिएर राजमार्गमा जान त सकिन्छ तर, चार्ज सकिएपछि  पुनःचार्ज गर्ने स्टेसनहरू छैनन्।’

‘तेस्रो समस्या हो नेपालमा चार्जिङ मापदण्ड तोकिएको छैन । एउटा कम्पनीको चार्जिङ स्टेसनमा अर्को कम्पनीको चार्जर जोड्न सकिन्न । विदेशतिर सरकारले नै मापदण्ड तोकिदिएको हुन्छ र सबै कम्पनीहरूले त्यही मापदण्ड अनुसार चार्जर बनाउँछन् ।’

खनालका अनुसार चौथो समस्या हो, नेपालमा सडकको दुर्दशा । ‘अधिकांश विद्युतीय गाडीहरूको ‘क्लियरेन्स’ कम हुन्छ र नेपालका सडकमा हुने खाल्डा खुल्डीका कारण यस्ता गाडीको बडीले भुईँलाई छुन्छ।’

वातावरण पत्रकार समूहका महासचिव रामेश भुसाल पनि विद्युतीय गाडीका थुप्रै चुनौतीहरू देख्छन् । हालै काठमाडौँमा महिन्द्राको पी-८ टेस्ट ड्राइभ गरेका भुसाल भन्छन्, ‘प्रविधिमा निकै सुधार आएको रहेछ । म त इम्प्रेस भएँ तर, देशभर चार्जिङ स्टेसनहरू नबन्दा यो गाडी त शहरका लागि मात्र उपुक्त देखियो ।’

‘म आफ्नो परिवारका साथ लङ ड्राइभमा जान चाहन्छु । त्यसैले यो कार मेरा लागि पर कै विषय हो ।’

अझै कर घटाउन जरुरी छैन

कर घटाएर विद्युतीय गाडीको मूल्य घटाउँदा राजश्वको ठूलो हिस्सा गुम्न सक्ने आंकलन छ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेको ।

‘मलाई लाग्छ अहिलेका लागि करका दरहरू ठीकै छन् । हामीले यो पनि बिर्सनु हुँदैन कि नेपाल सरकारका राजस्वका ठूला स्रोतहरू सीमित छन् र गाडी गाडी आयातमा लाग्ने भन्सारबाट ठूलो राजश्व उठ्ने गरेको छ । अहिले नेपालमा औँलामा गन्न सकिने मानिसले मात्र विद्युतीय सवारी चढ्ने गरेका छन् तर, जब अझ बढि मानिसहरू विद्युतीय गाडीतर्फ आकर्षित हुनेछन् तब चार्जिङ स्टेसनहरू नबनाई हुन्न । नीतिगत तहमा विद्युतीय गाडीलाई प्रोत्साहन दिने प्रावधानहरू विस्तारै ल्याउनुपर्छ, आवेगको भरमा कर घटाउनु हुँदैन।’

भविश्यका पेट्रोल पम्पहरू

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि थाहा छ किन नेपालीहरू विद्युतीय गाडी प्रति आकर्षित हुँदैनन् । ‘राम्रो चार्जिङ स्टेसनको सञ्जाल देशभर नै हुनु आवश्यक छ । चार्जिङ स्टेसनहरू नै भविष्यका पेट्रोल पम्पहरू हुन्’ उनी भन्छन्, ‘नेपालमा यदि कसैले यस्तो सञ्जाल बनाउन सक्छ भने त्यो प्राधिकरण नै हो ।’

यसका दुई कारण छन् : पहिले प्राधिकरणसित देशैभर जग्गा छ, त्यो पनि राजमार्गहरूको छेउछाउमा । जबकी अरू कसैले चार्जिङ स्टेसनको सञ्जाल बनाउन चाहेमा महँगो जग्गा किन्नु पर्नेछ र यसले परियोजनाको लागत निकै बढ्नेछ ।

दोस्रो कारण हो: केही समय पछि नेपालमा पिक समय बाहेकको समयमा विद्युतको माग आपूर्तिभन्दा निकै कम हुँदैछ र यो समयमा विद्युत खपत बढाउनुपर्ने वाध्यता छ प्राधिकरणलाई । ‘पिक आवर बाहेकको समयको बिजुली विद्युतीय कार चार्जिङमा प्रयोग गर्न सकिए विद्युतको प्रतियुनिट शुल्क पनि घट्ने थियो’  उनी भन्छन् ।

‘हाम्रो डिमान्ड कर्भ हेर्ने हो भने बिहानको र बेलुकाको दुई घण्टा मात्र माग उच्च छ । अरु समयमा विद्युतको माग ५० प्रतिशतले कम छ । रातमा त ४० प्रतिशत मात्र माग छ । हाम्रो क्षमताको भरपुर उपयोग भइरहेको छैन । बिजुली खेर गइरहेको छ।’

त्यसै कारण घिसिङले हालै देशभर कहाँ कहाँ चार्जिङ स्टेशन बनाउन सकिन्छ भनेर सम्भाव्यता अध्ययन थाल्न लगाएका छन् ।

भारतसँगको सहकार्यको आवश्यकता

भारतीय इन्जिन्यरिङ निर्यात प्रवर्द्धन परिषदका अनुसार, नेपाल भारतीय गाडीहरूको दोस्रो ठूलो अन्तराष्ट्रिय बजार हो । गत आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क मात्र हेर्ने हो भने पनि नेपालले ७३.२४ अर्ब बराबरको गाडी र स्पेयर पार्ट्स भारतबाट आयात गरेको छ । त्यसैले गगन थापा भन्छन्, ‘भारतीय कार निर्माताहरू विद्युतीय गाडीबारे गम्भीर हुन थालेपछि नेपाली आयातकर्ताहरू पनि त्यसै गर्न वाध्य हुनेछन् किनभने नेपालमा न त गाडीको उत्पादन नै हुन्छ न असेम्ब्ली नै ।’

उनी भन्छन्, ‘भारत सरकारले सन् २०३० सम्ममा जैविक उर्जामा आधारित गाडीहरूको बिक्री बन्द गर्ने संकेत गरेको छ र यसले नेपालमा पनि सकारात्मक असर पर्नेछ । भारतमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरूको सूची लम्बिँदैछ र उनीहरू नेपाल आउन लालायित छन् । यसका कारण नेपाली उपभोक्ताले चाहे अनुसारको गाडी किन्न पाउनेछन् ।’

भारतीय कार निर्माता टाटाले पनि हालै आफ्नो विद्युतीय गाडी सार्वजनिक गरेको छ । ‘हामी टाटाको विद्युतीय गाडी छिट्टै नै नेपाल ल्याउन चाहन्छौँ ,’ टाटाका अन्तराष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अनलाइनखबरलाई बताए ।

‘ठ्याक्कै कहिले भनेर भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौँ । हामीलाई लाग्छ नेपालमा चार्जिङ स्टेसनहरू नभएका कारण हामीलाई यहाँ विद्युतीय गाडी भित्र्याउन त्यति सहज हुने छैन । तर, पनि नेपालमा विद्युतीय गाडी भित्र्याउनुलाई टाटाले आफ्नो नैतिक जिम्मेवारी ठानेको छ ।’

भारतसँगको व्यापार सहज हुने आशा

नेपाल र भारतबीच हुने व्यापारमा सीमा क्षेत्रमा हुने ढिला सुस्ती र अव्यवस्थाका कारण निकै झन्झट हुने गरेको छ । यस्तो झन्झट कम गराउन र व्यापारलाई सहज बनाउनै दुवै देश मिलेर सीमावर्ती सहरहरुमा एकीकृत जाँच पोस्टरहरूको निर्माण गर्दैछन् ।

केही महिना अघि मात्रै मोदी र ओलीले वीरगन्जमा बनाइएको एकीकृत जाँच पोस्टको उद्‍घाटन गरेका थिए । रक्सौल वीरगञ्ज नाकामा जस्तै ३ थप स्थानमा यस्तै जाँच पोस्टहरुको निर्माण हुँदैछ । एकीकृत जाँच चौकीहरूको निर्माणबारे जानकार एक भारतीय अधिकारी भन्छन्, ‘अब छिट्टै नै विराटनगर-जोगबनीमा पनि वीरगन्जको जस्तै पोस्ट बन्नेछ । करिब ४ महिनापछि त्यसको उद्‍घाटन गर्ने लक्ष छ । यी चेक पोस्टहरू युरोपियन युनियनमा रहेका पोस्टहरूको जस्तै हुनेछन् । करिब ७-८ मिनेटभित्र भन्सार पास भएर निस्कने सक्ने व्यवस्था हुनेछ ।’

उनका अनुसार भैरहवा र नेपालगन्जमा पनि जग्गा अधिग्रहणको काम हुँदैछ र १२-१८ महिनामा त्यहाँ पनि काम सुरु हुनेछ । त्यस्तै विराटनगर-जनकपुर-जयनगर ब्रोड गेज रेलको काम पनि द्रुत गतिमा अघि बढिरहेको छ । सबै पूर्वाधार तयार भएपछि आयात खर्च घट्ने छ र यसको प्रभाव विद्युततिय कारको मूल्यमा समेत पर्नेछ ।

विद्युतीय सवारीको बजारमा यति धेरै गतिविधि हुँदै गर्दा के आशा गर्न सकिन्छ भने नेपालमा विद्युतीय पारवहनले छिट्टै गति लिनेछ । पूर्वसचिव रामेश्वर खनालको विश्लेषण छ कि भारत भन्दा पहिला नेपाल विद्युतीय गाडीमा ‘स्विच’ हुनेछ ।त्यसमा सही थप्दै प्राधिकरणका घिसिङ भन्छन् , ३-५ वर्षमा काठमाडौंमा विद्युतीय कारको संख्या ह्वात्त बढ्नेछ । तब यस्ता गाडीहरू सबैको ‘मेन्यु’ मा हुनेछन् ।’

क्लीन इनर्जी वायर (जर्मनी)सँगको सहकार्यमा

यो पनि पढ्नुहोस्

EVs in India and Nepal: Neighbours gear up for transition

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment