Comments Add Comment

विश्वकै धनी जेफ बेजोसः ग्यारेजदेखि ग्याजेटसम्म !


अमेजन डटकमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको नाम नसुन्ने मानिस कमै होलान् । उनी अहिले विश्वकै सबैभन्दा धनी मानिस हुन् । बिल गेट्सलाई जेफले दोस्रो बरियतामा झारिदिएका छन् ।

विश्वभरका धनाढ्यको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनका अनुसार उनको कुल सम्पत्ति ११२ बिलियन डलर अर्थात १२५ खर्ब नेपाली रुपैयाँ भन्दा धेरै छ ।

अनलाइनबाट सामान तथा सेवा बिक्री गर्ने विश्वकै सबैभन्दा ठूलो स्टोर अमेजनडटकम मार्फत उनले साढे ५ लाख भन्दा धेरै मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

बेजोसको जन्म र शिक्षा

१९६४ जनवरी १२ मा अमेरिकाको न्युमेक्सिको राज्यको अल्बकर्की राज्यमा जन्मिएका जेफ्री प्रेस्टन जर्गिन्सनको रुपमा टेक्सासको होस्टनमा हुर्किए ।

उनी १७ महिनाको हुँदा उनकी आमा ज्याकलिन र बुबा टेड जर्गिन्सन् बीचमा डिभोर्स भयो, त्यतिखेर जेफकी आमा टेड १८ वर्षकी मात्रै थिइन् ।

जागिर छाडेर व्यावसायी बनेका बेजाेसलार्इ धेरैले टाट पल्टिन्छस् भने । तर, उनी मेहनत गर्दै अगाडि बढे । अहिले उनी अनलाइन बुक स्टोरका रुपमा मात्रै सीमित नभएर विभिन्न कम्पनीहरु  आफू मातहतमा सञ्चालन गरिरहेका छन्

चार वर्षीय जेफ्रीलाई अपनाउन तयार भएपछि उनकी आमाले पछि मिगेल बेजोससँग विवाह गरिन् । त्यसपछि जेफ्री प्रेस्टन जर्गिन्सनबाट उनी जेफ्री प्रेस्टन बेजोस बने ।

बेजोसले अमेरिकाको न्यू जर्सीस्थित प्रिन्सटन विश्वविद्यालयबाट सन् १९८६ मा इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा स्नातकको पढाइ पूरा गरे ।

पढाइ सकिएपछि उनले सन् १९८६ देखि १९९४ सम्म आठ वर्ष वालस्ट्रिटमा विविध क्षेत्रमा काम गरे । आठवर्षसम्म जागिर खाँदा उनमा आफ्नै व्यवसाय गर्ने सोच आयो ।

उनले के व्यवसाय गर्ने भनेर सोच्न थाले । सोच्दै जाँदा उनले अनलाईन बुकस्टोर खोल्ने निर्णय गरे ।

यसरी भयो अमेजन डटकमको सुरुवात

अमेरिकाको न्यूयोर्कबाट सियटल यात्राका क्रममा व्यापार योजना बनाएपछि बेजोसले सन् १९९४ जुलाई ५ मा सियटल शहरस्थित एक ग्यारेजबाट अनलाइन बुक स्टोरको रुपमा अमेजनको सुरुवात गरे । स्टोरको नाम उनले दक्षिण अमेरिकामा बग्ने अमेजन नदीको नामबाट राखे । किनभने अमेजन अंग्रेजी वर्णमालाको पहिलो अक्षर ‘ए’ बाट सुरु हुन्छ ।

उनले आफ्ना आमाबुबासँग करिब ३ लाख डलर सापटी लिए र व्यवसाय सुरु गरेका थिए । त्यसताका इन्टरनेट सबैको पहुँचमा थिएन र यो धेरैका लागि नौलो कुरा नै थियो । उनले ठूलो जोखिम मोलेका थिए, धेरै मानिसहरु इन्टरनेटबाट पुस्तक किन्न तयार थिएनन् ।

त्यतिखेरको समयमा अनलाइन मार्केटिङ धेरै नयाँ कुरा थियो, उपभोक्ताहरुलाई यसबारेमा थाहा नै थिएन । सुरुमा बेजोसले धेरै मेहनत र संर्घष गरेर यसलाई अगाडि बढाउँदै लगे ।

धेरैले त बेजोस टाट पल्टिन्छन् समेत भने । तर, उनी निरन्तर मेहनत गर्दै अगाडि बढे । उनले विस्तारै व्यापार बढाउँदै लगे । अमेजन डटकमले धेरै पुस्तकहरु बेच्न थाल्यो ।

विस्तारै उनले सेवा विस्तार गरेर आफ्नो स्टोरबाट पुस्तकमात्रै नभई भिडियो र म्युजिक डाउनलोड/स्ट्रिमिङ, भिडियो गेमहरु, सफ्वेयर, इलेक्ट्रोनिक्स, कपडाहरु, फर्निचर, खानेकुरा, खेलौना र गरगहना समेत उपलब्ध गराउन थाले ।

अहिले अमेजन अनलाईन बुक स्टोरका रुपमा मात्रै सीमित छैन । यसले विभिन्न सेवाहरु प्रदान गर्छ । हाल अमेजनले विभिन्न कम्पनीहरुलाई किनेर आफ्नो मातहतमा सञ्चालन गरिहेको छ ।

यो अहिलेको विश्वकै सबैभन्दा ठूलो इन्टरनेट सेल्स कम्पनी हो । साथै अमेजन क्लाउड इन्फ्रास्ट्रचकर सर्भिस प्रदान गर्ने पनि विश्वकै सबैभन्दा ठूलो सेवा प्रदायक हो ।

फोर्ब्सको धनाढ्य सूचीमा बेजोस

सन् १९९७ मा अमेजन पहिलोपल्ट पब्लिक कम्पनीको रुपमा गयो र सन् १९९९ मा बेजोस पहिलोपटक फोर्ब्सको धनाढ्यको सूचीमा अट्न सके । त्यतिखेर उनको कुल सम्पत्ति १० अर्ब अमेरिकी डलर थियो ।

तर लगत्तै अर्को वर्ष उनको सम्पत्ति ४ अर्ब डलरले घट्यो र ६ अर्ब भयो । त्यसपछिका वर्षहरुमा घट्दै गएर सन् २००२ मा१.५ अर्ब डलरमात्रै बाँकी भयो ।

त्यसपछि फेरि विस्तारै बढ्दै गयो र सन् २०१७ जुलाई २७ मा उनी विश्वकै सबैभन्दा धनी मानिस बने, त्यतिखेर उनको अनुमानित सम्पत्ति ९० अर्ब अमेरिकी डलरभन्दा धेरै थियो ।

त्यसयता कम्पनीको सेयर मुल्य निरन्तर बढ्न थाल्यो र सन् २०१७ नोभेम्बर २४ मा उनको सम्पत्तिले १०० अर्ब अमेरिकी डलरको आँकडा पार गर्‍याे । उनी १०० अर्ब अमेरिकी डलर कमाउने विश्वकै पहिलो व्यक्ति बने ।

उनलाई सन् २०१८ मार्च ६ मा फोब्र्स म्यागेजिनले विश्वकै सबैभन्दा धनी मानिसको रुपमा घोषणा गर्‍याे । फोब्र्स म्यागेजिनका अनुसार उनको कुल सम्पत्ति ११२ अर्ब डलर रहेको छ र सेयरमुल्य बढेसँगै उनको सम्पत्ति अझै बढ्दै गइरहेको छ ।

महत्वाकांक्षी परियोजनाबाट डराउँदैनन् बेजोस

बेजोसले सन् २००० मा उनले एरोस्पेस कम्पनी ‘ब्लु ओरिजिन’को स्थापना गरे । धेरै वर्षको मेहनतपछि ‘ब्लु ओरिजिन’को परिक्षण उडान सन् २०१५ मा सफल रुपमा अन्तरिक्षमा पुग्यो ।

यसले सन् २०१८ को अन्त्यसम्ममा मानव यात्री लिएर व्यवसायिक अन्तरीक्ष उडान गर्ने तयारी गरेको छ ।

त्यस्तै उनले सन् २०१३ मा २५० मिलियन अमेरिकी डलरमा ‘वासिङ्टन पोस्ट’ अखबार खरिद गरे । बेजोसले आफ्नो भेन्चर क्यापिटल फण्ड ‘बेजोस एक्सपिडिसन’मार्फत अन्य व्यापारमा लगानी गर्छन् ।

बेजोस मनकारी पनि छन्, उनले धेरै ठूलो धनराशी समाजसेवाका लागि दान दिने गरेका छन् । उनले करोडौं डलर विभिन्न च्यारिटी संस्थाहरुको लागि दिइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment