काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ कम्पनी अमेजनले गत वर्ष आफ्ना संसारभरका डाटा सेन्टरहरूमा ९.४६ अर्ब लिटर (२.५ अर्ब ग्यालन) पानी प्रयोग भएको बताएको छ ।
प्रविधि क्षेत्रमा डाटा सेन्टरहरूले धेरै पानी र बिजुली खपत गरेको भन्दै बहस चलिरहेका बेला अमेजनको यो तथ्याङ्क सार्वजनिक भएको हो ।
तर, अमेजनले भने आफ्ना प्रतिस्पर्धी प्रविधि कम्पनीहरूको तुलनामा आफूले निकै कम पानी प्रयोग गरेर डाटा सेन्टरहरू चिस्याइरहेको दाबी गरेको छ । कम्पनीका अनुसार यो पानीको परिमाण अमेरिकाको सिएटल सहरले वर्षभरि प्रयोग गर्ने पानीको जम्मा ५ प्रतिशत हो ।
सिएटल संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको सबैभन्दा ठूलो सहर हो ।
नयाँ प्रविधिको विकासका कारण सन् २०२१ यता आफ्नो पानी बचत गर्ने क्षमतामा ५२ प्रतिशतले सुधार आएको अमेजनले जनाएको छ ।
अमेजनका दाबी अनुसार यसका डाटा सेन्टरहरू उद्योगको औसत मापदण्डभन्दा ७ गुणा बढी कुशल छन् । कम्पनीले वर्षको ९० प्रतिशत समय बाहिरी प्राकृतिक हावाको प्रयोग गरेर कम्प्युटर (सर्भर) हरू चिस्याउने गर्छ । जब गर्मी धेरै बढेर तापक्रम ८५ डिग्री फरेनहाइटभन्दा माथि पुग्छ, तब मात्र कम्पनीले पानीको प्रयोग गरेर सर्भरहरू चिस्याउने गर्दछ ।

अन्य कम्पनीहरूले प्रयोग गर्ने ठूला एयर कन्डिसनरले धेरै बिजुली खाने हुनाले, बिजुली संकट बढाउनु सट्टा अत्यधिक गर्मीका दिनमा मात्र थाेरै पानी प्रयोग गर्नु वातावरणीय रूपमा फाइदाजनक हुने अमेजनको भनाइ छ ।
त्यसैले कम्पनीले पानीको खपत घटाउने मात्र नभई सन् २०३० सम्ममा ‘वाटर पोजिटिभ’ बन्ने लक्ष्य राखेको छ । यसको अर्थ आफूले जति पानी प्रयोग गर्छ, त्योभन्दा बढी पानी सफा गरेर समुदायलाई फिर्ता दिने अमेजनको योजना छ ।
कम्पनीले हालसम्म यस लक्ष्यको ७५ प्रतिशत काम पूरा गरिसकेको र विश्वभर ५० भन्दा बढी पानीका परियोजनाहरूमा लगानी गरिरहेको जनाएको छ ।
पिउने पानीको बचत गर्नका लागि अमेजनले ढल प्रशोधन केन्द्रहरूबाट निस्कने पुन:प्रशोधित पानीको प्रयोगलाई बढाएको छ । हङकङ, मिसिसिपी तथा इन्डोनेसिया लगायतका ठाउँमा स्थानीय समुदायसँग मिलेर पानी व्यवस्थापनका कार्यक्रमहरू पनि चलाइरहेको छ ।
प्रतिक्रिया 4