Comments Add Comment

रसुवागढी-काठमाडौं रेलमार्ग बनाउन ९ वर्ष लाग्ने, २ खर्ब ५७ अर्ब लागत


३ भदौ, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी-काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हुन  ९ वर्ष समय लाग्ने उल्लेख छ ।

रेल विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायकाअनुसार यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताए ।

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा यो विषय उल्लेख छ ।

रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ । यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको थियो ।

चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा-सिगात्से रेलमार्ग निर्माण पनि भएको छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि हुँदैछ ।

उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ । अब दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ ।

चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ ।

यी पनि पढ्नुस्

काठमाडौं र केरुङ जोड्न सुरुङमार्गः अढाइ घण्टामै सीमापार !

स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्योः केरुङ-काठमाडौं रेल सम्भव

केरुङ-काठमाडौं रेल अनुदानमा बनाइदिन चीनलाई नेपालको प्रस्ताव

केरुङ-काठमाडौं रेलमार्गको अध्ययन सुरु, चिनियाँ टोलीले यसरी गर्दैछ काम

काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment