Comments Add Comment

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (सूचीसहित)

६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद भएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ ।

बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जनाएको छ ।
नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् ।

गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।

हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा टु‌ंगिएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

प्रदेश १ : प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, स’नसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।

प्रदेश २ : प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।

प्रदेश ३ : प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

प्रदेश ५ : प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

कर्णाली प्रदेश : कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेख, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ ।

त्यस्तै माओवादीले जाजरकोट, सल्यान, पश्चिम रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रदेश ७ः प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाएको छ । माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ जिल्लाको नेतृत्व पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment