Comments Add Comment

कोइराला निवासमा शशांक र शेखरको साँठगाँठपछि कांग्रेस तरंगित

६ भदौ, काठमाडौं । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले विराटनगर पुगेर ‘म र शेखर दा’ मध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं’ भनेपछि कांग्रेस तरंगित भएको छ ।

पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र एकाएक नयाँ तरंग ल्याएको छ ।

प्रदेश र प्रतिनिधिसभामा पार्टीले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भयो । झण्डै डेढ महिना लगाएर चुनावी हारको समीक्षा हुँदा पनि महामन्त्री कोइराला मौन रहे । रामचन्द्र पौडेल समूहकै नेताहरु देउवा पक्षमा लागेको त होइन भन्नेसम्म शंका गरे ।

तर, उनी मौन नै रहे । ३ भदौमा विराटनगर पुगेर एकाएक देउवा र पौडेल दुबैमाथि धावा बोले ।

साढे चार मिनेट भाषण, गिरिजाको कुर्सीमा आसन

प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा भाग लिन महामन्त्री कोइराला यही साता विराटनगर गएका थिए । बिराटनगर जाँदा प्रायः होटलमै बस्ने गरेका शंशाक पहिलोचोटि दाजु डा. शेखर कोइरालाको घरमा बास बसे ।

निकटवर्तीहरुका अनुसार डा. शेखरले भाइ शशांकलाई गिरिजाप्रसाद कोइराला बस्ने कुर्सीमा बसाएर आफूचाहिँ छेउमा बसेका थिए । त्यसबेला कोइरालानिवासको माहौल निकै भावुक भएको थियो ।

डा. शशांकले केही कार्यकर्तासमेत रहेका बेला पार्टी सभापति देउवाबाट आजित भएको मात्र बताएनन्, आफू र शेखरमध्ये एकजना सभापतिमा उठ्ने घोषणा गरे ।

स्रोतका अनुसार महामन्त्री शशांकले कार्यक्रममा करिब साढे ४ मिनेटको छोटो मन्तव्य दिएका थिए । तर, उनको त्यही छोटो मन्तव्यले कांग्रेसमा तरंग ल्याइदियो ।

देउवा र पौडेल दुबै तरंगित

महामन्त्री शशांकको अभिव्यक्तिले कांग्रेसमा देउवा र गैरदेउवा समूह दुबै खेमा तरंगित भएका छन् । नेताहरुका अनुसार शशांकको अभिव्यक्ति सार्वजनिक भएको केहीबेरमै दोस्रो तहका नेताहरुले शशांकसँग कुरा गरेका थिए भने विभिन्न गुटहरुमा पनि छलफल भयो ।
पहिले रामचन्द्र पौडेल समूहको कुरा गरौं ।

१३ औं महाधिवेशनमा पौडेल सभापति हार्दा शशांक उनकै प्यानलबाट महामन्त्री बनेका हुन् । त्यसैले शशांकलाई पौडेल समूहकै मानिन्छ । पौडेल समूहको गुटका भेला तथा बैठकमा पनि जान्छन् ।

यद्यपि शशांकले पछिल्लो समय आफू कुनै पनि गुटमा नभएको दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले सभापति देउवा र पौडेलसँग समदुरी कायम गर्न खोजेका थिए ।

आइतबार महामन्त्री कोइरालाले कुनै परामर्शबिना नै आफू वा शेखरमध्ये एकजना सभापतिमा उठ्ने घोषणा गरेपछि पौडेल समूह झस्किएको छ । शशांकको घोषणाले पहिलो अप्ठ्यारो त स्वयं पौडेललाई परेको छ । आम चुनावसमेत हारे पनि पौडेलले अहिलेसम्म सभापतिको दाबी छाडेका छैनन् ।

तर, महामन्त्री शशांकले गरेको आफू वा शेखरमध्ये एकजना सभापतिको उम्मेदवार हुने दाबीले पौडेलको सभापति बन्ने ‘च्याप्टर क्लोज’ हुन सक्छ । उनीनिकट एक जिल्ला सभापति भन्छन्, ‘महाधिवेशन आउन डेढ/२ वर्ष बाँकी छ । उम्मेदवार तोक्ने बेला भएको छैन ।’

यति मात्र होइन, पार्टीले चुनावमा नराम्रो हार व्यहोरे पनि कांग्रेसमा देउवा अझै शक्तिशाली नै छन् । संसदीय दलको चुनावमा उनले पाएको मतले त्यही संकेत गर्छ । तर, पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह अर्जुनरसिंह केसीलगायत सबै एक हुँदा देउवालाई हराउन सकिन्छ भन्ने भ्रातृ संगठनका चुनावहरुले देखाएको छ ।

खासगरी सिटौला र प्रकाशमान सिंह अहिले पनि शशांकको नेतृत्व सहजै स्वीकार गर्ने पक्षमा छैनन् । खासगरी उनी देउवाविरुद्ध नउभिएकामा असन्तुष्ट छन् । अब शशांकले आफू र शेखरमध्ये एकजना सभापतिको उम्मेदवार हुने बताएपछि यी नेताहरु झनै रुष्ट भएका छन् ।

सिटौलानिकट एक नेता भन्छन्, ‘म र शेखरमध्ये एक उम्मेदवार हुन्छौं रे ! ता कि पार्टीमा अरु नेता नै छैनन् । शशांकले भनेपछि हामीले सहजै मान्नुपर्ने जस्तो ।’

तर, पौडेल-सिटौला समूहका नेताहरु देउवाबाट आजित भएको शशांकको अभिव्यक्तिप्रति भने खुसी नै छन् । देउवाको नेतृत्वमा पार्टी चल्न सक्दैन भन्ने आफ्नो मतमा शशांक पनि सहमत हुनुले उनीहरुलाई ठूलो राहत दिएको देखिन्छ ।

अब देउवा समूहको कुरा गरौं ।

महामन्त्री शशांकको अभिव्यक्तिले देउवा समूहमा पनि धक्का महसुस भएको छ । देउवा समूहमा रहेका शशांक र देउवा मिल्नुपर्छ भन्नेहरु बढी नै आत्तिएका छन् ।

देउवा १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार हुने ओपन सेक्रेट जस्तै हो । देउवाले म सभापति हुन्छु भन्दा त्यसमा प्रश्न उठाउनेहरु छैनन् ।

तर, शशांकले भनेजस्तो उनी वा शेखर एक अगाडि सर्ने र पौडेल-सिटौला समूहले साथ दिने हो भने देउवाले चुनाव हार्न पनि सक्छन् । किनकी बाहिर जे भए पनि कांग्रेसमा कोइराला, त्यसमा पनि बीपीका छोरा हुनुको ठूलो अर्थ छ । बीपीका छोरा भएकाले शशांकप्रति कांग्रेसजनमा जबरजस्त मोह छ ।

तर, देउवा समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘कसको नाममा जग्गा राख्ने भन्दा म र शेखर दामध्ये एक जनाको नाममा राखौं भने जस्तो हो र पार्टीको नेतृत्व ?’

महामन्त्री शशांकले आफू वा शेखरमध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं भन्दा सँगै रहेका कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे भने यो दावी र त्यसले ल्याएको तरंगलाई स्वाभाविक मान्छन् ।

कोइराला परिवार एउटा संस्थाजस्तो भइरहेको भन्दै घिमिरेले भने, ‘स्वयं वीपीको छोरा र वीपीको लिगेसी भएका शेखर, जसको योग्यता पनि पुगेको छ, उनीहरुले हामी पार्टीको नेतृत्व गर्छौं भन्दा तरंगित हुनु स्वाभाविकै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment