Comments Add Comment

वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व

७ भदौ, वीरगञ्ज । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७५/७६ को पहिलो महिनामा लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा १२ अर्ब १ करोड २४ लाख राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा १२ अर्ब ६१ करोड ८७ लाख राजश्व संकलन भएको हो । जुन लक्ष्य भन्दा ६० करोड ६३ लाखले बढी हो ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षमा भन्दा ४५ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दुईवटा नाकाबाट काम भइरहेको र यस वर्ष सरकारले आर्थिक नीतिमा परिवर्तन गरेकाले राजश्व असुलीमा वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले बताए ।

‘एउटा त वीरगञ्ज भन्सार र आईसीपी दुवैतिरबाट काम भईरहेको छ, यसले जामको समस्या हटेकोले आयात निर्यात सहज छ’, उनले भने, ‘अर्को यसपाली सरकारले नयाँ आर्थिक नीतिमार्फत् नीतिगत सुधार गरेको छ । त्यसले गर्दा राजश्व असुली राम्रो भयो ।’

उनले भन्सारले अन्य सरोकारवाला निकायसँग मिलेर चोरी पैठारीसमेत कम गराउन सफल भइरहेको दाबी गरे ।

गत आर्थिक वर्ष ०७४/७५ को साउनमा कार्यालयले लक्ष्यभन्दा ७ प्रतिशत कम राजश्व संकलन गरेको थियो । कार्यालयले ८ अर्ब ७२ करोड ३१ लाख राजश्व उठाएको थियो । जुन लक्ष्यभन्दा ६८ करोड ४३ लाख कम देखिन्छ ।

गत आर्थिक वर्षमा भने वीरगन्ज भन्सारले लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन गरेको थियो । कार्यालयले गत वर्ष १ खर्ब ३४ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो ।

चालु आर्थिक वर्षको साउनमा भन्सार महसुलतर्फ ४ अर्ब २६ करोड ३४ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ३६ करोड ६६ लाख १७ हजार, अन्तः शुल्कतर्फ २ अर्ब २५ करोड ७० लाख, ४६ हजार, पूर्वाधार करतर्फ ५० करोड २४ लाख, ६० हजार र अन्य विविध कर तथा शुल्कबाट २२ करोड ९२ लाख २४ हजार रुपैयाँ राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सन्तोष यादवले बताए ।

उनका अनुसार विगतमा भन्दा नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थलगायत सामान आयात बढेकाले राजश्वमा सकारात्मक प्रभाव परेको हो । अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) ०७४ चैतदेखि सञ्चालनमा आएपछि आयात–निर्यातमा केही सहज भएको व्यापारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment