Comments Add Comment

आश गरेकै खेलमा निराश : एसियाली खेलकुदमा तेक्वान्दो पदकविहीन

७ भदौ, काठमाडौं । नेपाललाई सर्वाधिक पदक दिलाउने तेक्वान्दो खेल यसवर्ष इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने पदकविहीन भएको छ । यो सँगै लगातार तीन एसियाली खेलकुदमा तेक्वान्दोले पदक दिलाउन सकेन ।

एसियाली खेलकुदमा नेपालले अहिलेसम्म १ रजत र २२ कांस्य पदक जितेको छ । जसमा तेक्वान्दोबाटै नेपालले १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।

१९८६ मा दक्षिण कोरियामा पहिलोपटक पदक दिलाएको तेक्वान्दो १९९० मा चीनमा भएको एसियाली खेलकुदमा भने पदविहीन थियो । त्यसपछि १९९४, १९९८, २००२ र २००६ मा इज्जत धानेको तेक्वान्दो २०१० र २०१४ मा पदकविहीन थियो ।

तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गरेकामा दुवै निराश बने । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको तेक्वान्दोको आश पूरा गर्न सकेनन् ।

अस्मिता प्रि-क्वार्टरफाइनलमा इरानी खेलाडी कियानीचान्दे नाहिदसँग ४३-४ अंकले पराजित भइन् । ज्ञानेन्द्र पनि प्रि-क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०-२ ले पराजित भए । पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९-१७ अंकका आधारमा पराजित गरेका थिए ।

बुधबार पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा पि्रक्वार्टरफाइनलमै रोकिएका थिए । वीर काजाकिस्तानका खेलाडीसँग ३०-१९ ले पराजित भए । त्यसअघि वीरले अफगानिस्तानका खेलाडीलाई २४-१३ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए । साथै पुरुष ८० केजी तौल समूहमा नेपालका भुपेन श्रेष्ठ अफगानिस्तानका रमेश हुसानीसँग २७-७ ले पछि परे ।

मंगलबार महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०-० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८-६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२-६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१-० को सहज जित दर्ता गरे ।

तेक्वान्दोमा नै सोमबार गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वार्टरफाइनलमा पराजित भएका थिए । सागर भियतनामका खेलाडीसँग २५-५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४-४० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३-१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०-१७ ले पछि परे ।

यस्तै आइतबार तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले पनि राम्रो खेल देखाउन सकेनन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईका खेलाडीसँग चुके ।

महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईसँग नै पछि पर्‍यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

तेक्वान्दोमा कहिले कसले पदक जिते ?

१९८६ मा : कास्य पदक – राजकुमार राई, बिधान लामा, राजकुमार बुढाथोकी र रामबहादुर घर्ती क्षेत्री
१९९४ मा : कांस्य पदक – मानबहादुर शाही
१९९८ मा : रजत पदक – सविता राजभण्डारी
कांस्य पदक – सपना मल्ल र किशोर श्रेष्ठ
२००२ मा : कांस्य पदक – दीपक बिष्ट, रेनुका मगर र रितुजिमी राई
२००६ मा : कांस्य पदक – दीपक बिष्ट, मनिता शाही र आयशा शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment