Comments Add Comment

महासमितिको मिति सार्ने निर्णयले नेतृत्व असक्षम देखियोः प्रकाशमान

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताएका छन् । यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको उनले बताए ।

कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए ।

आइतबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ । यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका साथ, समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ ।’

उनले अगाडि भने, ‘डेट दिने र त्यसलाई सार्दै जाने काम भयो । वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए ।

उनले भने, ‘डेमोक्रेटिक पार्टी हो, बहुमतको डिसिजनलाई हामी मान्छौं । तर पब्लिकले पनि त जजमेन्ट गरिरहेको हुन्छ नि त । आम जनताले के भनिरहेको छ त भन्दाखेरि कांग्रेस, पहिलाको कांग्रेस रहेन अब ।’

उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे । त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘पार्टीलाई विधिसम्मत चलाउनका लागि पार्टीभित्र ठूलै अभियान अगाडि बढिसकेको छ । आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्नुहुन्छ ।’

तर त्यो अभियान कस्तो हो भन्ने कुरा भने उनले खुलाएनन् ।

यो पनि पढ्नुहोस् 

ओलीलाई प्रकाशमानको प्रश्न- पानीजहाजका कुरा गर्ने, सडकका खाल्डा नपुर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment