Comments Add Comment

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला मन्त्रीद्वारा प्रचण्डसँग भेट

१० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी. वेल्सले भेटवार्ता गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे चर्चा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सदभावका लागि धन्यवाद व्यक्त गरेका थिए ।

उनले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब नेपाल आर्थिक समृद्धिमा अघि बढेको जानकारी पनि गराए ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउँदै प्रचण्डले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’

उनले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन् ।

वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउँदै उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment